जबरजस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। इटहरी उपमहानगरपालिका-२० का सनसाहेब फर्निच उद्योग सञ्चालक २४ वर्षीय राजेशकुमार मेहतालाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार उनलाई इटहरीमै लुकिछिपी बसिरहेको अवस्थामा मंगलबार पक्राउ गरिएको हो।
उनीमाथि छ महिनाअघि इटहरी-१९ मा एक युवतीलाई जबरजस्ती करणी गरेको आरोप छ। उनले जाहेरवाला युवतीलाई भारतीय नम्बरबाट ज्यान लिने धम्की दिने गरेका थिए।
‘फरार रहेर भारतीय नम्बरबाट फोन गरी जाहेरवाला युवतीलाई धम्की दिने गरेको युवतीले बताएकी छिन्,’ प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने।
उनका अनुसार मेहता भारततर्फ प्राय: बस्ने गर्थे। उनी केही समयअघि इटहरी आएको थाहा पाएपछि प्रहरी खोजीमा जुटेको थियो।
मेहतालाई जबरजस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।