तुलसीपुरका व्यवसायी झलक केसी नियमित रूपमा साइक्लिङ गर्छन्।
यातायात व्यवस्था कार्यालय तुलसीपुरका कर्मचारी रश्मी अधिकारी बिदाको दिनमा टाढा–टाढासम्म एक्लै भए पनि साइकलको यात्रा गरिरहेका भेटिन्छन्।
बाँकेका पत्रकार प्रेम केसी पनि साइकलको यात्रामा रमाइरहेका छन्। पछिल्लो समय पश्चिम नेपालका बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत लगायतका ठूला सहरहरूमा साइक्लिङ गर्नेहरूको संख्या थपिँदै गएको छ। शारीरिक श्रम नगर्नेहरू साइक्लिङतर्फ बढी आकर्षित छन्।
दाङमा साइकल चढ्नेको संख्या कति छ? त्यो यकिन छैन। तै पनि कामकाजी सबैलाई नियाल्दा साइकल चढ्नेको संख्या हजारौं छ। जिल्लाको ग्रामीण भेगबाट दैनिक कामकाजका लागि सहर-बजार आवात-जावात गर्ने मजदूरदेखि र स्कुले विद्यार्थी धेरैजसो साइकल नै प्रयोग गर्दै आइरहेका छन्।
घोराहीका रेशम केसी पनि बाल्यकालमा स्कुल जान-आउन साइकल नै प्रयोग गर्थे। त्यतिबेला साइकलको विकल्प पनि थिएन। घोराहीस्थित मावि रझेनामा पढ्दा होस् वा नेपालगञ्ज पढ्न जाँदा। उनको सारथी साइकल नै थियो।
केसी आज पनि साइकल नियमित चलाउँछन्। तर, आज उनले ‘साइक्लिङ’लाई एउटा खेलको रूपमा लिने गरेका छन्। जसबाट मनग्य स्वास्थ्य लाभ त छँदैछ।
केसी यो बीचमा कोरिया पनि पुगे। जहाँ पहिलोपटक उनले साइक्लिङका लागि छुट्टै लेन देखे। साइकल चढ्ने गरिबभन्दा पनि धनीमानीलाई धेरै भेटे।
त्यसपछि बल्ल उनी ‘गरिब तथा मोटर कार किन्न नसक्नेहरूले मात्रै साइकल चढ्छ्न्’ भन्ने उनको पूर्ववत् मान्यता गलत रहेछ भन्ने निष्कर्षमा पुगे।
कोरियामा रहँदा पनि उनले कोठादेखि कम्पनी जाँदा सधैं साइकल नै प्रयोग गरे।
जहाँ इच्छा त्यहाँ उपाय। स्वदेश फर्केपछि उनले विश्व साइकलयात्री पुष्कर शाहको ‘विश्वलाई पाँच फन्को’ नामक किताब किनेर पढे। त्यसले उनमा थप ऊर्जा भरिदियो।
‘आफ्नो ठाउँमा केही गर्नुपर्छ भन्ने जोस् पलाएर आयो,’ केसीले भने।
त्यसपछि केसी अगाडि बढे। उनी एक्लै साइकलमा भौंतारिए। कहिले कता कहिले कता। साइकल चलाउनेहरू खोजी गर्दै हिँड्न थाले। जिल्लाका विभिन्न सहरमा पुग्दै साइकल चलाउनेलाई पछ्याए। उनीहरूमा हौसला थप्दै गए। साइक्लिङका फाइदाबारे बताउँदै हिँडे।
साइकल वातावरणीय दृष्टिकोणले मात्रै हैन, शारीरिक व्यायामका लागि त्यतिकै उपयुक्त छ। केसीकै शब्दमा नियमित ४० मिनेट मात्रै साइकल चलाउँदा पनि प्रेसर र सुगरका बिरामीले धेरै लाभ लिन सक्छन्।
साइक्लिङले विद्यार्थीको स्मरण शक्ति र दिमागको शक्ति बढाउने केसीको विश्वास छ।
साइकल चलाउँदा घुँडा लगायतका जोर्नीहरू बलियो हुने उनी बताउँछन्।
साइकलसँग जोडिएको बाल्यकालदेखिको त्यो साइनोलाई ४३ वर्षीय केसीले आज थप प्रगाढ बनाउँदै लैजानुको कारण यस्ता थुप्रै फाइदाहरूकै कारणले गर्दा हो।
घोराही उपमहानगरपालिका वडा नं. १५ ट्राफिक चोकका केसी हाल दाङ जिल्ला साइक्लिङ संघका अध्यक्ष पनि हुन्। केसीले २०७३ सालमा एकल मेची–महाकाली साइकल यात्रा गरिसकेका छन्। त्यो यात्रा पूरा गर्न उनलाई १२ दिन लागेको रहेछ।
त्यसक्रममा मेचीको पानी महाकालीमा लगेर मिसाएको उनले बताए।
‘हामी सबै नेपाली एउटै हौं भन्ने सन्देश दिन मैले त्यसो गरें,’ उनले भने।
त्यो यात्राको उद्धेश्य अनुभव संगाल्नुमात्रै थिएन, मानिसहरूमा साइक्लिङप्रतिको क्रेज बढाउनु पनि थियो। घर परिवारले भने साइकल लेनसमेत नभएको हाइवेमा साइकल यात्रामा जान दिन मानेका थिएनन्। तै केसी रोकिएनन्। अगाडि बढे र त्यो पूरा गरेरै फर्किए।
‘मलाई घर परिवार र समाजलाई साइकल छोटो दूरीको लागि मात्रै हैन भनेर प्रमाणित गर्नु थियो,’ केसीले भने, ‘अर्कोतर्फ साइक्लिङले पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्याउँछ भन्ने देखाउनु थियो। त्यही भएर रिक्स उठाएँ।’
त्यो यात्रापछि केसीले अब जीवनभर (शक्ति रहँदासम्म) साइकल चलाउने प्रण पनि गरेका छन्।
‘नेपाली विविधता शान्ति र एकता’ भन्ने सन्देशका साथ मेची-महाकाली यात्रा पूरा गर्दा उनले तीता-मिठा अनुभव संगाले। कतिले साइकलमै यात्रा गरिरहँदा पनि के तपाईं साइकल मै आउनु भएको हो र? भन्ने प्रश्न सोधे।
केहीले सरकारले पैसा दिएको होला नि? भनेर जिज्ञासा राखे। अधिकांशले भने ढाडस नै दिए।
एक्लो यात्रा भए पनि अत्यन्तै रोमाञ्चक बनेको उनले बताए।
यही वर्ष मात्रै दाङमा ‘टुर द दाङ भ्याली’ नाम दिएर ९५ किलोमिटरको साइकल टुर भयो। त्यसमा विश्व साइकलयात्री पुष्कर शाहलगायत विभिन्न २० जिल्लाका चर्चित साइक्लिष्टहरूलाई निम्त्याएका थिए।
त्यो टुरले जिल्लावासी धेरैलाई सोच्न बाध्य पारिदियो। ‘स्वास्थ्यको लागि मात्रै हैन, भातृत्व र पर्यटनको लागि समेत साइक्लिङले भूमिका खेल्दो रहेछ’ भन्ने चर्चा सुरू भयो।
त्यसपछि जिल्लामा अब छुट्टै ‘साइकल लेन’ बनाउनु पर्छ भन्ने बहस सृजना भयो।
त्यसबाट प्रभावित भएर जिल्लामा चार जना महिला साइक्लिष्टहरू थपिएको केसीले बताए।
उनीहरू पनि हाल नियमित साइक्लिङमा रमाइरहेका छन्।
‘जिल्लाका सडकहरूमा छुट्टै साइकल लेन निर्माण गर्न अति आवश्यक छ,’ केसीले थपे, ‘अझ ठूला सहर बजारमा अब ठूला सवारी जान प्रतिबन्ध लगाएर साइक्लिङलाई प्रमोट गर्न राज्य लाग्नु पर्छ।’
त्यसपछि शान्त, सफा अनि स्वच्छ वातावरण निर्माण गर्न सजिलो हुने केसीको विश्वास छ।
‘स्वास्थ्य र वातावरणको लागि साइकल’ भन्ने कुरालाई अभियानको रूपमा अगाडि बढाउन स्थानीय सरकारले समेत भूमिका खेल्न जरूरी भइसकेको केसी तर्क गर्छन्। ‘भावी पुस्ताको लागि सोच्न अब ढिलाइ गर्न हुन्न,’ केसीले भने, ‘तुलसीपुर–घोराहीमा फोर लेन सडक विस्तार हुँदै गर्दा एउटा लेन साइकलका लागि पनि निर्माण गर्न आवश्यक छ।’
त्यही अभियानका साथ पछिल्लो समय जिल्लाका विभिन्न विद्यालयहरूमा पनि साइक्लिङका फाइदाबारे बुझाउन केसी पुग्ने गरेका छन्।
सुरूमा विद्यालयहरूमा साइक्लिङको महत्वबारे बुझाउन केसी खोज्दै कक्षा लिन गए।
अब विद्यालयहरू नै खोज्दै आउन थालेको भन्दै केसीले खुसी साटे।
केसी निकट भविष्यमै जिल्लामा साइकल रेसको तयारी गरिरहेका छन्।
साइक्लिङले जिल्लाको पर्यटन प्रवर्द्धमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बलियो विश्वास उनमा छ। त्यसका लागि छुट्टै साइकलको सर्किट बनाउन सकिने उनले बताए।
‘यहाँका चर्चित धार्मिक स्थलहरूमा पुग्ने साइकल सर्किट बनाउन आवश्यक छ,’ केसीले भने।
हालसम्म जति साइकल टुरहरू जिल्ला वा जिल्लाबाहिर भए त्यसमा राज्यले कतै सघाएको छैन। साइक्लिष्टहरूले आफैं मिलेर त्यो सबै गर्दै आएका छन्। त्यसमा केसीले भने, ‘थोरै सहयोग गरे सुनमा सुगन्ध हुने थियो। स्वच्छ वातावरण र निरोगी नागरिक बनाउने दायित्व राज्यको पनि हो।’
बिहान सधैं डेढदेखि दुई घन्टा साइकल चलाउँदै आएको बताउने केसीले दाङका भित्र-भित्रसम्मका धेरै गाउँहरूमा साइकलबाट यात्रा गरिसकेका बताए।
रोल्पाजस्तो पहाडी जिल्लामा पनि उनले साइकलबाटै यात्रा गरेको अनुभव सुनाए।
साइकल चढेर रोल्पा पुग्दा भेट्ने धेरैले आश्चर्य व्यक्त गरेको केसीले बताए।
भविष्य प्यूठानको स्वर्गद्वारी र दाङकै धार्मिक एवम् पर्यटकीयस्थल मौलाकोटको पहाड पनि साइकलबाट नै चढ्ने योजना बनाएको केसीले बताए।
त्यसरी साइकल यात्रामा निस्किँदा उनीहरूको टिम पनि सँगै हुन्छ। साइकल प्रेमीहरूका बीचमा सल्लाह गरेर उनीहरू साहसिक यात्रामा निस्कने गर्छन्।
दाङको घोराही र तुलसीपुरका साइक्लिङको क्रेज बढ्दो छ। त्यो क्रम बाँके र सुर्खेतमा पनि विस्तारै बढ्दै गएको छ।
साइक्लिङ गर्नेहरूका बीचमा देशव्यापी रूपमा एउटा राम्रो सर्कल बनेको छ।
मंसिर महिनामा मात्रै केसी लगायतको टिम महेन्द्रनगरका साइक्लिष्टहरूको निमन्त्रणमा त्यहाँ पुगेर फर्केको छ। ‘हामीहरू त्यहाँबाट गर्भा दरबार पुगेर फर्किएका छौं,’ केसीले थपे, ‘त्यहाँ जाँदा कहिले हामीले साइकल बोक्यौं र कहिले साइकलले हामीलाई बोक्यो।’
केसीले दाङका तीन, नेपालगञ्जका तीन र महेन्द्रनगरका तीन जना गरी ६ जना साथीहरू साइकल चढेर गर्भा दरबारको महत्व उजागर गर्न गएको तर्क गरे।
दाङलाई साइकल सिटीको रूपमा विकास भइसकेको केसीले बताए।
केसीले भने, ‘भविष्यको लागि केही गरौं, भावी पुस्ताको लागि केही नगरे भोलिको पुस्ताले धिकार्ने छ।’
सरकारले सुरू गरेको भ्रमण वर्ष सन् २०२० लाई सार्थक तुल्याउन देशैभर साइकल सर्किट निर्माण गर्न जरुरी रहेको केसीले आवश्यकता औंल्याए।