१५ वर्षअघि बाग्लुङका पूर्णबहादुर पुन साउदी अरबको एउटा पेट्रोल पम्पमा काम गर्थे। लगातार घोटिनु पर्ने काम थियो, त्यसमाथि उनको रक्तचाप जहिले बढी हुन्थ्यो। उनी बिरामी पर्न थाले। मालिकले उनको उपचार गरेनन्, नेपाल फिर्ता पठाइदिए।
२०६१ माघमा चेकजाँच गर्दा थाहा भयो पूर्णबहादुरको मिर्गौलाले काम गर्न छाडिसकेछन्।
त्यो बेलामा नेपालमा मिर्गौला प्रत्यारोपण सुरू भइसकेको थिएन। पूर्णबहादुर भारततिर लागे।
२०६२ असारमा उनले मिर्गौला प्रत्यरोपण गरे।
उतैउतै विभिन्न तरिकाले मिलाइएको मिर्गौलाले लामो साथ दिएन। प्रत्यारोपणकै बेला समस्या आएको थियो सात वर्ष पछि त मिर्गौलाले काम गर्नै छोड्यो।
तर अब पूर्णबहादुरलाई भारत धाउनै पर्ने बाध्यता थिएन। नेपालमै मिर्गौला प्रत्यारोपण सुरू भइसकेको थियो।
२०६९ सालमा मिर्गौलाले काम गर्न छोडेपछि दैनिक डयालासिस गर्न पर्ने भयो।
नियमित डायलासिस झन्झटिलो थियो। एकातिर आफ्नो समयको खर्च अर्कातिर अस्पताल जान-आउन चाहिने साथी।
उनलाई लागेको थियो बरू फेरि मिर्गौला प्रत्यारोपण गर्छु। त्रिवि शिक्षण अस्पतालमा डाक्टर दिव्या सिंह शाह (अहिले प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक) लाई भेटेपछि पुनले दोस्रो पटक प्रत्यारोपण गर्ने निर्णय गरे।
‘डाक्टर सिंहसँग सोध्यौं। उहाँले हुन्छ यहीँ गरौं भन्नुभयो,’ पूर्णबहादुरले सेतोपाटीसँग भने।
प्रत्यारोपण त गर्ने तर डोनर कहाँ खोज्ने? नेपालको कानुनले परिवारका सदस्यबाहेक अरू मिर्गौला दान गर्न रोक लगाएको छ।
पूर्णबहादुरका दिदीहरूले मिर्गौला दिन तयार थिइन्। उनकी श्रीमती आशा पुनले सोचिन्- बुढालाई मेरै मिर्गौला दिए पाए हुन्थ्यो। रगत जचाइन्, अरू चेकजाँच भयो। आशाको मिर्गौलाले पूर्णबहादुरको शरीरमा काम गर्न सक्ने देखियो।
‘अरूसँग लिने प्रयास पनि भएको थियो। दिदीहरूसँग पनि कुरा भएको हो। त्यता पनि के भयो, के भयो,’ पूर्णबहादुरले भने,‘श्रीमतीले दिन मिल्ने भयो, त्यसपछि उसले म दिन्छु भन्यो।’
डाक्टर दिव्या सिंहको टिमले आशाको एउटा मिर्गौला निकालेर पूर्णबहादुरको शरिरमा राखिदियो। आशा र पूर्णबहादुरले मिलेर गृहस्थी चलाएजस्तै आशाको मिर्गौलाले पूर्णबहादुरको शरिर चलाइरहेको छ।
पूर्णबहादुरलाई बचाउन सकेकोमा आशा खुसी छन्।
श्रीमानलाई मिर्गौला दिएर बचाउन पाएकोमा कस्तो लागेको छ? प्रश्न सुनेर उनी केहीबेर भावुक भइन् फेरि हँसिलो अनुहार पारेर भनिन्-खुसी छु।
मिर्गौला दान गर्नुअघि र अहिले उनको शरिरमा केही फरक भएको छैन।
‘केही समय अलि गाह्रो भयो। अहिले त पहिलाकै अवस्था आएको छु,’ आशाले भनिन्।
४२ वर्षीय पूर्णबहादुरलाई भने अर्को जन्म पाएको अनुभव भइरहेको छ।
‘मलाई त फेरि अर्को जन्म पाइयो भन्ने लागेको छ। यसको छुट्टै अनुभव हुन्छ,’ उनले भने।
किड्नी दिनेप्रति कस्तो लाग्दो रहेछ?
उनी गम्भीर भए। श्रीमतीतिर पुलुक्क हेरेर भने-एकदम भित्रैदेखि हर्षित भइन्छ,गौरवान्वित भइन्छ।
दश वर्षदेखि पूर्णबहादुर र आशा ललितपुरमा तरकारी पसल चलाइरहेका छन्। पूर्णबहादुर पसलमा आशालाई सघाउँछन्। अरू सामान्य काम गर्न पनि उनलाई कुनै अप्ठेरो छैन।
नेपालमा गरिएको प्रत्यारोपणबाट पनि उनी सन्तुष्ट छन्।
‘यहाँ राम्रोसँग प्रत्यारोपण हुने रहेछ। भारतमा भन्दा पनि यहाँ राम्रोसँग भएको जस्तो लाग्यो मलाई। बाहिर हुने जति पनि सुविधा नेपालमा छ,’ पूर्णबहादुरले भने।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नअघि ४ महिना उनले डायलासिस गरेका थिए। उनको अनुभवमा डायलासिसभन्दा मिर्गौलाको प्रत्यारोपण गरेपछि धेरै सजिलो हुन्छ।
‘प्रत्यारोपणमै सजिलो हुन्छ। डायलासिस गर्दा तीन-चार घन्टा बेडमा लड्नुपर्छ। यताउति चल्न पाइन्न गाह्रो हुन्छ। नसामा सुई घोचेर उपचार गर्दा त धेरै गाह्रो हुन्छ,’ पूर्णबहादुरले अनुभव सुनाए,‘नेपालमा मिर्गौला दान दिने मान्छे भयो भने त सजिलो हुन्छ। डायलासिस गर्दा रगत बढाउने औषधी खानुपर्छ। रगत नबढ्ने भएकोले रगत चढाइराख्नुपर्छ तर प्रत्यारोपण गर्यो भने औषधीमात्रै खाने हो। किड्नीले काम गरेपछि रगत आफैं बढ्छ।’
मिर्गौला प्रत्यारोपण गरेलगत्तै हप्तामा दुई दिन, त्यसपछि १ दिन, महिनामा दुई दिन हुँदै अहिले उनी ६ महिनामा १ पटक स्वास्थ्य परीक्षण गर्छन्। चिकित्सकले धेरै गह्रौंका चिज नउचाल्न भनेका छन्। तर चिकित्सकले भनेको भन्दा केही गह्रौं भारी भने बोक्ने गरेको उनले बताए।
‘डाक्टरले १० किलोभन्दा बढी नउचाल्न भनेका छन्। तर मैले २० किलोसम्मको भारी उचाल्ने गरेको छु,’ उनले भने,‘खाने कुरामा भने चिकित्सकले भनेको मानेको छु। सामान्य मानिसले खाने सबै खान्छु। चुरोट सुर्ती खानु हुँदैन धेरै धुँवा धुलोमा पनि जानु हुँदैन।’