सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ। दोलखा जिल्लाको कालीञ्चोक मन्दिर दर्शन गरी काठमाडौंतर्फ फर्कंदै गरेको बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सडकबाट ५०० मिटर तल खसेको थियो।
उक्त दुर्घटनामा १७ जना घाइते भएका र केहीको अवस्था गम्भीर रहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा इन्स्पेक्टर गणेश खनालले जानकारी दिए।
घटनामा मृत्यु हुने १४ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा सिन्धुपालचोक जुगल गाउँपालिका ७ का अन्दाजी २७ वर्षीय सुकबहादुर तामाङ, सोही ठाउँकी ३० वर्षीया रेश्मा तामाङ र ७ वर्षीया सबिना छन्।
त्यस्तै दोलखाको भिमेश्वर नगरपालिकाकी अन्दाजी ३७ वर्षीय जुनु माया तामाङ, सोही नगरपालिका ९ की २८ वर्षीया मञ्जु तामाङ र ४२ वर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
रामेछापको उमाकुण्ड गाउँपालिका ५ का २८ वर्षीय मेहेश तामाङ, भक्तपुर सूर्यविनायक नगरपालिका ८ का ३२ वर्षीय चिनु बस्नेत, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र उनकी श्रीमती मैया खत्री रहेका छन्।
त्यस्तै लिसंखुपाखर गाउँपालिका–४ की ५३ वर्षकी गङ्गामाया लामा र १५ महिनाकी रोशनी तामाङ, बलेफी गाउँपालिका–५ चिम्लिङ की ३७ वर्षीया फुलमाया तामाङ र दोलखा शैलुङश्वरी गाउँपालिका फस्कुका १० वर्षीया रञ्जित बस्नेतको दुर्घटनामा परी मृत्यु भएको छ।
एक जनाको सनाखत हुन बाँकी रहेको इन्स्पेक्टर खनालले जानकारी दिए।
'४-५ जनाको अवस्था अझै गम्भीर रहेको छ', इन्स्पेक्टर खनालले भने,'मृतकको संख्या बढ्न सक्छ, भन्न सकिन्न।'
सिन्दु सदाबहार अस्पतालमा एक जना, धुलिखेल अस्पतालमा दुई जना, हेम्स अस्पतालमा १३, काठमाडौं मेडिकल कलेजमा १ जनाको उपचार भइरहेको छ।
सहचालक विप्लव तामाङ घाइते छन् भने चालकको अवस्थाबारे भने थाहा नभएको उनले जानकारी दिए।
‘सहचालकका अनुसार टायरको हावा कम भएर दुर्घटना भएको हो’, सहचालकको भनाइलाई उद्धृत गर्दै उनले भने।