दाङ तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठ र घोराहीका युवा रणबहादुर घर्तीको अपहरण तथा हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेकामध्ये बाबु-छोरीसहित आठ जना कारागार चलान भएका छन्।
जिल्ला अदालत सल्यानले अपहरण तथा हत्या काण्डमा संलग्नलाई ९ वर्षदेखि जन्मकैदसम्मको फैसला सुनाएको हो। पक्राउ परेकामध्ये तीन जनालाई अदालतले सफाइ दिएको छ।
घटना भएको साढे दुई वर्षपछि जिल्ला न्यायाधीश कुलप्रसाद केसीको इजलासले घटनाका मुख्य योजनाकार तुलसीपुर उपमहानगरपालिका-६ स्याउलीबजारका ३९ वर्षीय टीकाराम घर्तीलाई २० वर्ष कैदको फैसला सुनाएको छ।
अपहरण तथा शरीर बन्धक मुद्दामा दश–दश वर्ष गरी २० वर्ष जेल सजाय र ५० हजार जरिवानाको फैसला सुनाएको अदालतका स्रेस्तेदार दीपक पोखरेलले जानकारी दिए।
व्यापारी श्रेष्ठलाई अपहरण गर्न ‘हनी ट्रयाप’को रूपमा प्रयोग गरिएकी घर्तीकी छोरी १८ वर्षीया किशोरी पूजा घर्तीलाई अपहरण मुद्दामा दश वर्ष कैद सजाय तोकेको छ। पूजालाई ५० हजार जरिवानाको फैसला समेत सुनाइएको जिल्ला अदालतका स्रेस्तेदार पोखरेलले बताए।
बाबुछोरीबाहेक उक्त घटनामा संलग्नहरुमध्ये कमल भनिने अबिरल महरालाई ज्यान मुद्दामा पाँच वर्ष र अपहरण मुद्दामा थप ११ वर्ष सहित १६ वर्ष कारावासको सजाय तोकिएको छ। महरालाई ५० हजार जरिवाना पनि तोकिएको छ। रमेश भनिने मनबहादुर पुन, रुगत थापा, मानबहादुर भण्डारी र नारायण वलीलाई ज्यान मुद्दामा समान ५/५ वर्ष तथा अपहरण मुद्दामा थप १०/१० वर्ष गरी १५ वर्ष कारावासको सजायसँगै ५० हजार जरिवानाको फैसला भएको छ।
छोरी पूजालाई प्रयोग गरी घर्तीले व्यापारीलाई जंगलमा लगेर बन्धक बनाएको र मारेको अभियोग प्रहरीले लगाएको थियो।
तत्कालीन दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहसहितको प्रहरीको अनुसन्धान टोलीले व्यापारी श्रेष्ठ अपहरण र हत्या काण्ड घटनामा मुख्य योजनाकारसहित १४ जना संलग्न भएको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो। तीमध्ये ११ जनामात्रै हालसम्म पक्राउ परेका छन्। बाँकी तीन जना फरार सूचीमा छन्।
व्यवसायी श्रेष्ठलाई २०७४ साल जेठ २६ गते तुलसीपुरबाट अपहरण गरी सल्यान पुर्याइएको थियो। अपहरणको तीन दिनपछि जेठ २९ गते नै श्रेष्ठको हत्या भए पनि शव भने २२ दिनपछि मात्रै फेला परेको थियो। शव सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ४ झिम्पेको ओढारमा फेला परेको हुँदा मुद्दा पनि जिल्ला अदालत सल्यानले हेरेको थियो।
तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै दाङ घोराहीका अर्का युवा रणबहादुर घर्तीको पनि हत्या भएको थियो। तत्कालीन समयमा पोल खुल्ने त्रासले उनको हत्या गरिएको एसपी धिरजप्रताप सिंहले बताएका थिए।
‘श्रेष्ठलाई अपहरण गर्ने अपहरणकारीले घर्तीलाई अपहरण र हत्या गर्ने कुनै पूर्वयोजना नै नबनाएको खुल्न आएको छ,’ तत्कालीन एसपी सिंहले भनेका थिए ‘यात्राका क्रममा संयोगवस अचानक घटनास्थलमा घर्ती पुगेपछि गोपनियता खुल्ने त्रासले उनलाई पनि श्रेष्ठका अपहरणकारीले सँगसँगै लगेको देखिन आएको छ।’
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का तत्कालीन एसपी दिवेश लोहनीले पनि सोही कुरा बताएका थिए।
यसरी अपहरणमा परेका थिए घर्ती
‘दाङबाट आउँदै गरेका राजकुमार श्रेष्ठको कारलाई अपहरणकारीले ढुकेर बसेका बेला व्यापारको सिलसिलामा रुकुम जाँदै गरेका रणबहादुर घर्ती एक्कासी त्यहाँ पुगे,’ एसपी लोहनीले भनेका थिए, ‘अपहरणकारीलाई घर्तीले चिनेका रहेछन्, त्यही चिनजानका कारण पोल खुल्ने त्रासले घर्ती पनि अपहरणमा परेको खुलेको छ। नचिनेको भए घर्ती बच्न पनि सक्थे।’
२०७४ जेठ २६ गते साँझ साढे ६ बजेतिर तुलसीपुरबाट ‘हनी ट्रयापर’को रुपमा पूजालाई प्रयोग गरी घर्तीको अपहरण भएको थियो। सोही समयमा घोराहीका युवा व्यापारी रणबहादुर घर्ती रूकुममा काम गरिरहेको डोजरको रकम संकलन गर्न तथा अन्य व्यापारिक कामका लागि त्यता जाँदै थिए।
उनी भारतीय नम्बर प्लेटको गाडी चढेर त्यता गइरहेका थिए। साँझ ८ बज्दै गर्दा सल्यानको कपुरकोट बजारभन्दा झन्डै ४ किलोमिटर पर जंगल पुग्नेबित्तिकै घर्ती चढेको कारलाई अपहरणकारीको एउटा समूहले बीचमा रोक्यो।
त्यो कार राजकुमार श्रेष्ठको ठानेर अपहरणकारीले रोकका थिए।
‘कार रोक्नेमध्ये एकजनालाई घर्तीले सोल्टी मलाई चिन्नुभएन, भन्दै परिचय दिए, त्यसपछि पोल खुल्ने त्रासले उनलाई सो समूहले अपहरण गरेको अनुसन्धानमा खुलेको छ,’ तत्कालीन समयमा एसपी सिंहले भनेका थिए।
ती अपहरणकारीले घर्ती सवार कारमा सँगै रहेका दुई भारतीय नागरिकलाई भने छाडेका थिए।
घर्तीको शव तुलसीपुरका श्रेष्ठको शव फेला परेकै जंगलमा २८ दिनपछि फेला परेको थियो। सुरूमा प्रहरीले हत्या गरिएका घर्तीलाई पनि श्रेष्ठको अपहरणमा संलग्न रहेको हुन सक्ने आशंका गरेको थियो।