मकवानपुरको हर्नामाडीमा आइतबार बिहान एक महिलाको शव भेटियो। पानी जमेको खेतमा ती महिलाको शव भेटिएको थियो।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे। प्रहरीले हर्नामाडी दियावतीकी २५ वर्षीया मीना अधिकारीको शव भएको पुष्टि गर्यो। तत्काल घटनास्थलको मुचुल्का गर्नेवित्तिकै प्रहरीले उनका श्रीमान् यज्ञराज अधिकारीलाई नियन्त्रणमा लियो।
अधिकारी नियन्त्रणमा भए तापनि उनले घटनाबारे अनभिज्ञता प्रकट गरिरहेका थिए। शनिबार पनि हेटौंडामा अर्का एक जनाको शव भेटिएको थियो।
लगातार दुई दिनसम्म शव भेटिन थालेपछि मकवानपुर प्रहरीलाई चुनौती पनि बढ्दै गएको थियो। मकवानपुर प्रहरीले अनुसन्धान थाल्यो। मीनाको शव भेटिएको २४ घण्टा नबित्दै श्रीमान् यज्ञराजले नै श्रीमतीको हत्या गरेको स्वीकारे।
टाउको र शरीरमा धारिलो हतियारको चोट लागेको थियो। प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले सेतोपाटीसँग भने, ‘हामीले शरीरमा चोट देख्नेवित्तिकै उनको हत्या नै भएको निष्कर्ष निकालेका थियौं। प्रहरी नियन्त्रणमा रहेका उनका श्रीमानले हत्या स्वीकार गरेका थिएनन्।’
मृतकका परिवारले प्रहरीमा जाहेरी दिएपछि यज्ञराजले हत्या गरेको स्वीकार गरेका हुन्। ‘जाहेरी पनि आएको छ, मृतकका श्रीमानले हत्या गरेको पनि स्वीकार गरिसकेको अवस्था छ,’ प्रहरी निरीक्षक कुर्मीले भने।
मृतकका श्रीमानको अन्य युवतीसँग सम्बन्ध रहेको र श्रीमतीले थाहा पाएपछि उनको हत्या गरेको खुल्न आएको मकवानपुर प्रहरीले जनाएको छ। मृतकका परिवारले मीनालाई यज्ञराजले लामो समयदेखि अभद्र व्यवहार गर्दै आएको प्रहरी जाहेरीमा उल्लेख गरेका छन्। यज्ञराज र मीनाको पाँच वर्षअघि बिहे भएको थियो। उनीहरूका ४ वर्षकी छोरी र २ वर्षका छोरा छन्।