बंगलादेशले अवैध तरिकाले भारतमा बसोबास गर्दै आएका बंगलादेशीहरुको नामावली माग गरेको छ।
भारतमा सन् १९५५ को नागरिकता ऐनलाई संशोधन गरेर हालै बनेको नागरिकता विधेयकले अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट अवैध रूपमा भित्रिएका गैर मुस्लिमलाई नागरिकता दिने छ।
सो नागरिकता विधेयक ल्याएकाले बल्झिएको आन्दोलनका कारण बंगलादेशका परराष्ट्रमन्त्री एके अब्दुल मोमेनले बिहिबार आफ्नो भारत भ्रमण रद्द गरेका थिए। मोमेनले बंगलादेशी नागरिक आफ्नो देशमा निर्धक्क साथ फर्कन सक्ने बताएका थिए।
बंगलादेशी नागरिकहरुलाई आफ्नो राष्ट्रमा फर्काउने बताए पनि उनले अन्य अवैध आप्रवासीहरु आए सोझो फर्काइदिने चेतावनी समेत दिएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।
मोमेनले आफ्नो व्यस्तताको कारण देखाउँदै भारत भ्रमण रद्द गरेका थिए। तर हिन्दुस्तान टाइम्सले स्रोतलाई उदृत गर्दै भारतको नयाँ नागरिकता विधेयककै कारण उनको भ्रमण रद्द भएको दावी गर्दै आएको छ।
उता मेमोनले भने विधेयकका सम्वन्धमा भारतको आन्तरिक मामिला बताउँदै बंगलादेशलाई केही असर नगर्ने बताएका थिए। नागरिकता कानून राज्य सभाबाट पारित भएदेखि सूरू भएको आन्दोलनका कारण भारतमा ६ जनाले ज्यान समेत गुमाइसकेका छन्।