जिल्ला प्रहरी कार्यालय दाङले कपिलवस्तुबाट बरामद पाँच थान एसएमजी हतियार नेपाली सेनाबाट द्वन्द्वकालमा माओवादीले लुटेको हुनसक्ने आशंका गरेको छ। ती हतियार परीक्षणका लागि सैनिक संयन्त्रमा पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले गोलीसहित बरामद भएका अत्याधुनिक हतियार नेपाली सेनाको हुन सक्ने आशंका व्यक्त गरे। ‘बरामद भएका ती कुनैपनि हतियार नयाँ हैनन्, सबै पुरानै हुन्,’ डिएसपी शाहले भने ‘ती हतियार तत्कालीन माओवादी द्वन्द्वकालमा लुटेको हो कि भन्ने आशंका छ।’
त्यही भएर बरामद भएका सबै हतियारको नम्बर परीक्षण गर्न सैनिक संयन्त्रमा पठाइएको डिएसपी शाहले जानकारी दिए। ‘ती हतियार नेपाली सेनाको हो कि हैन भनेर पुष्टि गर्न पठाइसकेको छौं,’ शाहले भने, ‘यदि त्यसो रहेन छ भने अत्याधुनिक हतियार बाह्य मुकलका आपराधिक समूहबाट खरिद(बिक्री हुने रहेछ भन्ने पत्ता लाग्ने छ।’
एसएमजी हतियार नेपाली सेना र सशस्त्र प्रहरीसँग मात्र छ। तत्कालीन सशस्त्र नेकपा माओवादी र नेपाल सरकारका बीच विस्तृत शान्ति सम्झौता हुँदा माओवादीले आफ्ना सबै हतियार बुझाएको थिएन। ‘खोलाले बगाएको’ भनिएका हतियार विप्लवले सुरूदेखि नै लुकाइराखेको आशंका हुँदै आएको छ।
प्रहरीले ती अत्याधुनिक हतियार सरकारद्वारा प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाको भएको दाबी गरेको भए पनि कुन प्रयोजनका लागि ती हतियार कहाँ पुर्याइँदै थियो भन्ने पत्ता भने लागि नसकेको बताएको छ।
प्रवक्ता शाहले विप्लवले ती हतियारहरू आन्तरिक सैन्य तालिमका लागि वा कुनै आक्रमणको योजनाको उद्देश्यले, निर्वाचन बिथोल्नका लागि वा उच्च नेताको सुरक्षाको लागि ओसारपसार गर्न लागेको हुन सक्ने आशंका व्यक्त गरे।
विप्लव समूहले दाङको सिमाना नाका गढवा क्षेत्रबाट हतियार ओसारपसार गर्दैछ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी खटिएको भए पनि खोज्दै जाँदा दाङको सिमाना जोडिएको कपिलवस्तु जिल्लाको रित्तो गोठमा ती हतियार बरामद भएको डिएसपी शाहले जानकारी दिए। कपिलवस्तु नेत्रविक्रम चन्दको घर हो।
‘प्रहरीलाई आएको सूचनामा दाङकै सिमाना क्षेत्रमा भन्ने थियो, कपिलवस्तु जिल्लामा भन्ने थिएन, त्यही भएर दाङको प्रहरी गएको थियो,’ डिएसपी शाहले भने, ‘कपिलवस्तुमै भन्ने सूचना भए त त्यहीँको प्रहरी खटिन्थ्यिो।’
५ नं प्रदेश प्रहरी कार्यालय तुलसीपुर, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गढवाको विशेष प्रहरी टोली मुठभेड पनि हुन सक्ने भन्दै तयारीका साथ हतियारको खोजीमा परिचालन भएको थियो।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं १ स्थित खाली गोठबाट ५ थान एसएमजी, १३ थान म्यागजिन र ३९० राउन्ड गोली लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले बरामद गएको थियो। कपिलवस्तुमा यसअघि एलएमजी हतियार पनि फेला परेका थिए।