१९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परी दिवंगतहरुको स्मृतिमा आज बिहान भूगोल पार्कमा स्मृति सभा गरिएको छ।
सभामा गृहमन्त्री रामबहादुर थापा, महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, महानगरका वडाध्यक्षहरू र विपद् व्यवस्थापन क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरु भेला भएका थिए।
स्मृति सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले नागरिक सचेतना र विपद् व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिने धारणा राखे।
२०७२ सालको भूकम्पबाट क्षति भएको भौतिक संरचना पुनर्निर्माणलाई सरकारले प्राथमिकता दिएको बताउँदै थापाले भने ‘प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन्। त्यसैकारण कहिलेकाही अप्रत्याशित जोखिम व्यहोर्नु पर्ने अवस्था छ, यो अवस्थाबाट बच्न र बचाउने उत्तम उपाय भनेकै सुरक्षित भवन र यसप्रतिको साझा प्रतिवद्धता हो।’
सभामा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले विपत्ति आइपरेमा क्षति कम गराउने उद्देश्यले महानगरले वडास्तरीय विपद् क्षति व्यवस्थापन तथा नागरिक सुरक्षा समिति गठन गरेको जानकारी दिए।
‘हामीले महानगरभित्र निर्माण हुने सरकारी वा निजी जुनसुकै प्रकारका भवन निर्माणमा अनिवार्य नक्सा पास गराउनुपर्ने संहिताको कार्यान्वयनलाई कडाइ गरेका छौं, मेयर शाक्यले भने सरकारी भवन स्वीकृत गर्दा लागेको दस्तुर अनुदानका रुपमा फिर्ता गराउने नीति समेत रहेको छ।
महानगरले सम्भावित क्षति न्युनीकरणका लागि वडास्तरीय विपद् क्षति व्यवस्थापन सीप सिकाइ र क्षमता विकास गर्ने कामलाई अघि बढाएको छ।
१९९० साल माघ २ गतेको विनाशकारी भूकम्पले पुर्याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ।
विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो। यस वर्षको नारा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुरक्षा र समृद्धिको आधार’ रहेको छ।
भूगोल पार्कको स्मृति सभापछि गृहमन्त्री थापाले भृकुटीमण्डपमा आजैबाट शुरु भएको भूकम्प सुरक्षा प्रदर्शनीको उद्घाटन गरे। नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीको विपद् क्षति व्यवस्थापन सामाग्री तथा उपकरण प्रदर्शनमा राखिएको छ।
यस्तै भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल र ख्वपः इञ्जिनियरिङ कलेजले भूकम्पको कम्पनबाट जमिन र संरचनामा पर्ने प्रभावलाई देखाउन प्रयोगात्मक स्टल राखेका छन्।