तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन र साइक्लिङ रोड रेस हुने भएकाले मुख्य लेनमा सवारी साधन नचलाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
आज बिहान ७ बजेदेखि म्याराथन भइरहेको छ।
बिहान ७:०० बजेदेखि दशरथ रङ्गशालाबाट सुरू भएको म्याराथन कलंकी,बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी हुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। सो रुटको मुख्य लेनमा सवारी साधन नचलाउन महाशाखाले आग्रह गरेको हो।
यस्तै, बिहान ११:०० बजेदेखि साइक्लिङ रोड रेस हुने भएकोले कलङ्कीबाट कोटेश्वर हुँदै सूर्यविनायक जाने सडकखण्डको मुख्य लेन खाली गर्न महाशाखाले अनुरोध गरेको छ। रेस अपराह्न ४:०० बजेसम्म हुनेछ।
सो समयमा वैकल्पिक मार्ग प्रयोग गर्नसमेत महाशाखाले अनुरोध गरेको छ।
मुख्य लेनमा सवारी साधन चलाउन रोक लगाउँदै ट्राफिक प्रहरीले दायाँ बायाँको सर्भिस लेनमा भने अनुमति दिएको छ।