स्वास्थ्य सामग्री लिएर सोमबार प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेश उडेको सेनाको स्काइ ट्रक बीच बाटोबाटै फर्किएको छ।
स्वास्थ्य सामग्रीबाट पीरो राग आएपछि स्काइ ट्रक सम्बन्धित ठाउँमा नपुर्याइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्काइएको नेपाली सेना स्रोतले जनाएको छ।
‘स्वास्थ्य सामग्रीबाट पीरो राग आएपछि पाइलटले स्काइ ट्रक फर्काउनुभएको हो’ स्रोतले सेतोपाटीसँग भन्यो, ‘स्यानिटाइजर लिक भएर त्यस्तो राग आएको हुनसक्छ।’
आजै फेरि सामग्री लिएर स्काइ ट्रक प्रदेश १ र सुदुरपश्चिम जानेछ। ‘केही केमिकलको कारण असजिलो भएर स्काइ ट्रक फर्काइएको थियो। सामान झिकेर चेकजाँच गरी फेरि पठाइन्छ,’ स्रोतले भन्यो।
कर्णाली प्रदेशको सुर्खेतमा सोमबार नै स्वास्थ्य सामग्री लिएर गएको स्काइ ट्रकमा भने कुनै समस्या आएको छैन।
सरकारले सातै प्रदेशमा स्वास्थ्य सामग्री लैजान सुरू गरेको थियो।