रामजानकी विवाह महोत्सवको अन्तिम दिन रामकलेवा मनाइएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई जानकी मन्दिर परिसरमा विभिन्न पकवान खुवाएर रामकलेवा मनाइएको छ।
महोत्सवको अन्तिम दिन रामकलेवामा जानकी मन्दिरमा साधुसन्तलाई विशेष भोजन गराउने परम्परा छ। रामकलेवामा विवाहमा जन्तीका रुपमा आएका पाहुनाहरुलाई मिष्ठान्न भोजन गराउने गरिन्छ।
भोजन पश्चात साधुसन्तलाई दक्षिणा प्रदान गरी विधिवत रुपमा विदायी गरिएको छ। यस वर्ष मंसिर १० गतेदेखि सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सोमबार रामकलेवा विधिसँगै समापन भएको हो।
विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई खिर खुआउने परम्परा छ । जुन विधिलाई मिथिलाञ्चलमा मौहक समेत भन्ने गरिन्छ। मौहकका लागि रघुवरका चारै भाइले जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मडवामा बसेर खिर ग्रहण गरे। रामकलेवामा सहभागी जन्तीलाई कपडा, प्रसाद प्रदान गरी विदायी गरिएको थियो।