सुर्खेतस्थित यातायात व्यवस्था सेवा कार्यालयले सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया सुरु गरेको छ। आइतबारदेखि सुर्खेतस्थित कार्यालयबाटै लाइसेन्स वितरण गर्नेगरी यातायात व्यवस्था विभागले अनलाईन फारम खुला गरेको हो।
विभागले सुर्खेतबाटै लाइसेन्स वितरणका लागि अनुमति दिएको करिब एक वर्षपछि कार्यालयले वितरणको प्रक्रिया सुरु गरेको हो। यसअघि सवारी चालक अनुमति पत्र लिन नेपालगञ्जमा रहेको यातायातको साविकको अञ्चल कार्यालय जानुपर्ने बाध्यता थियो।
यसअघि प्राविधिक कर्मचारी नहुँदा लाइसेन्स वितरण गर्न कठिनाई भएको थियो। भौतिक पूर्वाधार मन्त्रालयले करार सेवामा प्राविधिक तर्फका कर्मचारी भर्ना गरेपछि लाइसेन्स प्रदान गर्ने प्रक्रिया सुरु गरिएको यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले जनाएको छ।