मनोज भण्डारी बुटवलका एम्बुलेन्स चालक हुन्। एक सातादेखि कोरोनाको संक्रमण नफैलियोस् भनेर देश लक डाउनमा छ। अरू सबै घर बसेका बेला मनोजको व्यवस्ता भने झन् बढेको छ।
गम्भीर अवस्थाका मात्र होइन र सामान्य बिरामीलाई अस्पताल लैजाने र अस्पतालबाट डिस्चार्ज्ड गरिएकालाई घर पुर्याउने कामले उनलाई रातदिन फुर्सद छैन।
सरकारले लक डाउन घोषणा गरेपछि पनि उनले काठमाडौं, कपिलवस्तु, दाङ, प्युठान, नेपालगञ्ज, सुर्खेत, बाग्लुङ, पाल्पा, गुल्मीलगायत ठाउँमा बिरामी बोके।
कहिले यताका बिरामी काठमाडौं पुर्याए कहिले काठमाडौंका अस्पतालले डिस्चार्ज्ड गरेका बिरामी बोकेर घर फर्किए।
कोरोनाको संक्रमण हुनसक्ने डरले लक डाउन घोषणा हुनासाथ कतिपय एम्बुलेन्स चालक मोबाइल स्वीच अफ गरेर घर बसे। मनोज घर बसेनन् बिरामीको उद्धारमा लागिरहे।
दश वर्षजति अरू सवारीसाधन चलाएका मनोजले एक वर्षदेखि सुरक्षित यात्रा अभियान नेपालको एम्बुलेन्स चलाउन सुरू गरेका हुन्।
लामो समय अरू सवारी साधन चलाएको अनुभव भए पनि बिरामी बोकेर एम्बुलेन्स चलाउँदा उनलाई समाजसेवा गरेको अनुभूति हुन्छ। लक डाउन सुरू भएपछि भने उनलाई बिरामी बोकौं की नबोकौं भन्ने दोधार बनाएको छ।
एक साताअघि उनी कृष्णनगरबाट बिरामी बोकेर काठमाडौं गए, काठमाडौंको एउटा अस्पतालमा बिरामी छोडेपछि उनले गंगालाल अस्पतालले डिस्चार्ज्ड गरेका बिरामीलाई बुटवल ल्याए। बुटवल आइपुगेका के थिए बुटवलको अस्पतालबाट डिस्चार्ज्ड बिरामी बोकेर गुल्मी जानुपर्ने भयो।
‘सार्वजनिक सवारी नचालेका बेला एम्बुलेन्स चालक भइसकेपछि भर्खरै आएको छु जाँदैन भन्नुभएन,’ मनोजले भने, ‘बिरामीलाई गुल्मी पुर्याएर सोही दिन बुटवल फर्किएँ।’
यता बाग्लुङ कुश्मिसेराका एकजना बिरामी बुटवलकै अस्पतालबाट डिस्चार्ज्ड भएका बिरामीले मनोजलाई पर्खिइरहेका थिए। बुटवल आएर भुइँमा नझर्दै उनी बाग्लुङतर्फ हिँडिहाले।
कृष्णनगर-काठमाडौं, काठमाडौं-बुटवल, बुटवल-गुल्मी, गुल्मी-बुटवल, बुटवल-बाग्लुङ र बाग्लुङबाट फर्किएर बुटवल आइपुग्दा ४ दिन बितिसकेको थियो।
लक डाउनले होटल, पसल सबै बन्द थिए। अस्पतालका क्यान्टिनसमेत बन्द हुँदा खाना खान पाएनन्। चार दिनसम्म बिस्कुट र पानी पिएर विभिन्न जिल्लाका बोरामी बोकेर हिँडिरहे।
‘अप्ठ्यारो अवस्थामा बिरामी बोकेर हिँड्न पाउँदा आनन्द लाग्थ्यो, तर खाना खानै पाइएन,’ उनले भने, ‘मजस्तै सबै एम्बुलेन्स चालकको पीडा एउटै हो। घर छोडेर निस्किएपछि खाना खान पाइँदैन। कहीँकतै पसल खुलेको देखिए बिस्कुट र चाउचाउ किनेर एम्बुलेन्समा राख्छु। भोक लाग्यो भने त्यसैले भोक मेटाउँछु।’
बिरामी बोकेर बाहिर हिँड्दा खान नपाइने मात्र होइन अहिले त घर समेत नआउनु भन्न थालेको उनले बताए।
‘परिवारले समेत कस्तो बिरामी बोकेर आएको हो, कोरोनाको भाइरस पो छ कि, बरू उतै कोठामै बस्ने गर्नु भन्न थाले,’ मनोजले भने।
मनोजलाई कोरोना संक्रमणको त्रास नसकिँदासम्म घर गएर खाना खाउँला भन्ने पनि लाग्न छोडेको छ।
‘घर परिवारले भन्दा पनि छिमेकीले एम्बुलेन्स चलाउने मान्छे यो अवधिभर त नआए हुन्थ्यो भन्छन्,’ उनले भने।
यता भाडामा लिएको कोठामा पनि घरधनीले उनलाई केही दिन नआउनु भन्न थालेका छन्।
गत आइतबार राति गौतमबुद्ध सामुदायिक मुटु अस्पतालअगाडि एम्बुलेन्स राखेर उनले त्यसैमा रात बिताए।
‘एम्बुलेन्सभित्र यत्तिकै रात बिताउँदा लामखुट्टेले टोकेर हैरान पारे, रातभरी निद्रा लागेन त्यतिकै पल्टिएर रात बिताएँ,’ उनले भने, ‘बिहानै दाङको लमही जानुपर्ने भयो, अनिदो भए पनि बिरामीको पीडा सुन्दा जान्न भन्न सकिनँ।’
झन्डै १४ वर्षदेखि एक्सआर्मी वेलफेयर सोसाइटीको एम्बुलेन्स चलाउँदै आएका शैलेन्द्र थापाको पनि पीडा उस्तै छ।
झन्डै डेढ दशक एम्बुलेन्स चलाएको अनुभव भएका थापा अहिलेजस्तो असहज अवस्था कहिल्यै नभोगेको बताउँछन्।
०६२/६३ को जनआन्दोलनताका बाटै एम्बुलेन्स चलाउन सुरू गरेका थापाले विभिन्न आन्दोलन, बन्द हड्ताल, चक्काजाम, नाकाबन्दी सबै समयमा एम्बुलेन्स चलाएर विभिन्न जिल्ला पुगेका थिए। बन्द हड्तालमा समेत एम्बुलेन्स चालकलाई बास र खाना खाजाको कुनै समस्या नहुने गरेकोमा अहिले भने दुई-तीन दिनसम्म लगातार एम्बुलेन्स चलाए पनि भोकै बस्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्।
चार दिनपहिले अस्पतालले डिस्चार्ज्ड गरेको बिरामी बुटवलबाट बाग्लुङको खरबाङ पुगेका उनी थर्मसमा लिएर गएको पानी र बिस्कुटकै भरमा डेढ दिनपछि बुटवल आएको बताउँछन्।
‘नेपाल बन्द र नाकाबन्दीको बेला त खाना खान पाइन्थ्यो, तर अहिले त भोकै कुद्नु परेको छ,’ शैलेन्द्रले भने,‘घरमा खाना खान एम्बुलेन्स लिएर जाँदा पनि टोल छिमेकका मान्छे तर्सिन्छन्, कस्ता बिरामी लिन आए या कस्ता बिरामी छोड्न आए भनेर स्थानीयले कौशी र झ्यालबाट चियाउँछन्।’
अहिले त एम्बुलेन्स देख्यो की बालबालिकाले समेत कोरोनाको बिरामी बोकेर हिँडेको एम्बुलेन्स भन्दै जिस्काउने गरेको उनले बताए।
‘आफूले जानेको काम नै यही हो, एम्बुलेन्स चलाउनु पेसामात्र नभएर सेवा हो, तर हामीलाई देख्यो की कोरोना आयो, कोरोना भाइरस कहाँ हिँडेको छस् भन्दै जिस्काउँछन्,’ उनले भने।
रामप्यारीको एम्बुलेन्स चलाउँदै आएका चुडामणि बस्याललाई पनि अस्पतालका क्यान्टिनले समेत बाहिरै बसेर खानुस् भन्न थालेपछि नमीठो लाग्न थालेको छ। मुटुको समस्याका बिरामी लिएर काठमाडौंबाट धनगढी पुगेका बस्याल मंगलबार कोहलपुर फर्किँदै थिए। काठमाडौंदेखि बुटवल आएर खाजा खाएका उनले कोहलपुर अस्पतालको क्यान्टिनमा आएर बल्ल खाजा खान पाएको बताए।
‘अहिले त साह्रै गाह्रो छ, बिरामीको पीडा देखेर जान्न भन्न पनि भएन, हाम्रो पेशा पनि यस्तै सेवा गर्ने भयो, तर खाना र खाजा खान नपाउँदा भने भोकै मरिने भइयो,’ उनले भने।
दिनरात भोकै र प्यासै नभनी बिरामी बोकेर दौडिरहने एम्बुलेन्स चालक यतिबेला आफैं भने जोखिममा रहेका छन्। कोरोनाको त्रास फैलिरहेका बेला उनीहरु कुनै सुरक्षित सामग्रीबिना मास्कको भरमा बिरामी बोक्न बाध्य छन्।
ज्वरो आएका र सामान्य रूघाखोकी लागेका बिरामीलाई समेत अस्पतालले उपचार नगरी फर्काइदिने गरेका समाचार बाहिर आइरहेका बेला आफूहरूले भने हातमा ग्लोभ्स र पिपिई नहुँदा जोखिम मोलेर बिरामी उठाउने गरेको चालकहरू बताउँछन्।
सोमबार बसेको प्रदेश ५ मन्त्रिपरिषद् बैठकले एम्बुलेन्स चालकलाई पिपिईलगायतका सुरक्षा सामाग्री उपलब्ध गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई जिम्मेवारी तोके पनि हालसम्म आफूहरूले कुनै सामग्री नपाएको उनीहरूले बताए।