धनुषामा दुई पक्षबीचको झगडा साम्य पार्न गएका एक जनाको कुटपिट गरी हत्या भएको छ।
शुक्रबार धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरका करिब ५१ वर्षीय सोनेलाल कुलामीलाई बाँसको भाटा तथा काठको चिरपटले हानेर हत्या गरिएको मृतका छोरा कालु भन्ने सूर्य नारायण कुलामीले बताए।
दुई पक्षबीच भइरहेको कुटपिटको घटनामा सोनेलालले झगडा नगर्न सम्झाउन खोज्दा स्थानीय कपिल सदा, अशेष यादव, धर्मदेव राउत, जितेन्द्र राउत, सोनु भन्ने मोनु यादव र अमरजित राउतसहित अन्य नचिनेका एक जनाले कुटपिट गरी हत्या गरेका मृतकका छोरा कालुले आरोप लगाएका छन्।
कुटाइबाट गम्भिर घाइते भएका सोनेलालको सामान्य उपचारपछि थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको छ।
कुटपिट गरी हत्या गरेको आरोपमा सबैला नगरपालिका वडा नं. १ का कपिल सदा, अशेष यादव, धर्मदेव राउत, जितेन्द्र राउत र वडा नं. ४ का सोनु भन्ने मोनु यादव पक्राउ परेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
घटनामा संलग्न रहेको आरोप लागेका अन्य एक जना व्यक्ति फरार रहेको र उनको खोजी कार्य जारी रहेको धनुषा प्रहरीले जनाएको छ।