प्राचीन इजिप्टमा एक जना नेस्यामुन नामका पादरी थिए। उनको निधन १००० इसापूर्वमा भएको थियो। प्राचीन इजिप्टको परम्पराअनुसार उनको शरीरलाई 'ममी' को रूप दिइयो।
नेस्यामुन ममी सन् १८२३ मा फेला परेपछि लिड्स सिटी म्युजियममा राखिएको थियो।
तीन हजार वर्षदेखि चुपचाप पादरीको उक्त ममीले हालसालै बेलायतको एक प्रयोगशालामा 'आवाज' निकालेको छ। अनुसन्धाताहरूले नेस्यामुनको शरीरमा थ्रिडी प्रिन्टिङ प्रविधिमार्फत् आवाज दिएका हुन्। यसबाट प्राचीन इजिप्टका मान्छेहरूको आवाजबारे अध्ययन गर्न ठूलो मद्दत मिल्ने अध्येताहरूले बताएका छन्।
नेस्यामुनको शरीरबाट आवाज संयन्त्रको नमूना निकालेर अध्येताहरूले उनको आवाज अनुमान गरेका हुन्।
मृत शरीरलाई ममीमा रूपान्तरण गर्दा उक्त शरीरका थुप्रै भाग वर्षौंसम्म रहन्छन्। यसले गर्दा अध्येताहरूलाई शरीरको बचेका भागबाट अध्ययन गर्न मद्दत पुग्छ। यसअघि यस्ता ममीबाट उनीहरूको स्वास्थ्य र खानपानबारे केही जानकारी प्राप्त भएको थियो। अब आएर, उनीहरूको आवाज पनि सुन्न सकिने भएको हो।
शरीरमा भएका आवाज निकाल्ने संयन्त्रहरू- मुख, घाँटी, नाक लगायत भागको अध्ययनबाट कस्तो आवाज निस्कन्छ भनेर अनुमान लगाउन सकिन्छ। सामान्य तरिकामा गाडिएका शवमा हड्डी मात्र बच्ने हुनाले यो अध्ययन सम्भव हुँदैन। तर ममीमा यी संयन्त्रका अवशेष हुन्छन्। यिनै अवशेषका आधारमा अनुसन्धाताहरूले आवाज अनुमान लगाएका हुन्।
यो अध्ययन रोयल होलोवे, युनिभर्सिटी अफ लन्डनका इलेक्ट्रिकल इन्जिनियरिङ प्राध्यापक डि. एम. होवार्डको नेतृत्वमा भएको हो। हालसम्म सबैभन्दा राम्ररी अध्ययन भएका ममीमध्येको नेस्यामुनबाट उनीहरूले आवाज निकाल्न सफल भएका हुन्।
नेस्यामुनको ममी सबभन्दा पहिले सन् १८२४ मै खोलेर परीक्षण गरिएको थियो। अन्तर्राष्ट्रिय विज्ञानका लेखहरूमा यसबारे उल्लेख छ। २० औं शताब्दीमा प्रविधि विकाससँगै यसको एक्स-रे, इन्डोस्कोपी, दाँत परीक्षण र पछि सिटी-स्क्यान नै गरियो।
त्यसको केही समय यसलाई यत्तिकै लिड्स संग्रहालयमा प्रदर्शनीका लागि राखिएको थियो। पछि होवार्ड र उनको टोलीले यसबारे थप अध्ययन गरेको हो।
उनीहरूले सिटी-स्क्यानकै मार्फत् ममीको आवाज निकाल्ने संयन्त्रहरूको डिजिटल नमूना तयार गरे। थ्रिडी प्रिन्टरबाट नमूना बनाए पनि त्यो पूरा भएको थिएन।
होवार्डका अनुसार ममीका आवाज संयन्त्रमध्ये एउटा भाग थिएन। त्यस्तै जिब्रोका अवशेष पनि एकदमै कम मात्र बाँकी भएकाले अध्ययन लम्बियो। नपुगेका भागका आकार तयार गर्न निकै कठिन भएकाले अध्येताहरूले त्यति बेला यो काम छाडे।
यसको साटो उनीहरूले नेस्यामुनको आवाज संयन्त्रको थ्रिडी नमूनामा सानो स्पिकर जडान गरे। यसले मान्छेको झैं तर थोरै आवाज निकाल्थ्यो।
कुनै बेला पादरी रहेका नेस्यामुन दिनकै भजन गाउँथे होलान्, प्रवचन दिन्थे होलान्। तर अध्येताहरूले उनीबाट 'इ' र 'ए' जस्तो एउटा अक्षर मात्र बोलाउन सकेका थिए। नेस्यामुनलाई बोलाउन असफल भए पनि कम्तिमा यो प्रविधिले काम गर्ने रहेछ भनेर अध्येताहरू उत्साहित भए।
यसपछि उनीहरू विस्तारै नेस्यामुनमा काम गरिरहे। थ्रिडी प्रिन्टबाट छुटेका भागहरूको आकृति बनाएर ममीको पूर्ण आवाज संयन्त्र तयार गरे। अन्ततः उनीहरू तीन हजार वर्ष पुरानो ममीको आवाज निकाल्न सफल भएका हुन्।
(बिबिसी, सिएनएन लगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको)