२० वर्षपछि तुलसीपुरको पर्सेनीमा भोटे मेला ब्युताउने तयारी गरिएको छ। फागुन ९ गते परेको शिवरात्रिको अवसर पारेर दुई दिन मेला लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
मेला कहिलेदेखि र कसले चलाउन थालेको हो भन्ने बारेमा भने एकीन छैन। तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वपछि २०५६ सालदेखि मेला बन्द हुँदै आएको थियो।
सोमबार पत्रकार सम्मेलनमार्फत मेला आयोजक मुल समितिका संयोजक तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष टोपबहादुर केसीले जुम्ला र हिमाली भेगतिरबाट जाडो छल्न घोडासहित दाङ झर्ने भोटेहरुको सम्झनामा मेला लाग्ने गरेको बताए।
‘हिमालका मानिसहरु जाडो सिजनमा यहाँ घोडा, तथा विभिन्न जडीबुटी लिएर व्यापारका लागि आउँथे,’ मेलाका संयोजक केसीले भने ‘त्यसले हिमाल र तराईलाई जोड्ने काम गर्दथ्यो।’
उनले आफूले घरमा आमासँग एक/दुई रुपैयाँ मागेर मेला हेर्न आउने गरेको स्मरण गरे। हिमाल र पहाडलाई जोड्ने पुरानो परम्परालाई निरन्तरता दिन र पर्यटन प्रवद्र्धनमा सघाउ पुगोस् भनेर २० वर्षपछि पुनः मेला ब्युताउन लागिएको वडा अध्यक्ष केसीले बताए।
कार्यक्रममा तुलसीपुर १० का वडा अध्यक्ष कुमार लामिछानेले हिमाली भेगका भोटेहरु तुलसीपुरको पर्सेनीमा आएर आफ्ना घोडा बेच्न घोडा दौड प्रतियोगिता समेत आयोजना गर्ने गरेको स्मरण गरे।
‘जुन राम्रो घोडा हुन्थ्यो त्यो सबैले किन्न खोज्थे,’ अध्यक्ष लामिछानेले भने ‘त्यतिबेला यातायातका साधन नहुँदा दाङमा घोडाको राम्रो व्यापार हुन्थ्यो।’
तत्कालीन समयमा अहिले जस्तो अस्पताल र औषधि नहुँदा जुम्ला, हुम्ला तिरबाट भोटेले ल्याउने जडिबुटीको व्यापार पनि दाङमा राम्रो हुने गरेको उनले स्मरण गरे।
पछि सवारीसाधन तथा औषधिको प्रयोग बढ्न थालेपछि भोटेहरू तुलसीपुर आउन छाडेको जानकार बताउँछन्।
फागुन ९ गतेदेखि लाग्ने भोटे मेलामा स्थानीय घोडा व्यवसायीका घोडाहरूबीचमा दौड प्रतियोगिता राखेर पम्परागत भोटे मेलाको झल्को दिने प्रयास हुने मेला आयोजक समितिले जानकारी दिएको छ।
घोडा दौड प्रतियोगिता र लोक दोहरी प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिने भएको छ। विभिन्न जातजातिका भेषभुषा सहितको झाँकी जुलुस पनि मेलाको दिनमा निकाल्ने आयोजक समितिले जानकारी दिएको छ।