वन डिभिजन कार्यालय, चितवनले सेरीन हाईवे रिसोर्ट–डालिमाबाट एक चित्तलको उद्दार गरेको छ। गत हप्ता सो रिसोर्टले चित्तललाई डोरीले बाँधेर राखेको भन्दै तस्वीरहरु सार्वजनिक भएका थिए। पर्यटन तान्न भन्दै रिसोर्टले चित्तल राखेको थियो।
एनिमल राईटस् क्लबले यसबारे थाहा पाएपछि कारबाहीको प्रकृया अगाडि बढाइ उद्दार गर्न माग गरेको थियो। सोही जानकारी अनुसार वन डिभिजन कार्यालयले शनिबार चित्तलको उद्दार गरी उपचारपछि आइतबार चितवन राष्ट्रिय निकुञ्जमा छोडेको छ।
उनीहरुले चित्तललाई हानी पुर्याउने उद्देश्यले नराखेको डिभिजन वन अधिकृत विष्णु प्रसाद पौडेलले बताए। ‘केही नकारात्मक सोचले राखेको होइन रहेछ’ पौडेलले सेतोपाटीसँग भने। त्यहाँबाट चित्तल भागेर गएमा असुरक्षा बढ्ने र उद्दार गर्न गाह्रो हुने भएकाले डोरीले बाँधेर राखिएको रिसोर्ट संचालकले बताएका छन्।
सो चित्तल सानो उमेर देखि नै त्यही रहेको एनिमल राईट्सका सहसंस्थापकका सुराजन श्रेष्ठले बताए।
चित्तलको खुट्टामा चोट लागेको र उपचारपछि वनमा छाडिएको उनले बताए।