कारोबारीले नेपाललाई ‘ट्रान्जिट’ बनाएर हङकङमा लागुऔषध कोकिन तस्करी गर्ने गरेको खुलेको छ। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले नेपाल ल्याएर हङकङ तस्करी गर्न लागेको छ किलो कोकिन पक्राउ गरेपछि त्यसको नेपाल ‘ट्रान्जिट’ पत्ता लागेको हो।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार छ किलो कोकिनसहित चार विदेशी पक्राउ परेका छन्। छ किलो कोकिनको नेपाली मूल्य झन्डै १६ करोड पर्छ।
महंगो मूल्य पर्ने कोकिन नेपाल ‘ट्रान्जिट’ भएर विदेश तस्करी हुने गरेको यस घटनाबाट पत्ता लागेको ब्युरोका अधिकारीले बताए। ‘महंगो मूल्य पर्ने भएकाले कोकिन विकसित मुलुकमा बढी प्रयोग हुन्छ, भरियाले त्यतै तस्करी गरेर लैजान जोड गरेको पाइयो,’ ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यले भने।
पक्राउ पर्नेमा बोलिभियन नागरिक रोबर्टो कार्लोस, राहुल जम्बाना ओर्डोनेज र बेलारूसका एलिना आल्डोस्याना र पाभेल भासिल्येउ रहेका छन्।
चारै जना भरिया हुन्। उनीहरूलाई आइतबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
ब्युरोका अनुसार बोलिभियन नागरिकद्वयले यो कोकिन नेपालसम्म ल्याएको खुलेको छ। सोही कोकिन हङहङ लैजान बेलारूसका नागरिक काठमाडौं आएको देखिन्छ।
‘ब्राजिलबाट नेपाल उडेका भरिया र नेपालबाट हङकङ जान छुट्टाछुट्टै व्यक्तिको प्रयोग भएकाले नेपालमा कोकिन ट्रान्जिट गराउने समूह नै सक्रिय छ भन्ने आशंका हाम्रो छ,’ अमात्यले भने।
अनुसन्धान अनुसार बोलिभियन नागरिक १३ डिसेम्बरमा ब्राजिलबाट नेपालका लागि उडेका थिए। त्यहाँबाट इथियोपिया, दिल्ली हुँदै १९ डिसेम्बरमा नेपाल आइपुगेको पत्ता लागेको छ। नेपाल आएपछि उनीहरू लाजिम्पाटको होटल लष्ट गार्डेनमा बसेका थिए।
बेलारूसका २१ वर्षे ती दुई भरिया १८ डिसेम्बरमा त्यहाँबाट हिँडेका थिए। १९ डिसेम्बरमा काठमाडौं आइपुगेका उनीहरू २१ डिसेम्बर अर्थात् शनिबार काठमाडौं विमानस्थलबाट हङहङ उड्न खोजेका थिए। दुबै जना काठमाडौं आइपुगेको सो कोकिन हङकङ पुर्याउने योजनामा थिए।
हङहङ उड्ने तयारीमा रहेका बेलारूसका नागरिकलाई प्रहरीले पक्राउ गरेपछि कोकिन नेपाल ल्याउने बोलिभियन नागरिकको पत्तो लागेको थियो।
अमात्यका अनुसार कोकिनलाई नचिनिने गरेर ज्याकेटमा फल्स बटम बनाएर सुटकेसमा ल्याइएको थियो। सुटकेसभित्र रहेका छ वटा ज्याकेट उधारेर हेर्दा कोकिन भेटिएको थियो।
कोकिन युरोपियन मुलुकमा बढी खपत हुन्छ। अफगानिस्तान, कोलम्बियालगायत दक्षिण अमेरिकी मुलुकमा यसको बढी उत्पादन हुने प्रहरीको दाबी छ।
तर, त्यहाँ उत्पादन हुने कोकिन तस्करी ट्रान्जिट भने नेपाल पनि देखिएको छ। यसअघि पनि प्रहरीले तीन किलो कोकिन त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो।
प्रहरीले तीन किलो लागूऔषध कोकिनसहित बोलिभियन नागरिकलाई केही दिनअघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो।
फ्लाई दुबईको फ्लाइटबाट काठमाडौं आएकी बोलिभियन नागरिक ४१ वर्षया हेरेरा आर्टेगा ओल्गालाई मंगलबार बिहान ब्युरोको टोलीले पक्राउ गरेको थियो। त्यो कोकिन कहाँबाट आयो भन्ने स्पष्ट खुलिसकेको छैन। तर, बोलिभियन नागरिक पक्राउ परेकाले प्रकृति उस्तै रहेको अनुमान प्रहरीको छ। तर, शनिबार पक्राउ परेकासँग ‘सम्बन्ध’ देखिएको छैन।
‘लागुऔषध नियन्त्रण ऐनअनुसार यी विदेशीमाथि अनुसन्धान थालिएको छ,’ अमात्यले भने।