हुम्लामा हिमपातको कारण टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बा ५ ख ५३४४ नम्बरको टिपर नाम्खा गाउँपालिका ५मा सडकबाट चिप्लेर ७०० मिटर तल भीरमा खसेको हो। ‘यहाँ हिमपात भइरहेको छ, हिउँकै कारण सडकबाट चिप्लेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाउँछ’ जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले भने।
सो दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नाम्खा गाउँपालिकाका ४ याल्वाङका सावेल लामा र नाम्खा गाउँपालिकाका वडा नम्वर १ का स्थानीय सोनाम लामा रहेका छन्। दुर्घटनामा परेर नाम्खा–१ हेप्काका सोनाम तेजुङ र चालक घाइते भएका छन्। घाइते चालकको पहिचान खुल्न नसकेको सिंहले बताए।