गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले करिब ९६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
भिजिट भिसामा नेपाल आई यहीँ कार्यालय खोलेर गैरकानुनी गतिविधि गरेको पाइएपछि ती चिनियाँ नागरिक पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले बताए।
केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त ब्युरोले पक्राउ गरेको उनले बताए।
परिसरले ‘विशेष अपरेसन’ नै चलाएर सोमबार बूढानीलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट ९६ जना चिनियाँ पक्राउ गरेको सुवेदीले बताए।
‘अहिलेसम्म पक्राउ परेका ९६ जना सबै चिनियाँ नागरिक भएको पहिचान भइसकेको छ,’ सुवेदीले भने।
चिनियाँ नागरिक पछिल्लो समय बैंकको सिस्टम ह्याकिङ प्रकरणमा जोडिएपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो।
चिनियाँ नागरिकले गरेको गैरकानुनी गतिविधिबारे भने प्रहरीले खुलाइसकेको छैन।
पक्राउ गर्ने क्रम जारी रहेकाले अहिले नै कसूर खुलाउन नसकिएको सुवेदीले बताए।
‘भिसा सकिएपछि पनि नेपालमा बस्ने र गतिविधि गर्ने गरेको पाइएको छ, कसको के गतिविधि छ हामी सार्वजनिक गर्छौं,’ उनले भने।