सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई विप्लव समूहका कार्यकर्ताले अमानवीय व्यवहार गरेका छन्।
आइबार दिउँसो ४ बजेतिर विप्लवका कार्यकर्ताले कार्यकक्षमै गएर चौधरीलाई कालोमोसो दले। कालोमोसो मात्रै नभई कपाल मुण्डन गरेर साङ्लाले बाँधे।
सेवाग्राहीका रुपमा कार्यालयमा आएका दुई/तीन जनाको समूहले चौधरीलाई कार्यकक्षमै सडक तथा पुल निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै कालोमोसो दलेको प्रत्यक्षदर्शीले बताएका छन् ।
डिभिजन कार्यालय दाङका प्रमुख चौधरीको केही दिन पहिले मात्रै घाइघाट–दिक्तेल सडक आयोजना उदयपुरमा सरुवा भइसकेको छ ।
सडक डिभिजन कार्यालय दाङको नयाँ प्रमुखको रुपमा निरज शाक्य आएका छन । कार्यालय प्रमुख चौधरीलाई कालोमोसो दल्ने समूहको खोजी कार्य भैरहेको एकजना प्रहरी अधिकारीले बताए ।
‘प्रमुख चौधरीले व्यापक अनियमितता गरेको हुँदा उनकै कार्यकक्षमा गएर हामीले कालोमोसो दल्यौं, जुत्ताको माला लगयौं र उनकै कुर्सीमा कुकुरलाई बाध्ने साङ्गोले बाँधेर आयौं,’ एकजना विप्लका नेताले फोनमा भने।
यसबारेमा बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले अनभिज्ञता प्रकट गरे । ‘म अहिले तुलसीपुरमा छु, मलाई त्यसवारे कतैवाट सूचना आएको छैन,’ एसपी भट्टराईले भने ।
जिल्लास्थित मुख्य बजारमै दिन दाहाडै कार्यकक्षमै सडकका प्रमुखलाई कालोमोसो दले लगतै उनीहरु फरार भएका थिए ।