ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि बढेको तनावलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको छ।
केहीबेरअघि सकिएको जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा दिउँसो तीन बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए।
उपाध्यायका अनुसार ट्रकको ठक्करबाट घाइते भएकी छात्रालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।
'सुर्खेतबाट सेनाको हेलिकप्टर आएर उनलाई काठमाडौं लैजाँदै छ,' उपाध्यायले भने।
कोहलपुरमा भएको के थियो?
बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छिन्, प्रगती चन्द।
सधैँझै आइतबार बिहानै उनका बुवा भे ६ प २७४० नम्बरको स्कुटरमा राखेर प्रगतीलाई विद्यालय पुर्याए।
१० बज्नै लागेको थियो। विद्यालयको गेटअगाडि प्रगतीलाई ओरालेर उनका बुवा अघि बढे।
कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयकै अगाडि प्रगतीलाई ठक्कर दियो।
उनका कलिला खुट्टा ट्रकका चक्काले कुच्चिए। जुत्ता एकातिर, मोजा अर्कैतिर। प्रगती चिच्चाइन्, छटपटाइन्।
आफ्नी साथीलाई ट्रकले किचेको देखेका विद्यार्थी आक्रोशित बने। ट्रकमा ढुङ्गा हान्न थाले, चालकलाई लखेटे।
त्यही क्रममा प्रहरी त्यहाँ पुग्यो। प्रहरीले संयमता अपनाएन उल्टै विद्यार्थीलाई कुट्न थाल्यो। ।
जसलाई भेट्यो उसैलाई प्रहरीले कुटेपछि विद्यार्थी स्कुलभित्र पसे। प्रहरीले पछ्यायो।
शिक्षकले प्रहरीलाई विद्यालय हाताभित्र प्रवेश गरेर विद्यार्थीलाई नकुट्न आग्रह गरे।
प्रहरीले कक्षाकोठाबाटै शिक्षक इन्द्र बिसी र केही विद्यार्थीलाई समेत तानेर लग्यो। शिक्षक ऋषि देवकोटाका अनुसार ८ देखि १० जना विद्यार्थीलाई प्रहरीले पक्राउ पछि लगेर थुनेको छ।
प्रहरीले अन्य केही शिक्षक र विद्यार्थीलाई पनि विद्यालयहाता भित्रै प्रवेश गरेर दुर्व्यवहार गरेको देवकोटाले सेतोपाटीलाई बताए।
साथी र शिक्षकमाथि प्रहरीको व्यवहार देखेर विद्यार्थी झनै एकाएक आक्रोशित बने।
विद्यालयमा झन्डै २ हजार ५ सय विद्यार्थी छन्। ती सबै एकैसाथ सडकमा निस्किएर नाराबाजी गर्दै प्रहरीमाथि जाईलागे।
ठीक त्यही समयमा बिहान कक्षा हुने प्लस टुका विद्यार्थीको पनि छुट्टी भयो। उनीहरू पनि प्रदर्शनमा मिसिए।
प्रहरीलाई उनीहरूले ढुङ्गा हान्दै लखेटे। प्रहरीले पनि ढुंगा फर्कायो।
स्कुले बालबालिकालाई ढुङ्गा नहान्न आग्रह गर्दा प्रहरीले नेपाली काँग्रेसका स्थानीय नेता कृष्ण कार्कीलाई लाठी प्रहार गर्यो।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीलाई पनि कुटपिट गर्यो। झन्डै तीन हजार विद्यार्थी र स्थानीयका अघि प्रहरीको जोर चलेन।
आक्रोसित विद्यार्थीले बजार बन्द गराउन थाले। यातायात बन्द गराए। ट्रकका आगजनी गरे।
आक्रोशित विद्यार्थीले प्रहरीलाई लखेटन् छोडेनन्। प्रहरी ब्याक हुँदै काहेलपुरस्थित आफ्नो कार्यालयसम्म पुग्यो।
त्यहीँ पुगेर पनि विद्यार्थीले ढुंगामुढा गरे। प्रहरीको क्यान्टिनमा आगजनी गरे। त्यसक्रममा प्रहरीले झन्डै दुई दर्जन पटक हवाई फायर गर्यो। त्यतिकै संख्यामा अश्रुग्यास हान्यो।
त्यसबाट ३ विद्यार्थीलाई रवरको गोली लाग्यो। शिक्षक ऋषि देवकोटाका अनुसार एकजना विद्यार्थीको घाँटी, अर्काको पाखुरा र अर्का विद्यार्थीलाई खुट्टामा रबरको गोली लागेको छ।
प्रहरी र विद्यार्थी बीचको झडपमा परेर थप दुई बालक पनि घाइते भएका छन्। सडकमा घाइते अवस्थामा फेला परेका विशाल खड्का र भूमिसरा डाँगीलाई रेडक्रसले अस्पताल पुर्याएको छ।
झडपमा परी इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीसहित थप सात जना प्रहरी पनि घाइते भएका छन्। घाइते हुने प्रहरीमा अमर खड्का, रवीन्द्र शर्मा, होमबहादुर खत्री, रष्मी पुन मगर, लक्ष्मीप्रसाद आचार्य, खुमबहादुर बिष्ट र धनबहादुर बिक छन्। उनीहरू सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
शिक्षक देवकोटाका अनुसार प्रहरीले अनावश्यक बल प्रयोग गर्न खोज्दा र संयमता नअपनाउँदा कोहलपुर तनावग्रस्त गरेको दाबी गरे।
कोहलपुरका पत्रकार चेतकान्त भट्टराईले पनि दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थीलाई सम्झाइबुझाइ शान्त पार्न प्रयास गर्नुको साटो अनावश्यक बल प्रयोग गर्दा एकाएक कोहलपुर अशान्त बन्न पुगेको बताए।
‘विद्यालयभित्र गएर विद्यार्थी र शिक्षकलाई तानेर ल्याउँदा विद्यार्थी आक्रोशित भएका हुन,’ पत्रकार भट्टराईले भने ‘ सबै बिगारेकै प्रहरीले हो। प्रहरीले आगो निभाउन छोडेर त्यसमा पेट्रोल हाल्ने गल्ती गर्यो।’
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने प्रहरीले सम्झाउनभन्दा बल मात्रै प्रयोग गर्यो भन्नु गतल हुने बताए।
उनले स्थानीय आक्रोसित भएपछि एकाएक माहोल बिग्रिएको तर्क गरे। त्यस्तै उनले घटनामाथि राजनीतिक करण गर्न खोजिएको हो कि भन्ने आशंकासमेत पैदा भएको टिप्पणी गरे।
‘तपाईंहरूले सबै जनता र राजनीतिक दललाई संयमता अपनाइदिन अपिल गरिदिनु पर्यो,’ प्रजिअ खड्काले भने, ‘जे भयो त्यसको अनुसन्धान हुन्छ, दोषीलाई कारबाही हुन्छ।'