आइतबार बुटवलमा मृत्यु भएका बाबुराम थापा क्षेत्रीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
कोरोना विशेष आइसोलेसन अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले सेतोपाटीलाई दिएको जानकारी अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा क्षेत्रीलाई कोरोना संक्रमण देखिएन।
‘दुईपटक परीक्षण गर्दा पनि उहाँको रिपोर्ट नेगेटिभ आएको जानकारी पाएका छौं,’ गौतमले भने।
रोजगारीको लागि दुबई गएका क्षेत्री चैत्र ६ गते राति रूपन्देहीको सैनामैना नगरपालिका-४ सिसौडांडास्थित भाडाको कोठामा पुगेका थिए।
दुबईबाट आउँदा नै सामान्य ज्वरो आएका क्षेत्री घर आइसकेपछि मेडिकल, स्वास्थ्यचौकी हुँदै चैत १३ गते बुटवल धागो कारखानास्थित अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालमा पुगेका थिए।
अस्पतालले आइतबार बिहान उनको मृत्यु हुनुअघि स्वाब निकालेर काठमाडौं पठाएको थियो।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले सरकारले कोरोना संक्रमण देखिएका मुलुकबाट आएकालाई आइसोलेसन वा क्वारेन्टाइनमा राख्नु पर्ने सरकारको रणनीतिअनुसार बाबुराम पनि दुबईबाट आएको र छातिमा समेत संक्रमण देखिएकोले आइसोलेसनमा राखिएको जानकारी दिए।
डाक्टर थापाले बाबुरामलाई ज्वरो आउने र छातीमा संक्रमण देखिएकोले एन्टिबायोटिक औषधी चलाएर उपचार भइरहेको अवस्थामा मृत्यु भएको र उनको मृत्युको यही कारणले भएको हो भन्न नसकिने बताए।
मृतकको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको र परिवारलाई बुझाइने डाक्टर थापाले जानकारी दिए।
सम्बन्धित समाचार:
न श्रीमानको शव हेर्न पाइन्, न आँशु पुछ्न आए आफन्त
उनका लागि श्रीमानको ‘अह, अह, अह’ नै अन्तिम बोली बन्यो