धनुषाको जनकनन्दनी गाउँपालिका ५ बरनझुल्लाबाट अटोमेटिक पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँका २६ वर्षीय दिपेशकुमार महतो र १९ वर्षीय शुभकेश महतो छन्। इलाका प्रहरी कार्यालय खजुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।
हतियारसँगै एक थान म्यागजिन पनि बरामद भएको धनुषा प्रहरीले जनाएको छ। हतियार पड्काउँदै हिँडेको सूचना पाएपछि प्रहरी टोली परिचालन भएको थियो।
प्रहरीले महतोको घरभन्दा करिब पाँच सय मिटर पर आफ्नै आँपको बगैंचामा लुकाइछिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारेको थियो।
पक्राउ परेकालाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।