स्थानीय बासिन्दाको पहलमा दाङको पाण्डवेश्वर महादेव मन्दिर चिटिच्याट्ट बनाइएको छ।
घोराही उपमहानगर वडा नम्बर ५ मा रहेको मन्दिरलाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीयले धमाधम काम गरेका छन्।
यहाँ ‘सुनकोट खड्गदेवी मन्दिर’ निर्माण भइरहेको छ। माटो र सिमेन्टको प्रयोगविनै ढुंगाले भगवतीको मन्दिर बनाइँदैछ।
मन्दिर व्यवस्थापन समितिका सचिव विष्णु आचार्यका अनुसार मन्दिर निर्माणमा आवश्यक पर्ने ढुंगा कुद्ने काम भइरहेको छ।
यहाँ पहिले भगवतीकै मन्दिर थियो। उक्त मन्दिरको मौलिकता नहराउने गरी जीर्णोद्वार गर्न लागिएको छ।
‘मन्दिर जीर्णोद्वारका बेला एउटा खुँडा र पुराना सिक्का भेटिएका छन्,’ उनले सेतोपाटीसँग भने।
सुनकोट खड्गदेवी मन्दिर तत्कालीन सल्यानी फालावाङी राजाका पालामा बनेको जानकारहरू बताउँछन्। त्यसबेला दाङ र सल्यान एकै थियो।
गोरखाका राजा पृथ्वीनारायण शाहले राज्य विस्तारका बेला छोरीको विहे सल्यानी राजासँग गरिदिए पछि सुनकोट ओझेलमा पर्यो।
स्थानीय बासिन्दाले नै यहाँ मन्दिर जीर्णोद्वारलाई पैसा जुटाउने काम गरेका हुन्।
सचिव आचार्य भन्छन्, ‘यहाँ राज्यको एक रूपैंयाँ पनि पैसा छैन। सबै स्थानीय मिलेर मन्दिर बनाइरहेका छौं। एक वर्षमा निर्माण सकिन्छ।’
भगवती मन्दिर पुग्न चार हजार ९ सय ६३ खुड्किला निर्माण गरिँदैछ। अहिले दुई सय खुड्किला (सिँढी) निर्माण सकिएको छ।
‘बाटो बनाउने जिम्मा पनि स्थानीयकै काँधमा छ। एउटा सिँढी एक जनाले बनाउने भनेका छौं,’ उनले भने, ‘दाङबाहिरका मानिसले पनि सिँढी निर्माणमा सहयोग गरेका छन्।’
महादेव मन्दिरबाट भगवती मन्दिर पुग्न करिब डेढ घण्टा हिँड्नुपर्छ। यहाँ मोटरबाटो छैन।
भगवती मन्दिरमा ३१ क्वीन्टल तौलको घन्टी राख्ने योजना छ। समुन्द्री सतहवाट ६ सय ३३ मिटरको उचाइमा निर्माण भइरहेको मन्दिरबाट रोल्पा क्षेत्रका लोभलाग्दा हिमाल र छिमेकी देश भारतसम्मको दृश्य हेर्न सकिन्छ।
यहाँ मात्र होइन, धारापानीस्थित पाण्डवेश्वर महादेव परिसरको त्रिशुल, फिल्ड, पार्कपनि जनताकै ८८ लाख रूपैंयाँबाट निर्माण गरिएका हुन्।
यहाँ एक करोडको लागतमा तीन वर्षअघि दश कोठे ७० जना अट्ने धर्मशाला बनाइएको थियो। धर्मशाला बस्ने हो भने एक रातमा एक सय तिरे पुग्छ।
विशिष्ट पाहुनाका लागि दुई सय लाग्छ।
नायक अर्जुन श्रेष्ठका परिवार, घोराहीका धुब्रकुमार श्रेष्ठ, तुलसीपुरका उत्तमकुमार श्रेष्ठको परिवारले धर्मशाला निर्माण गरिदिएका हुन्।
त्यसअघि पाण्डवेश्वर महादेवको मुख्य मन्दिर पनि जनताले नै पैसा उठाएर ०४८ सालमा बनाएका थिए। मन्दिरको वरिपरी रिङरोड पनि दाताकै लागनीमा निर्माण भएकोछ।
मन्दिरभित्रै रुख !
पाण्डवेश्वर महादेव मन्दिरभित्रै रुख छ। यो ‘साज’को रुख हो। जससँग रोचक किंवदन्ती जोडिएको छ। यो रुख झन्डै अढाई सय वर्षदेखि तीनसय वर्ष पुरानो भएको विश्वास छ। यहाँ पुग्दा मन्दिरका पूजारी पदमप्रसाद गौतमले हामीलाई रोचक कथा पनि सुनाए।
दाङमा त्यसबेला थारू समुदायको बसोबास थियो। एकदिन धारापानी वन क्षेत्रमा रुख काट्न गएका थारु समुदायका मानिसले दिनैभर आलोपालो गरी काट्दा पनि साज ढाल्न सकेनछन्।
त्यसदिन मानिसहरू घर फर्किए। भोलिपल्ट फेरि त्यो रूख काट्न गए। तर हिजो बञ्चरोले रूखका फेदमा लागेको चोट भोलिपल्ट केही देखिएन। त्यो देखेपछि उनीहरूले यहाँ देवता (भत्वा) रहेको विश्वास गरे।
वरिपरि पातपतिंगर पन्छाएर हेर्दा शिवलिंग र जलकुण्डी फेला पर्यो। त्यसपछि उनीहरूले रूखमा पूजा गर्न थालेछन्।
पछि औलो उन्मुलन भएपछि पहाडिया मानिसहरूले यहाँ के रहेछ भनेर हेरेछन्। रूखमुनी शिवलिंग मात्र होइन शिव-पार्वतीको मुर्ति पनि भेटाएछन्। उक्त मूर्तिमा त्यसबेलादेखि नै पूजा हुँदै आएको छ। शिवलिंग पाँच हजार वर्ष पुरानो अनुमान गरिएको छ।
पूजारी गौतम पनि पाँच पाण्डवले पाँच हजार वर्षअघि वनबासको क्रममा यहाँ तपस्या गरेको किंवदन्ती सुनाउँछन्। रूखको बोक्रा दुई वर्षअघि पुरातत्व विभागका कर्मचारीले परीक्षणका लागि ल्याएका थिए।
अग्लो त्रिशुल
बबई नदी तरे लगत्तै पाण्डवेश्वर महादेव मन्दिर आउँछ। बजारदेखि करिव ९ किलोमिटर दक्षिणमा मन्दिर छ।
महादेव मन्दिरको नजिकै माथिल्लो भागमा ५५.५ फिट अग्लो र ४४ इन्च गोलाई भएको त्रिशूल छ।
०७१ साल कात्तिक महिनामा त्रिशुल ल्याइएको हो। त्रिशुलमा जगको भागसहित १३ हजार ३ सय ८० किलो धातु प्रयोग भएको छ।
७ हजार ७ सय १८ किलो फलाम, २ सय ५ किलो तामा र १० किलो काँस प्रयोग भएको छ। त्रिशुलको तौल ६ टन भन्दा बढी छ।
यो त्रिशुल सुन, चाँदी, पित्तल, तामा र फलामबाट निर्माण गरिएको छ। यहाँ त्रिशुल स्थापना गर्दा ०७१ सालमा पनि साजको रूख ढलाउन सकिएन। त्यसैले त्रिशुलको सम्मुख पूर्वमा रहेको साजमा पनि पूजा गरिन्छ।
१००८ जोडी बर-पिपल लगाइँदै
०७५ सालदेखि नेपाली सेनाले पाण्डवेश्वर महादेव मन्दिरमा पुगेर सलामी दिन सुरु गरेको छ। शिवरात्रीको दिनमा सलामी दिइने नेपाली सेनाले जानकारी दिएको छ।
शिवरात्रीमा यहाँ मेला लाग्छ। शिवरात्रीमा फागुन ८देखि १० गतेसम्म यहाँ महोत्सव छ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी महोत्सव गर्न लागिएको हो। यहाँ ५० विघा जग्गा छ। मन्दिर परिसरमा ५५० वर-पिपलका विरूवा हुर्किएका छ्न्। १००८ वर-पिपल हुर्काउने लक्ष्य छ।
१०८ शिवलिंग, १०८ गौमुखी धारा पनि छ। मन्दिरको नजिकै १२ विगाहा क्षेत्रफलमा शिव सरोवर बन्दैछ। त्यो सरोवर मध्य ४ विगाहा क्षेत्रफलमा पानी र ढाई विगाहाको क्षेत्रफलमा आइल्याण्ड र बचेको भूभागमा पार्क बनाउने योजना छ। यसका लागि करिब ८ करोड खर्च लाग्छ।
यहाँ भने सरकारले पनि बजेट दिएको छ। गत वर्ष आएको १ करोडमध्ये ४३ लाखको काम भइसकेको छ। यहाँ भ्युटावर बनाउन सरकारसँग ५० लाख माग गरिएको छ।
यस्तै २५ लाखको लागतमा कमल पोखरी निर्माण भइरहेको छ। ४० लाखमा स्तम्भ पार्क निर्माण गर्न लक्ष्य लिइएको छ। झन्डै २ सय गाडी पार्किङ गर्न मिल्ने पार्किङस्थल निर्माण भइसकेको छ।