रानीपोखरीको पुल, पोखरी, मन्दिर एवं सौन्दर्यीकरणको काम एकैसाथ भइरहेको छ। वैशाख अन्तिमसम्म बनाइसक्ने योजना पुनर्निर्माण प्राधिकरण अन्तर्गतको उपभोक्ता समितिको छ।
अहिले पोखरी बीचमा इँट्टाको सोलिङ गरिरहेको देख्न सक्छौं। पोखरी मात्रैको काम भने पुस अन्त्य वा माघ सुरूआतसम्ममा सकिने समितिका राजुमान मानन्धरले जानकारी दिए।
१९ वटा 'आर्क ब्रिज' बनाउन पर्नेमा अहिले १७ वटा बनिसकेका छन्। त्यसमा पर्खाल लगाउने लगायत गरी ७० प्रतिशत काम सकिएको उनी बताउँछन्।
'वरिपरिका पर्खालको काम ८५ प्रतिशत जति सकेर त्यसै राखिएको छ। बाटो छेउको पर्खाल भत्किने सम्भावना भएकाले पछि बनाउने,' उनले भने।
पर्खाल लगाउनुका साथै माटो मुछने काम पहिले भक्तपुरका दिदीहरूले गरिरहेका थिए। खुट्टाले माटो मुछेर साध्य भएन। समय र पैसा धेरै खर्च हुने देखिएपछि मेसिनबाट मुछने निर्णय भयो। तर मेसिन बनाइदिनुपर्ने मान्छेले समय लगाए। भक्तपुरमा बरम्बार गएर बुझ्दा पनि नबनेको हुँदा उनीहरूले डोजरलाई अन्तिम विकल्प बनाए।
'माटो तुरुन्तै चाहिने भएकाले डोजर ल्याएर मुछेका हौं। त्यसलाई पोखरीमा भने हातले नै हालिरहेका छौं,' मानन्धरले भने, 'सामान यताबाट उता ओसार्न, कालोमाटो ढुवानी गर्न अहिले पनि डोजर नै प्रयोग गरिरहेका छौं। मान्छेले माटोमाथि इँटाको तह मिलाइरहेका छन्।'
यसअघि निर्माण जिम्मा पाएको काठमाडौं महानगरपालिकाले पोखरीभित्रको पश्चिमी भागमा सिमेन्ट ढलान गरेको थियो। यो भत्काएर पुर्नेदेखि पोखरीमा उम्रेका घाँस निकालेर पोखरीलाई 'ग्राउन्ड जिरो' मा ल्याइएको थियो। त्यो भनेको पोखरीको सतह मिलाएर कालोमाटो हाल्ने तयार पारिएको हो। पोखरीमुनि बालुवा भएकाले सुरूमा त्यसलाई मिलाइएको र दुई तह कालोमाटो हालिएको मानन्धरले बताए।
कालोमाटोलाई नेवार भाषामा 'द्यःचा' भनिन्छ, अर्थात् गुणकारी वा 'ईश्वरको माटो'। कालोमाटोले पानी चुहिएर जान दिँदैन। यसमा पानी अड्याइराख्ने क्षमता हुन्छ।
'छेउमा १८ इन्च र बाँकी १५ इन्चको कालोमाटो हालेका हौं। माथि माअप्पा (प्राचीन इँट्टा) को सोलिङ गरिरहेका छौं। इँट्टा बिग्रन सक्ने भएकाले त्यसलाई पानीले भिजाएका छौं,' उनले भने, 'वरिपरिका १५ प्रतिशत जति पर्खालको काम भने पछि मान्छे लगाएर नै गर्नेछौं।'
अहिले पोखरीका लागि गोकर्ण, भक्तपुर, मध्यपुर थिमी लगायत ठाउँबाट माटो आइरहेको छ। माटो निरन्तर आइरहने हो भने पोखरी बन्न धेरै समय लाग्दैन।
पोखरीमा पानी भर्न बोरिङ गर्न पनि प्राधिकरणले निर्माण व्यवसायीसँग कुरा गरिरहेको छ। मानन्धरका अनुसार पोखरीको पूर्व दक्षिण कुना र दरबार हाईस्कुलको उत्तर पश्चिम कुनामा खन्ने योजना छ। त्योबाहेक टुँडिखेल र एक लाइन पानी मेलम्चीबाट पनि ल्याइनेछ। मेलम्चीबाट ल्याइने पानीले वाष्पीकरणबाट खेर जाने पानीको क्षतिपूर्ति गर्नेछ।
त्यसका साथै, मन्दिर वरिपरि सौन्दर्यीकरणको काम पनि सुरू भइसकेको छ। दक्षिण र पश्चिमपट्टी फुटपाथ बनाउने र बत्ती जडान गरिँदैछ। बालगोपालेश्वर मन्दिरको काम भने करिब १० प्रतिशत जति मात्रै सकिएको छ।
मन्दिर प्रताप मल्लकालीन शिखर शैलीमा निर्माण हुँदैछ जसको नक्सांकन् सन १८४५ मा प्रुसियाका राजकुमार वाल्डमारका साथमा आएका चित्रकारले बनाएको स्केच हेरेर बनाइएको हो।
सन् १९५१ मा जंगबहादुर राणाले बालगोपालेश्वरलाई युरोपेली प्रभावमा गुम्बज शैली दिएका थिए। ९० सालको भुइँचालोपछि जुद्धशमशेरले त्यही स्वरूपमा पुनर्निर्माण गराएका थिए। प्राधिकरणद्वारा गठित विज्ञ टोलीले मन्दिर प्रताप मल्लकालीन शैलीमै बनाउन सिफारिस गरेको हो।
पोखरीको डिलसम्मको काम पुनर्निर्माण समिति र मन्दिर अनि पुल हाल्ने, बत्ति जडान गर्ने लगायत बाहिरका काम ठेकेदारले गरिरहेका छन्।
'मन्दिरभन्दा अघि नै पोखरी बन्ने भएकाले स्थानीयले पुलबाट ओहोरदोहोर गरेर हेर्न पाउनेछन्,' मानन्धरले भने।