उमेरले नौ दशक काट्दा पनि उनी जोशिला छन्। बोली उत्तिकै कमाण्डिङ छ जति प्रहरी प्रमुख हुँदा थियो।
समय बलवान् छ, जित्न सकिन्न बरू आफूअनुकूल ढाल्न सकिन्छ।
यो सिद्धान्त ९२ वर्षीय नेपाल प्रहरीका पूर्वप्रमुख खड्गजित बरालभन्दा बढी कसले लागू गरेको होला र!
अहिले पनि उनी हरेक दिन हरेक क्षण सक्रिय हुन्छन्। ध्यान, योग, प्रणायम र व्यायामलाई दैनिकीको अभिन्न अंग बनाएर उनले बूढ्यौलीलाई पनि लोभलाग्दो पारेका छन्।
केही दिनअघि महाराजगञ्जस्थित उनको निवासमा मैले सोधें- तपाईंको दैनिकी कस्तो छ?
बराललाई यो प्रश्न सोध्ने म पहिलो रहेनछु। परिवार, नातेदार, शुभचिन्तक सबैले उनलाई यही प्रश्न तेर्स्याउँदा रहेछन्।
उनको जवाफ भने धेरैले अनुमान गरेभन्दा फरक आउँछ।
‘मलाई त यो समय थोरैजस्तो लाग्छ। ९२ वर्षको उमेरसम्म पुग्नु यही एउटा ठूलो कुरा हो। धेरै गर्नुछ समय थोरै छ,’ बरालले भने।
के गर्न समय थोरै भयो?
‘पहिला १० मिनेटमै कपडा फेर्न सकिन्थ्यो अहिले १ घन्टा लाग्छ। बाथरूममा पहिले १० मिनेटमा हुन्थ्यो भने अब अहिले १ घन्टा बढी लाग्छ,’ उनले भने,‘अलिअलि भए पनि हिँड्नै पर्यो, एकै ठाउँमा डल्लेर बसेर पनि भएन। मलाई त २४ घन्टाको दिन पनि छोटो लाग्छ।’
उनी अचेल पनि दिनहुँ परेड खेल्छन्।
आधा घन्टा सकिने परेड अहिले २ घन्टामा पूरा हुन्छ।
‘मेरा लागि त यो २४ घन्टा बडा छोटो भएको छ। समय बिताउने तरिका त्यही हो,’ बरालले हाँस्दै भने,‘भगवानले के माग्छस् भनेर सोधे ६० वर्ष कटेकालाई ४८ घन्टा दिन बनाइदिनुस् भन्थे।’
९२ वर्षमा उनले जति क्षेत्रमा काम गरे सायदै मानिसले त्यति काम गर्छन्।
सनातन धर्ममा विश्वास गर्ने बराल सबै ईश्वरको देन भएको र मनुष्य चोलामा गर्नुपर्ने काम भएकाले आफूले गरेको बताउँछन्।
धेरैले उनलाई पूर्वआइजिपी भनेर चिन्छन् तर उनको योगदान राजनीतिदेखि कूटनीतिसम्म छ।
उनी नेपालको प्रजातान्त्रिक आन्दोलनमात्र होइन भारतको स्वतन्त्रता संग्राममा पनि सहभागी भए।
राणा शासनविरूद्ध कांग्रेसले सुरू गरेको सशस्त्र आन्दोलनमा उनी मुक्ति सेनाका सिपाही थिए।
‘कांग्रेसले एकतन्त्रीय शासनको बर्खिलापमा आन्दोलन गरेको थियो। त्यही आन्दोलनका लागि मैले बुवासँग रहेको दुईनाले बन्दुक चोरेर आएँ। त्यो बन्दुक मेरा हजुरबुवाले बेलायतबाट ल्याउनुभएको थियो,’ बरालले विगत सम्झिए,‘राणाको फौजसँग तीन पटक टक्कर भयो। मुक्ति सेनामा थोरै समयमा धेरै काम गरियो।’
बरालहरू राणा शासनको पूर्ण अन्त्य गर्ने भनेर मुक्ति सेनामा लागेका थिए। एकदिन भारतमा राजा, राणा र कांग्रेसबीच सहमति भएको खबर सुनियो। प्रजातन्त्र आयो भनेर कांग्रेसले आन्दोलन रोक्ने भयो।
त्यतिबेला बराल २४ वर्षका थिए। उनलाई लाग्यो- सम्झौतामा पुगेर आन्दोलन रोकियो।
उनलाई जस्तो लाग्ने अरू पनि थिए। असन्तुष्टहरू प्रतिरोधमा उत्रिए।
२००७ साल फागुन ८ गते काठामडौंमा तत्कालीन राजा त्रिभुवनले घोषणा गर्ने तयारी गरिरहेकै बेलामा उता मुक्ति सेनाले भैरहवा कब्जा गर्ने योजना बनायो।
‘हामीले त्यो २००७ सालको सहमति स्वीकारेनौं। रेडियोले फुक्यो- लौ अब सन्धी भयो। त्यो बेला नेपाली कांग्रेस, राजा र राणाबीचमा सहमति भयो। जसअनुसार राणा प्रधानमन्त्री हुने र राणा र कांग्रेसका तर्फबाट ५० पचास प्रतिशत मन्त्री बन्ने भन्ने भयो,’ 'बरालले भने, ‘हामीले राति मिटिङ गरेर विरोध गर्यौं। यो गलत कुरा हो। किनभने बहरगनिया घोषणाको उल्लंघन भएको थियो। त्यो घोषणाले ‘करो या मरो’ भनेको थियो।’
डेढ-दुई सय मुक्ति सेनाले भैरहवामा आक्रमण प्रयास गरे तर उनीहरू असफल भए। त्यसपछि ती सबैलाई जेलमा हालियो।
झन्डै तीन महिनापछि बरालसहितका युवा छुटे तर राजानीति गतिविधि नगर्ने सर्तमा।
गोरखपुरमा रहेका बाबुसँगै बसेर उनले पढाइलाई निरन्तरता दिए। एमए पास गरेर नेपाल फर्किए।
२०१३ सालमा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भए। छोटो अवधिमा नेपाल प्रहरीको उच्च पदमा समेत पुग्न सफल भए।
२०३४ सालमा अवकास पाएका बराल ६ वर्ष नेपाल प्रहरीको प्रमुख भएका थिए।
‘म आइजिपी हुँदासम्म पनि धेरै प्रहरी सार्वजनिक पाटीपौवामा बस्थे। मेरै कार्यकालमा प्रहरीका लागि नेपाली वास्तुकला र मौलिकता झल्किने गरी आफ्नै भवन बनाउन सुरू भएको हो,’ उनले भने,‘प्रहरीका लागि रासनको व्यवस्था थिएन, ड्रेस आफैंले किन्नुपर्थ्यो। त्यसको पनि व्यवस्थापन गरें। मेरो कार्यकालमा प्रहरीका लागि गास बास र कपासको व्यवस्था गर्ने पद्धतिको सुरू भयो।’
सबै काम आफूलेमात्रै गरेको भनेर जस भने नलिने उनले बताए।
उनी प्रहरी प्रमुख हुँदा मेलमिलापको नीति लिएर बीपी कोइराला र गणेशमान सिंहलगायत नेता नेपाल फर्किए। बरालले त्यो बेलामा नेताहरूलाई जेलमा नलगी प्रहरी तालिम केन्द्रमा राखेका थिए।
गणेशमान सिहंले आफ्नो आफ्नो आत्मकथामा समेत बरालको यो कदमको प्रशंसा गरेका छन्।
‘मैले दरबार गएर बीपीको स्वास्थ्य राम्रो छैन छिटोभन्दा छिटो इलाज गरिएन भने राम्रो हुँदैन भनेर बिन्ती गरें,’ बरालले भने, ‘त्यो बेला दरबारले पनि उदारता देखायो अनि बीपीको उपचार सम्भव भयो।’
प्रहरी सेवाबाट अवकास लिएपछि उनी बर्माका लागि नेपाली राजदूत नियुक्त भए। २०३८ सालको राष्ट्रिय पञ्चायतको सांसद चुनिए।
बराल आफ्नो कूटनीतिक र राजनीतिक भूमिकाबाट समेत सन्तुष्ट छन्।
उनी खेलकुदमा समेत चासो राख्छन्। नेपालमा बक्सिङ र हकी आफैंले भित्र्याएको बरालको दाबी छ।
सन् १९९१ मा उनी संयुक्त राष्ट्रसंघको शान्ति स्थापना मिसनका लागि कम्बोडिया गए। साढे २ वर्ष त्यहाँ बस्दा निर्वाचन गराउने काममा महत्वपूर्ण भूमिका खेलेको उनले बताए।
९२ वर्षमा बराल स्वस्थ छन् र मस्त पनि।
स्वस्थ यस अर्थमा कि उनलाई उमेरअनुसार हुने सामान्य प्रेसर र सुगरबाहेक अरू केही बिराम छैन।
‘अहिले मेरो स्वास्थ्य मेरो हिसाबले ठीक छ। बुढेसकालमा आइलाग्ने चुनौती जसलाई पनि हुन्छ। अलिकति प्रेसर बढ्ला तर त्यो धेरै होइन। अलिकति सुगर भन्ने छ तर ठूलो होइन। स्वास्थ्यको हिसाबले आफूलाई धेरै राम्रो मान्छु,’ उनले भने।
उनी मस्त छन् किनकी व्यस्त दैनिकीले उनलाई समय छोटो लाग्छ। आफूलाई चित्त बुझ्ने कुनै प्रसंग आउनसाथ उनी खुलेर हाँस्छन्। लोभै लाग्ने गरी!
बराल आफ्नो अहिलेको जीवनलाई भदौको सेतो बादलसँग तुलना गर्छन्।
‘भदौमा लाग्ने सेतो बादलले त्यो बेलाको हरियो फाँटलाई नियालेर भन्छ रे- मैले असार-साउनमा गरेको योगदानले अहिले यस्तो भएको छ,’ उनले भने, ‘अहिलेको मेरो जीवन पनि त्यस्तै हो किनकी मैले जति गरें पछुताउन पर्ने केही छैन। जे सकें त्यो गरें जति गरें राम्रो गरें।’
नेपाल प्रहरीबाट अवकास पाएको ४२ वर्ष भइसक्यो तर उनलाई प्रहरीको माया झन् बढ्दै गएको छ।
उनलाई लाग्छ- नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप भएन भने विश्वकै सबैभन्दा उत्कृष्ट बन्न नसक्ला तर कोहीभन्दा कमजोर भने हुँदैन।
प्रहरीको तालिम केन्द्र महाराजगञ्जबाट सार्न लागिएकोमा बराललाई सबैभन्दा बढी चित्त दुखेको छ।
जनतासँगै रहनु पर्ने प्रहरीलाई जनताबाट टाढा पुर्याउन खोजेर निरिह बनाइएको उनको बुझाइ छ।
‘मेरो समयको प्रहरी र अहिले धेरै फरक छ। युग फेरिएको छ। प्रहरी भन्ने कुरा अलग्गै कही आइल्याण्डमा थोडै छ र! यहीँ हामीभित्रै छ नि। त्यो प्रहरीलाई कता पठाइदिने अरे,’ बरालले भने,‘राष्ट्रपतिलाई घर चाहियो अनि प्रहरीकै घर लिने रे। विचरा निरिह प्रहरी!’
प्रहरी २४ सै घन्टा सबैलाई चाहिने भएकाले समाजभन्दा बाहिर पठाउन नहुने उनको बुझाइ छ।
उनी भन्छन्- प्रहरीलाई समाजभन्दा टाढा पठाएर समाजको हित हुन सक्दैन। यो त समाजलाई चाहिने कुरा हो। प्रहरीलाई घर समाजकै आडमा राख्नुपर्छ। प्रहरीले समाज चिन्नुपर्छ। तब मात्रै उसले जनताको सेवा गर्नसक्छ।
कतिपय उच्चपदस्थ अधिकारीहरु अवकासपछि निरास बन्छन्। उनीहरूलाई विगतको मानसम्मानको झल्को आइरहन्छ। यस मामिलामा बरालको बुझाइ फरक छ।
‘आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्यो भने सहज हुन्छ। जसले जस्तो कर्म गर्यो त्यस्तै फल पाउँछ भनेको यही भएर हो,’ उनले भने।
हक्की स्वभावका बराल साकाहारी हुन। कट्टर पनि होइनन् तर आफूलाई साकाहारी नै भन्न रुचाउँछन्। सागको त उनी सौखिन नै हुन्।
रायो, पालुंगो, मेथी अनेकथरी साग उनी खोज्दै पनि हिँड्छन्। मौसमअनुसारको सागबिना उनी खाना खाँदैनन्।
ध्यान योगमा उनको सानैदेखिको लगाव हो, जुन आज पनि जारी छ। ७-८ कक्षा पढ्दादेखि नै उनले ध्यान योगा सिकेका हुन्।
‘७-८ कक्षामा पढ्थें होला गर्मी बिदा हुने दुई महिनाको समयमा मलाई बुवाले घरमा नगइकन गोरखपुरमै योग कक्षामा राखिदिनुभयो,’ बरालले विगत सम्झँदै भने,‘बुवाले मलाई बिदामा घर नजा औलो लाग्छ भन्नुभयो त्यसपछि मलाई आरोग्य मन्दिरमा भर्ना गरिदिनुभयो त्यहाँ, दुई महिनामा योगको प्रारम्भिक अभ्यास सिकाइन्थ्यो।’
त्यो बेलामा सिकेको योग अभ्यासलाई उनले अहिले पनि पच्छ्याइरहेका छन्,अहिले अझै वैज्ञानिक तरिकाले गर्ने गरेका छन्। योगले उनलाई यो उमेरमा सन्तुष्ट बनाएर बाँच्न सिकाएको छ।