अभद्र व्यवहारसम्बन्धी कसूर गरेको आरोप खेपिरहेकी गायिका आस्था राउतलाई प्रहरीले हिरासतमै राखेर अनुसन्धान गर्ने म्याद लिन काठमाडौं जिल्ला प्रशासन कार्यालय (सिडिओ) लैजाँदै छ।
उनी आज बिहान आफैं काठमाडौं प्रहरी परिसरमा उपस्थित भएकी थिइन्। उनी उपस्थित भएपछि प्रहरीले स्वास्थ्य परीक्षण गराएर हिरारतमा लिएको थियो।
अब आस्थालाई म्याद थप गर्न सिडिओ कार्यालय लैजाने परिसरका एसएसपी उत्तम सुवेदीले जानकारी दिए। त्यसपछि उनको बयान लिने पनि उनले बताए।
'उहाँको स्वास्थ्य परीक्षण भएको छ अब अनुसन्धानको लागि म्याद थप गर्न सिडिओ कार्यालय लैजान्छौं। त्यसपछि सरकारी वकिलको उपस्थितिमा बयान लिन्छौं। उहाँमाथि अनुसन्धान प्रकृया सुरू हुन्छ,' उनले भने।
राउत परिवारका साथमा परिसर पुगेकी थिइन्।
माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप राउतमाथि छ।
श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो।
आफूमाथि दुर्व्यवहार गरेको भन्दै विमानस्थलमा कार्यरत एक महिला प्रहरीले उजुरी हालेपछि राउतविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।
प्रहरीले राउतलाई फरार सूचीमा राखेको थियो।यसअघि प्रहरीले उनलाई नेपाल आउनसाथ पक्राउ गर्ने बताएको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले आस्थाका अभिभावक (आमाबुवा) ले प्रहरी कार्यालयमा ल्याउने प्रतिवद्धता व्यक्त गरे उनलाई नेपाल छिर्नासाथ नपक्रिने बताएको थियो।
भएको के थियो?
माघ १ गते बुधबार राउत भद्रपुर जाने क्रममा मध्यान्ह विमानस्थलमा पुगेकी थिइन्। सो क्रममा उनी आन्तरिक टर्मिनलको सुरक्षाकर्मीले जाँचका क्रममा उनलाई ज्याकेट फुकाल्न लगाएका थिए।
मेटल डिटेक्टिभ एक्सरेले रातो देखाएपछि सुरक्षाकर्मीले पुन: चेकजाँच गर्छन्। यसक्रममा राउत झोक्किएर ज्याकेट फुकाल्दै एक्सरे मेसिनमा हालेकी थिइन्।
सो बेला उनले हातमा लिइरहेको कफीको कप प्रहरी कर्मचारीले सुरक्षित गरिदिएकी हुन्छिन्।
चेकजाँच सकिएपछि उनले त्यो फिर्ता गरिदिएकी थिइन्। तर, राउतले कप ठेल्छिन्। केहीबेरमा कपबाट कफी पोखिएको थियो र राउतको ज्याकेट भिजेको थियो।
काठमाडौंबाट भद्रपुर पुगेपछि गाडीमा चढेको बेला आस्थाले फेसबुकमा लाइभ गरेकी थिइन् र आफूमाथि विमानस्थलमा दुर्व्यवहार भएको भन्दै प्रहरीको चर्को आलोचना गरेकी थिइन्।
उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि अर्को दिन प्रहरीले विमानस्थलमा भएको घटनाको सिसिटिभी फुटेज सार्वजनिक गरेको थियो।
उक्त भिडिओ बाहिर आएपछि आस्थाले अर्को फेसबुक लाइभमा रूँदै माफी पनि मागेकी थिइन्।
विमानस्थलमा कार्यरत प्रहरी जवान रमिसा श्रेष्ठले राउतविरूद्ध अभद्र व्यवहार कसुरअन्तर्गतको जाहेरी दिएकी थिइन्।
सोही जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतलाई पक्रन अनुमति दिएको थियो।
नोकझोंकको विषयमा प्रतिशोध साँधेर आस्थामाथि वारेन्ट जारी गरेको भन्दै प्रहरी र प्रशासनको आलोचना हुँदै आएको छ।
नोकझोंकमै आस्थालाई वारेन्ट काट्ने प्रहरी
प्रहरीकोमा पुगिन् गायिका आस्था राउत