स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले अहिलेसम्म गरेका कामबारे राष्ट्रिय सभामा जानकारी गराएका छन्।
नेपालमा आइतबारसम्म चार सय ६४ जनामा कोरोना भाइरस परीक्षण गरे पनि एक जनामा पनि पोजेटिभ नदेखिएको उनले बताए।
‘अहिलेसम्म नेपालमा एक जनामा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छैन,’ मन्त्री ढकालले भने।
चीनबाट फैलिएको कोरोना भाइरस संक्रमण एक सय ५२ देशमा देखिएको छ। तीमध्ये ४६ देशमा मानिसको मृत्यु भएको छ। ती देशमा अहिलेसम्म एक लाख ५६ हजार जनामा यो भाइरसको संक्रमण देखिएको छ।
पाँच हजार आठ सयभन्दा बढी मानिसले कोरोना भाइरसका कारण ज्यान गुमाए छन्।
संक्रमण देखिएकामध्ये ९२ प्रतिशत बरामी सामान्य छन्। आठ प्रतिशत जोखिम अवस्थामा रहेको देखिएको छ।
‘८० वर्षमाथिकाको मृत्युदर १४.८ प्रतिशत छ,’ मन्त्री ढकालले भने, ‘जन्मदेखि ९ वर्ष उमेरकालाई अपवादजस्तो छ। १९ देखि ३९ वर्ष उमेरमा ०.२ प्रतिशत देखिएको छ।’
स्वास्थ्य मन्त्री ढकालले विश्वका विभिन्न देशमा उच्चपदस्थलाई पनि कोरोना भाइरस देखिएको जानकारी संसदमा गराए।
उनकाअनुसार अष्ट्रेलियाका गृहमन्त्री, बेलायतका स्वास्थ्यमन्त्री, इरानका उपराष्ट्रपति र स्वास्थ्य राज्यमन्त्री, इरानकै एक ५० वर्षीय सांसद, मंगोलियाका राष्ट्रपति चीन भ्रमणपछि १४ दिने होम क्वारेन्टिनमा बसेका छन्।
नेपालमा पूर्वतयारी कस्तो?
गत फागुन १८ गते मन्त्रिपरिषद बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आठ मन्त्री रहेको अधिकार सम्पन्न समिति गठन गरेको छ।
‘यो समितिको बैठक एक दिन बिराएर बस्ने गरेको छ। आज पनि सातै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसहितको बैठक बस्दैछ,’ उनले भने, ‘एकीकृत कार्ययोजना बनाएर अगाडि बढ्दैछौं।’
उनले केन्द्रदेखि नाकासम्म व्यवस्थित बनाउन सरकारले काम गरिरहेको पनि बताए। चीनबाट फैलिएको भाइरस भारतमा पनि देखिएपछि नेपालमा जोखिम बढेको उनले बताए। ‘हाम्रा प्रदेशमा पनि देखिन सक्ने भएकोले सावधानी अपनाउनु पर्नेछ,’ उनले भने।
दुबै छिमेकी मुलुक आवतजावत गर्न सक्ने एक सय २९ वटा साना-ठूला नाकामाध्ये ४३ नाकामा स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाइएको उनले बताए।
चीन र भारततर्फ सीमाना जोडिएका देशका एक सय २८ स्थानीय तहलाई २१ बुँदे निर्देशन पठाएर आवश्यक सावधानीका लागि भनिएको मन्त्री ढकालले बताए।
‘सिडिओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिइएको छ,’ उनले भने। अस्पतालमा काम गर्ने जनशक्ति र त्यहाँ जोखिम दुर गराउन आवश्यक पहल गरिएको उनले बताए।
कूटनीतिकबाहेक भिसा वैशाख १८ गतेसम्म स्थगित गरिएको उनले बताए। तीन महिनाभन्दा कम अवधिका लागि विदेश पढ्न जाने विद्यार्थीलाई जान नदिइएको ढकालको भनाइ छ।
मन्त्री ढकालकाअनुसार श्रम स्वीकृति रोक्का गरिसकिएको छ।
उनले देशमा ५६ लाख विद्यार्थी रहेको पनि बताए। ‘देशमा ५६ लाख विद्यार्थी छन्। यीमध्ये कक्षा १ देखि ९ सम्म मात्रै ५० लाख छन्। उनीहरूको परीक्षा चैत ५ सम्म सकिन्छ,’ मन्त्री ढकालले भने।
माध्यमिक शिक्षा परीक्षा (एसईई) सार्ने वा नसार्नेबारे केही दिनमा टुंगो लाग्ने उनले जानकारी दिए।
‘अहिलेसम्म देशमा कोरोना संक्रमण देखिएको छैन। चैत ५ पछि एक महिना त्यसै पनि विद्यालय बन्द हुन्छ,’ उनले भने।
देशमा फैलिन सक्ने महामारीको अवस्था हेरेर मात्रै एसईई सार्ने वा नसार्ने टुंगोमा पुग्ने उनले बताए।
‘एक/दुई दिन हामी हेर्छौं,’ उनले भने।
सगरमाथा संवाद स्थगित गरिसकिएको उनले जानकारी दिए। अन्तर्राष्ट्रिय फोरममा हुने सबै कार्यक्रम स्थगित गरिएको मन्त्री ढकालको भनाइ छ। भोजभतेर र तडकभडकका कार्यक्रम नगर्न आग्रह गरिएको छ।
उनले काठमाडौं उपत्यकाका अस्पतालमा एक सय २० वटा आइसियू तयार पारेको बताए।
काठमाडौंबाहिर एक सय १५ वटा आइसियू तयार रहेको उनले जानकारी दिए। ‘एक सय ५५ वटा आइसोलेटेड बेड व्यवस्था गरिएको छ,’ ढकालले भने।
सरकारले औषधी र औजारको व्यवस्थापन गरिरहेको उनले जानकारी दिए।
‘हात मिलाउने, गला मिलाउनेभन्दा नमस्कार गर्ने गरौं। साबुनपानीले हात धुने र भीडमा सकेसम्म नजान आग्रह गरेका छौं,’ उनले भने।
मुख्यसचिवको नेतृत्वमा प्रत्येक दिन अपरान्ह ४ बजे प्राविधिक टोलीको बैठक बस्ने गरेको उनले बताए। आधिकारिक सूचनाका लागि स्वास्थ्य मन्त्रालयले हरेक दिन विश्व र नेपालका अवस्थाबारे जानकारी दिने गरेको ढकालको भनाइ छ।
विदेशबाट नेपाल आउने हो भने खकार जाँच्ने र रोग छैन भन्ने प्रमाणित भए मात्रै आउन दिइएको बताए।
‘विदेशबाट आउने व्यक्ति नेपाल आइसकेपछि सेल्फ क्वारेनटाइनमा १४ दिन बस्नुपर्छ। जोखिमयुक्त देशबाट आएका नेपाली होम क्वारेनटाइनमा बस्नुपर्छ,’ उनले भने।
ज्वरो, सुख्खा खोकी देखिएमा अस्पतालमा परीक्षणको व्यवस्था मिलाइएको उनले बताए। पोजेटिभ देखिए राज्यले खर्च व्यहोर्ने गरी उपचारको व्यवस्था मिलाएको उनको भनाइ छ।
मन्त्री ढकालका अनुसार नेपालजस्तै जनसंख्या र भौगोलिक स्थिति भएका देश हेरेर दैनिक एक हजार पाँच सयदेखि चार हजारसम्म बिरामीलाई उपचार गर्न सक्ने व्यवस्थापन मिलाइएको जानकारी दिए।