धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा बम विस्फोटमा परी मृत्यु भएका प्रहरी निरीक्षक अमिरकुमार दाहालको अन्त्येष्टि गरिएको छ।
उनको शव हेलिकप्टरबाट काठमाडौं ल्याएर शनिबार अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।
दाहाललाई प्रहरीले शोक सलामी पनि दिएको थियो।
शुक्रबार राति भएको बम विस्फोटमा घाइते दाहालको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको थियो।
दाहालको अन्त्येष्टिमा पूर्वप्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता झलनाथ खनाल पनि सरिक भएका थिए।
नेपाल प्रहरीका आइजी सर्वेन्द्र खनाल, एआइजी, डिआइजी, एसएसपीले पनि पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली दिए।
बम विस्फोटमा परी दाहाल, ४६ वर्षका राजेश्वर साह र उनका अन्दाजी २४ वर्षका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो।