सिस्नेरी बेसक्याम्पका प्राविधिक सेनानी राजेशकुमार देवले ब्लाष्टिङका लागि निगरानी गरिरहेका छन्। सुरक्षित ब्लाष्टिङ गराउन आफ्नो टोली परिचालन गर्ने उनकै जिम्मेवारी हो। जटिल भुगोल भएकाले यो क्षेत्रमा सेना आफैंले सडक खन्ने काम गरिरहेको छ। यो क्षेत्रमा १ सय २० मिटरसम्मको पहाड काट्नु पर्नेछ भने सडकलाई ४३ मिटरसम्मको उचाइमा उठाउनु पर्नेछ।
मख्खुबेसी बेसक्याम्पका प्राविधिक सेनानी अजित श्रेष्ठ पनि पहाड 'कटिङ' र 'फिलिङ'को काममा व्यस्त छन्। सडक निर्माणसँगै पाइप, कल्भर्ट र बक्स कल्भर्ट निर्माणको काममा खटिएका छन्।
रातको आठ बज्नै लागेको छ। नेपाली सेनाका प्राविधिक सेनानी पूर्णचन्द्र ढकालसहितको टोली भने स्काभेटरसँगै छन्। दुइटा स्काभेटरले माटो खनिरहेका छन्। केही पर अरू अरू दुई स्काभेटरले माटो खन्न लागिरहेका छन्। अर्कोतिर बिहानैदेखि सेनाका जवानले काठ चिह्रिरहेका छन्।
यो दृश्य गत साता मकवानपुरको महादेवटारमा देखिएको हो।
यहाँ काठमाडौं तराई मधेस द्रुतमार्ग(फास्ट ट्रयाक) निर्माणको काम भैरहेको छ। बुदुने बेस क्याम्पका प्राविधिक सेनानी अरविन्द्र श्रेष्ठ र राजदमार बेस क्याम्पका प्रविधिक सेनानी पुरूषोत्तम कार्कीलाई पनि उत्तिकै चटारो छ। त्यसो त नेपाली सेनाले स्थापना गरेको दस वटै बेस क्याम्पका प्रमुखको अधिकांश समय सडकमै बित्छ।
आफ्नो क्षेत्रभित्र पर्ने कल्भर्ट बनाउने 'कटिङ' र 'फिलिङ'को काम असारभन्दा अगाडि नै सक्ने प्रविधिक सेनानी पुरूषोत्तम कार्कीले बताए।
खोकनादेखि सुरू हुने फास्ट ट्रयाकमा पुरातात्त्विक सम्पदा सिकाली मन्दिरका कारण स्थानीयले अवरोध गरेपछि फास्ट ट्रयाकको साविकको बाटो बदलिएको छ।
सुरूमा एसियाली विकास बैंक(एडिबी)को प्रस्तावित रेखांकनले यही क्षेत्रबाट सडक निर्माण हुने उल्लेख थियो। तर अहिले स्वीकृत विस्तृत सम्भाव्यता अध्ययन(डिपिआर)मा सिकाली मन्दिर क्षेत्रलाई जोगाउन बागमती नदीमा पुल हालेर किनारबाट सडक लगिने द्रुतमार्ग आयोजना कार्यान्वयन तथा अपरेशन महाशाखा प्रमुख प्राविधिक प्रमुख सेनानी विश्वबन्धु पहाडीले सेतोपाटीलाई बताए।
यो क्षेत्रमा भने अझै सडकको काम हुन सकेको छैन। तर यो क्षेत्रको नजिकै रहेको फसीडोलदेखि भने काम सुरू भएको छ। फसीडोलदेखि तल भने सबै ठाँउमा तीव्र गतिमा काम भइरहेको छ।
नेपाली सेनाले पुल र सुरूङबाहेक अरू ट्रयाक असारसम्म खोलिसक्ने योजना बनाएकोले सडकमा धमाधम काम भैरहेको प्रमुख सेनानी पहाडीले बताए।
'पुल र सुरूङबाहेकको ५५.५ किमि सडकको काम हामीले एकसाथ गरिरहेका छौं। अहिले ३० किमिभन्दा बढी सडकको ट्रयाक खुलिसकेको छ,' पहाडीले भने, 'असारसम्म सडकलाई ग्राभेलयोग्य बनाउने योजना छ।'
पहाडी भू-भागमा २५, समथरमा २७ मिटर चौडा हुने गरी सडक खनिरहेको उनले बताए।
राष्ट्रिय गौरवको यो आयोजना निर्माणका लागि सरकारले २०७४ वैशाखमा सेनालाई व्यवस्थापकीय जिम्मेवारी दिएको हो। त्यही वर्षको जेठ १४ गते यो आयोजनाको शिलन्यास भएको थियो भने साउनदेखि सेनाले काम सुरू गरेको थियो। सुरूमा सेनालाई ४ वर्षभित्र सक्ने गरी जिम्मेवारी दिइएको थियो। यद्यपी सरकराको यो वर्षको नीति तथा कार्यक्रममा पनि फास्ट ट्रयाकलाई अबको ५ वर्षमा सक्ने भन्ने वाक्य राखेको छ। आयोजनाको लागत १ खर्ब ५५ अर्ब छ।
५ वर्षमा ५ लाख बिरूवा हुर्काउने
नेपाली सेनाले सडक आसपासमा पर्ने रूख काट्ने काम पनि अन्तिम चरणमा पुर्याएको छ।
'सडकको मार्ग क्षेत्राधिकारमा पर्ने रूख काट्न वन मन्त्रालयसँग स्वीकृति लिइसकेका छौं। समथर भागमा १०० मिटर र पहाडी भेगमा ५० मिटर वरपरका रूख काट्नुपर्छ। ३८ हजार ६ सय ६४ रूख काट्नु पर्ने देखिएको छ,' पहाडीले भने।
अहिलेसम्म २७ हजार ६९ रूख काटेको सेनाले जनाएको छ।
एक रूख काटे बराबर २५ रूख रोप्नु पर्ने प्रावधान छ। यसका लागि सेनाले राजदमार र निजगढमा नर्सरी स्थापना गरेको छ। दुइटा नर्सरीमा १ लाख ८० हजार बिरूवा उत्पादन भइसकेको वृक्षारोपण कार्यदल प्रमुख एवम् प्रमुख सेनानी सुशीलकुमार कार्कीले बताए।
'५ वर्षमा ५ लाख बिरूवा हुर्काई सम्बन्धित डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्ने योजना बनाएका छौं,’ कार्कीले भने, ‘अहिलेसम्म ५ हजार बिरूवा रोपेर रेखदेख गरेका छौं। पुसभित्र डेढ लाख बिरूवा रोप्छौं।'
वृक्षारोपणका लागि डिभिजन वन कार्यालय बाराले ९१ हेक्टर जमिन आयोजनालाई हस्तान्तरण गरिसकेको प्रमुख सेनानी कार्कीले बताए। यसअघि सेनाले बाराकै कोल्हवी नगरपालिकाको सहजनाथ साझेदारी वन क्षेत्रमा ५ हजार बिरूवा रोपिसकेको छ।
पुलको काम १ र सुरूङको काम २ वर्षपछि
फास्ट ट्रयाकमा साना ठूला गरी ८७ पुल बनाउनुपर्छ। जसमध्ये १६ वटा पुल विशेष प्रकृतिका रहेका छन्। विशेष प्रकृतिका पुलको काम अर्को वर्ष पुसदेखि सुरू गर्ने र अन्य पुलको काम २०७७ भदौदेखि थाल्ने भनिएको छ।
सबै प्रकृतिका पुल २०८० मंसिरसम्म बनाइसक्ने भनिएको छ। यो आयोजनाको सबैभन्दा जटिल काम नै पुल निर्माणलाई लिइएको छ। कतिपय पुलको पिलर ८० मिटरसम्मको हुने अनुमान गरिएको छ।
त्यस्तै तीन वटा सुरूङको काम २०७८ जेठमा सुरू गरेर २०८१ वैशाखमा सम्पन्न गर्ने भनिएको छ। महादेवटारमा ३.३५५, धेद्रेमा १.६३ र लेनडाँडामा १.४३ किमि सुरूङ छ। प्रत्येक सुरूङ मार्ग दुई लेनको हुने प्राविधिक प्रमुख सेनानी पहाडीले बताए।
१० ठाउँमा क्याम्प
फास्ट ट्रयाकको काम गर्न १० ठाउँमा सेनाको क्याम्प राखेको छ। खोकना,मख्खुवेसी,सिस्नेरी,बुदुने,महादेवटार,धेद्रे,लेनडाँडा,राजदमार, वागदेव र निजगढमा सेनाका क्याम्प छन्। एउटा क्याम्पमा सय जनाको हाराहारीमा सैनिक छन्। नेपाली सेनाले जटिल भुगोल र कडा चट्टान भएको ठाँउमा आफैंले काम गरिरहेको छ। मख्खुबेसी, सिस्नेरी, लेनडाडा, बुदुने र निजगढमा सेना आफैंले सडक खन्ने काम गरिरहेको छ। निजगढ क्षेत्रमा पर्ने ९ किमि सडकलाई सेनाले ग्राभेलयोग्य बनाइसकेको छ।