कीर्तिपुरको पांगा दोबाटो नजिक भेटिएको शंकास्पद वस्तु ‘ह्याण्ड ग्रेनेड’ बम भएको प्रहरीले पुष्टि गरेको छ।
सो बमलाई अहिले सेनाको डिस्पोजल टोलीले निष्कृय गरिसकेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले जानकारी दिए।
शुक्रबार साँझ साढे पाँच बजे पांगा दोबाटोस्थित तरकारी बजारको पछाडितिर फोहोरसँगै प्लास्टिकको ह्याण्ड ग्रेनेड भेटिएको थियो।
शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेता थिए। त्यसपछि प्रहरीले सेनाको डिस्पोजल टोलीलाई खबर गरेको थियो।
'प्लास्टिकको ह्याण्ड ग्रेनेड भेटिएको हो' कामतीले भने,' कसैले फोहोर फाल्दा सँगै फालेछन्।'
उनका अनुसार उक्त बम निकै शक्तिशाली हुने र घाइते बनाउन सक्ने बताइएको छ।
कसले फालेको हो? त्यसबारे थप अनुसन्धान भइरहेको कामतीले बताए।