पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रभित्रका अव्यवस्थित फूल-उपहार पसल तथा टहरा हटाउन निर्देशन दिएको छ।
कोषले सोमबार दोस्रो पटक सूचना जारी गरेर विश्वसम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्न मापदण्ड एवम् स्वीकृत नलिई सञ्चालित पसल तथा बसोबासका लागि बनाइएका अस्थायी टहरा एक साताभित्र हटाउन हटाउन निर्देशन दिएको छ।
कोषले आफ्नो घर-टहराले चर्चेको जग्गाको क्षेत्रफलभन्दा बाहिर मापदण्डविपरीत मूल सडक तथा सहायक सडकमा हिँड्नै असर पर्नेगरी राखिएका पाली टहरा पनि हटाउन भनेको छ।
सूचना प्रकाशित भएको एक साताभित्र पसल तथा टहरा नहटाए कोष आफैंले प्रचलित कानुनअनुसार हटाउने जनाइएको छ।
'पशुपति क्षेत्रका मूल सडक, सहायक सडकहरूका पेटी, डबलीहरू र खुला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथक्षेत्र र वनगणेश लगायत क्षेत्रमा अव्यवस्थित तबरले छाप्रा बनाई फूल, उपहारजन्य पसल व्यवसाय गर्ने र बसोबास गर्ने कार्यहरू भए गरेबाट यस क्षेत्रको सौन्दर्यतामा नकारात्मक असर पर्नुका साथै भक्तजन, तीर्थयात्री, पर्यटक र पैदलयात्रीको आवगमनमा समेत अवरोध पुग्न गएको छ,' कोषद्वारा जारी सूचनामा भनिएको छ।