महाशिवरात्रि पर्वको अवसरमा पाल्पाको धार्मिक एवं पर्यटकीयस्थल सिद्धबाबा मन्दिरमा भक्तजनहरूको बिहानैदेखि भीड लागेको छ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नंं ३ स्थित सिद्धबाबा मन्दिर पाल्पा र रुपन्देहीको बुटवलको सीमा क्षेत्रमा पर्ने भएकोले रुपन्देहीका दर्शनार्थीहरूको बढी भीड लाग्ने गर्छ।
दुइटा जिल्लाको सीमाक्षेत्रमा पर्ने सिद्धबाबा मन्दिर माथिल्लो र तल्लो सिद्धबाबा मन्दिरका नामबाट यसक्षेत्रमा प्रख्यात छ। भौगौलिक रूपले अत्यन्त अप्ठ्यारो र भिरमा रहेकोले पनि यो सिद्धबाबा मन्दिरलाई हिन्दु धर्मावलम्बीहरूले धार्मिक आस्था र महत्वका साथ लिने गर्दछन्।
वर्षको हरेक दिन पूजाआजा हुने यस मन्दिरमा महाशिवरात्रिमा विशेष पूजा हुने गर्दछ। आज पनि मन्दिरमा दर्शन गर्न र पूजा गर्नका लागि बिहान ३ बजेदेखि नै दर्शनार्थीहरू लाइन लागेका थिए।
बिहान तीन बजेदेखि लाइनमा लागेका दर्शनार्थीहरूलाई पालैपालो पूजा गर्ने व्यवस्था मिलाउन मन्दिर व्यवस्थापन समितिले स्वयंसेवक र प्रहरी समेत परिचालन गरेको छ।
पूजा गर्न मन्दिरभित्र जाने र फर्किने बाटो फरक बनाइएका कारण पनि दर्शनार्थीहरूको भीड कम हुने गरेको छ।
बुटवल दिपनगरको सविता पौडेल विगतका वर्षभन्दा यस वर्ष लाइनलाई व्यवस्थित गरिएको कारण पूजाको लागि घण्टौ पर्खिनुपर्ने समस्या कम भएको बताइन्।
शिवरात्रिलाई मध्यनजर गर्दै समितिले एक सातादेखि नै मन्दिरको सरसफाइ, रङरोगन, यातायात, पार्किङस्थल लगायतको व्यवस्था गरेको थियो।
यसै वर्ष रङरोगन समेत गरी मन्दिरलाई चिटिक्क पारिएको छ। सडकको खाल्डाखुल्डी समेत पुरिएको छ।
सिद्धबाबा मन्दिर पाल्पा, बुटवल तथा सिद्धार्थ राजमार्ग भएर देशका विभिन्न स्थानमा जाने यात्रु तथा सवारी चालकहरूको समेत आस्थाको रूपमा रहेको छ।
यस मन्दिरमा विभिन्न समयमा गरिएका भाकल पूरा भएको भन्दै दर्शनार्थीहरूले परेवा उडाउने, घण्ट, त्रिशूल तथा विभिन्न मूर्ति स्थापना गरिदिने तथा मन्दिर व्यवस्थापन समितिलाई नगद दान समेत दिने गर्दै आएका छन्।
सोही क्रममा २००६ सालमा एक जना भक्तले चढाएको घण्ट शिवरात्रिको अवसरमा आज मन्दिरमा प्रदर्शन गरिएको छ।
२००६ साल फागुन ४ गते मन्दिरलाई चढाइएको उक्त घण्टमा कसले चढाएको हो भन्ने उल्लेख नगरिए पनि भगवानलाई चढाइएको घण्ट कसैले लगे पाप लाग्ने लेखिएको छ।
करिब १२ किलोग्रामको उक्त घण्ट ‘नालो’ नभएको अवस्थामा मन्दिरमा रहिरहेको र सफा गर्दै जाँदा ७० वर्ष पुरानो भएकोले दर्शनार्थीहरूको लागि प्रदर्शन गरिएको अध्यक्ष गुरुङ जानकारी दिए।
साथै शिवरात्रिको अवसरमा आज रातभर अखण्ड भजनकीर्तन समेत गरिने उनले जानकारी दिए।
गतवर्ष शिवरात्रि दिन २० हजार दर्शनार्थीले मन्दिरको दर्शन गरेकामा यसवर्ष ३० हजारभन्दा बढीले दर्शन गर्ने समितिले अपेक्षा गरेको छ।
मुख्यगरी शिव मन्दिर रहेको यस मन्दिरमा विश्वकर्मा, गणेश, नाग, हनुमान लगायतका १० वटा साना मन्दिर समेत रहेका छन्।
सातौं शताब्दीमा राजकाजबाट बैराग्य जागेपछि उज्जैनका सम्राट भर्तृहरि गोरखपुर आएको र गुरु गोरखनाथसँग दीक्षित भई तिनाउ नदीको माथि कुइरेभिरमा कठोर तपस्या गरी सिद्ध भएकाले यो क्षेत्रलाई सिद्धबाबा भनिएको बताइन्छ।