दाङमा कोभिड-१९ (कोरोना भाइरस)को आशंका गरिएका तीन जना बिरामीको नमूना संकलन गरिएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डाक्टर संगीता भण्डारीले परीक्षणका लागि बुटवलबाट दाङ आएर उनीहरूको नमुना संकलन गरिएको बताइन्।
प्रतिष्ठानको आइसोलेसन बेडमा राखेर उपचार गराइरहेकामध्ये दुई जना गढवा गाउँपालिकाका र एक जना घोराहीका हुन्। गढवाबाट आएका ती दुई जना हालसालै भारतको केरलाबाट र अर्का घोराहीका युवा पनि भारतबाट आएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ।
उनीहरु भारतबाट बिरामी अवस्थामा नै नेपाल प्रवेश गरेका हुन्। उपकुलपति डा भण्डारीले थप अर्का एक बिरामीलाई भने ज्वरो अलि ठिक भएपछि रेफर गरेर घरमै आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिइन्।
'बाँकी तीन जना बिरामीहरुमा कोरोनासँग मिल्दो जुल्दो लक्षणहरु- उच्च ज्वरो, कफ, डाइरिया लगाएका समस्या देखिएको हुँदा परीक्षणको लागि स्याम्पल काठमाडौं पठाउन लागेका छौं,' उपकुलपति भण्डारीले भनिन्।
ती सबै बिरामीलाई प्रतिष्ठानले आइसोलेसनमा राखेर उपचार गर्दै आएको छ।
प्रतिष्ठानमा बिरामीले स्याम्पल लिँदा चिकित्सकले लगाउनु पर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) आवश्यक मात्रामा उपलब्ध नरहेकाले स्याम्पल लिन समेत बुटवलबाट चिकित्सक आउनु परेको हो।
बुटवलबाट आएको चिकित्सकसहितको टोलीले आइतबार प्रतिष्ठानका लागि दुई वटा पिपिई प्रदान गरेको भण्डारीले बताइन।
प्रोटेक्टिभ केयरबिना बिरामीको नमूना लिँदा चिकित्सक पनि सुरक्षित नहुने हुँदा बिरामी भर्ना भएको दुई/तीन दिनसम्म पनि स्याम्पल लिन नसकिएको प्रतिष्ठान प्रशासनले जनाएको छ।
अर्कोतर्फ भाइरल ट्रान्सफर क्यारियर (भिपी क्यारियर) प्रतिष्ठानमा उपलब्ध नभएकाले नमुना लिए पनि काठमाडौं कसरी पठाउने भन्ने समस्या रहेको छ।
उपकुलपति डाक्टर भण्डारीले कोरोना आशंका गरिएका बिरामीको उपचारबारे कुनै योजना नै नभएको बताइन्।
‘कसरी गर्ने भन्ने प्लान नै भएन। बिरामीसँग पैंसा लिने कि नलिने त्यो पनि कुनै निश्चित भएन, उनले भनिन्।
उनले गढवाबाट आएर भर्ना भएका दुई जना बिरामीसँग पानी किन्ने समेत पैंसा नभएपछि प्रतिष्ठानले नि:शुल्क सेवा दिँदै आएको बताइन्। प्रतिष्ठानले कतिसम्म र कहिलेसम्म उपचार गर्ने भन्ने बारेमा स्पष्ट योजना नभएको गुनासो गरिन्।
प्रदेश सरकार र संघीय सरकार कसैले पनि दाङमा हालसम्म कोरोना भाइरसको स्याम्पल बोक्ने भिपी क्यारियर नपठाएको हुँदा बिरामीको स्याम्पल पठाउन सक्ने अवस्था नरहेको प्रतिष्ठान प्रशासनले बताएको छ।
‘सरकारसँग समन्वय नै राम्रोसँग भएको छैन। आजसम्म प्रतिष्ठानको कसैले तालिम पनि पाएको छैन,’ एक अर्का चिकित्सकले भने, ‘हामीले छुट्टै आइसोलेसन वार्ड त बनाएका छौं, तर बिरामी मात्रै राखेर समस्या समाधान हुँदैन नि।’
उनले पहिला चिकित्सकको सुरक्षाको ख्याल गरेर राज्यले आवश्यक वस्तुहरु पठाएमा मात्रै काम गर्न सजिलो हुने बताए।