काठमाडौं उपत्यकामा चल्ने स्कुल बसका लागि नयाँ नियम लगाउने तयारी भएको छ।
कार्यालय समयमा हुने सवारी अस्तव्यस्ततालाई मध्यनजर गर्दै नयाँ व्यवस्था गर्न लागिएको हो। जसअनुसार बिहान ९ बजे पछि स्कुल बसलाई चल्न नदिनेबारे प्रधानमन्त्री कार्यालयमा छलफल भएको छ।
प्रधानमन्त्री कार्यालयमा बिहीबार प्याब्सन, एन–प्याब्सन, हिसान, अभिभावक महासंघ, शिक्षक महासंघ, शिक्षा मन्त्रालयका अधिकारी र उपत्यका ट्राफिक महाशाखाका अधिकारीबीच यसबारे छलफल गरिएको हो।
यसबारे सबै पक्ष सकारात्मक देखिएको स्रोतले जनाएको छ। ‘९ बजे पछि चल्न नदिनेबारे छलफल भएको हो’ स्रोतले भने, ‘यसबारे सबै पक्ष सकारात्मक नै छन्, निर्णय भइसकेको अवस्था होइन।’
यसअघि पनि स्कुल बस ‘पिक आवर’, अघि नै स्कुल हाता भित्र पुग्नु पर्ने नियम बनाइएको थियो। तर, खासै कार्यन्वयनमा नआएपछि कडाईका साथ चल्न नदिने निर्णय गर्न लागिएको हो।