नेपाली सेनाले कोरोना भाइरस रोकथामका लगि २३ सयभन्दा बढी क्वारेन्टाइन बेड र ८ सयभन्दा बढी आइसोलेसन बेड बनाएको छ।
काठमाडौंलगायत देशका सबै पृतनामा सेनाले २ हजार ३ सय ५९ क्वारेन्टाइन बेड र ८ सय ५४ वटा आइसोलेसन बेड बनाएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई बताए।
सैनिक प्रवक्ता पाण्डेका अनुसार पूर्वीपृतनामा ४ सय ४० बेडको क्वारेन्टाइन बेड तयार पारिएको छ भने आइसोलेसन बेड १ सय ४० को रहेको छ।
मध्यपूर्वीपृतना धनुषामा २ सय १ वटा क्वारेन्टाइन बेड र १ सय ३९ वटा आइसोलेसन, मध्यपृतना हेटौंडामा ३ सय ८५ क्वारेन्टाइन,१ सय ८७ बेडको आइसोलेसन बेड,उपत्यका पृतनामा राष्ट्रिय सेवा दलको भवन जगदल छाउनीको भवनमा टुँडिखेलमा गरी ५ सय क्वारेन्टाइन र ७० जनाको लागि आइसोलेशन बेड सेनाले तयार पारेको छ।
त्यस्तै सेनाले पोखरामा ६९ क्वारेन्टाइन र ६४ आइसोलेशन बेड तयार भएको छ। मध्यपश्चिम पृतना बुटवलमा २ सय ४१ वटा क्वारेन्टाइन र १ सय २५ वटा आइसोलेशन बेड बनाइएको छ। उत्तर पश्चिम पृतना सुर्खेतमा २ सय ६० वटा क्वारेन्टाइन र ७७ वटा आइसोलेशन बेड बनाएको सेनाले सुदुरपश्चिम पृतना दीपायलमा २ सय ६३ क्वारेन्टाइन र ५२ वटा आइसोलेशन बेड बनाएको छ।
क्वारेन्टाइन र आइसोलेसन बेड बनाउने काम बढ्ने क्रममा रहेको पाण्डेले बताए।
सेनाले ४१ वटा नाकामा हेल्प डेस्क स्थापना गरेर त्यहाँबाट आवगमन गर्नेहरूको तथ्यांक तयार पारेको छ। त्यही तथ्यांकको आधारमा कोरोनाको चुनौती कतातिर छ भनेर निगरानी गर्ने काम पनि सेनाले गरेको पाण्डेले बताए।
सेनाले आफ्ना ब्यारेकलाई पूर्ण रूपमा लक डाउन गरिसकेको छ भने बिदामा रहेका सैनिकलाई बोलाउने र कसैलाई पनि बिदा नदिने निर्णय समेत गरिसकेको छ।
सेनाले स्यानिटाइजर र मास्कलगायतका सामग्रीको समेत उत्पादन सुरू गरेको छ।
कोरोना रोकथामका लागि सेनाले थप के गरिरहेको छ भनेर हामीले सैनिक प्रवक्ता तथा सहायक रथी विज्ञानदेव पाण्डेसँग कुराकानी गरेका छौं।
कुराकानीको पूरा अंश भिडिओमा हेर्नुहोस: