घोराही उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष भीमबहादुर सार्की र कार्यालय सहयोगी पतिराम चौधरीबीचको विवाद टुंगिएको छ।
सोमबार प्रहरी प्रशासन समक्ष वडा अध्यक्ष सार्कीले आफ्नो गल्ति स्वीकार गर्दै आइन्दा त्यस्तो गल्ति नदोहरीने प्रतिवद्धता जाहेर गरेपछि कार्यालय सहयोगी चौधरी मेलमिलाप गर्न राजि भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।
‘आवेगमा आएर मैले उहाँमाथि हातपात गरे आइन्दा यस्तो गल्ति दोहरीदैन भनेर वडा अध्यक्षज्यूले आत्मआलोचना गर्नु भयो,’ एक प्रहरी अधिकारीले भने ‘कार्यालय सहयोगी चौधरीले वडा अध्यक्षज्यूलाई माफी दिएर मेलमिलाप गर्नु भएको हो।’
सोमबार कार्यालय सहयोगी चौधरीमाथि कुटपिट गर्ने वडा अध्यक्ष सार्कीमाथि कारवाहीको माग गर्दै वडा नं. ४ का वडा बासीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए। त्यसअघि वडा अध्यक्ष सार्कीले आफूलाई कुटपिट गरेको भन्दै कार्यालय सहयोगी चौधरीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए।
चौधरी उक्त वडामा विगत २५ वर्षदेखि कार्यरत स्थायी कर्मचारी हुन्। स्वास्थ्यका विषयमा छलफल गर्न टोल विकास संस्थाका अध्यक्षहरुलाई खबर गर्न दिएको निर्देशनको कार्यान्वयन नभएपछि आफु आवेगमा आएको र त्यही क्रममा सामान्ने रुपमा आफूले धकेलेको चौधरीले बताए।