कपिलवस्तु, धनुषा, पाल्पा र रामेछापमा भएका दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
कपिलवस्तु नगरपालिका-७ धरमपनीमा लु१ख ६९१३ नम्बरको बस अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा बसमा सवार रुपन्देही रोहणी गाउँपालिका-५ बस्ने ३५ वर्षीया प्रमोवती पाण्डेको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका १४ जनालाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषा, नगराइन नगरपालिका-२ जटही अस्पतालस्थित सडकमा ज३प ८८४७ नम्बरको मोटरसाइकलको चेनमा साडी फसेर आइतबार साँझ दुर्घटना हुँदा जनकपुर उपमहानगरपालिका-४ शान्तिनगरकी ५५ वर्षीया माध्यमीदेवी ठाकुरको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी ठाकुरको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको रहेको छ।
पाल्पा, तिनाउ गाउँपालिका-४ लोच्चगोठमा लु२त ७२५७ नम्बरको ट्याक्टर सडकबाट करिब सात मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा ट्रयाक्टर चालक नवलपरासी पश्चिम तिलकपुर-५ का ३२ वर्षीय पुष्पराज थारुको घटनास्थलमै मृत्यु भएको छ।
रामेछाप, मन्थली नगरपालिका-११ भट्टारस्थित सडकमा आइतबार साँझ ज१त ९०७५ नम्बरको गुडिरहेको ट्रयाक्टरबाट खसेर गम्भीर घइते भएका ट्रयाक्टरमा सवार सोही नगरपालिका नाटिलाका ६४ वर्षीय रिपु लामिछाने मगरको तामाकोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।