मायारूपी चौधरी उमेरले लघभग ६५ वर्ष पुगिन्। लेखपढ गर्न जान्दिनन्। उनले धेरै वर्ष राप्तीको कहर झेलिन्। खेतीपाती वल्लो किनार र बसाइ पल्लो किनार। मायारूपीजस्तै गढवा गाउँपालिकाको महदेवा र गढवाका धेरै स्थानीयले राप्तीसँग पैंठेजोरी खेल्दै जीवनयापन गरे।
उनीहरूसँग नदीका कारण पाएका अनगिन्ती दुःख छन्। अब भने उनीहरूले राप्तीसँग पहिलाजस्तो पौंठेजोरी खेल्नु पर्दैन किनकी महदेवा र गढवालाई जोड्ने पुल बनेको छ।
५६ वर्षीय कालीचरण चौधरीको घर गढवा क्षेत्रको (राप्तीपारि) महदेवामा पर्छ भने जग्गाजमिन राप्तीवारि चिकौटीमा।
नवनिर्मित पुलमा हिँडिरहेका चौधरी उक्त दिन पनि दिनभरि बारी जोतेर घर फर्किन लागेका थिए। पुल नहुँदा उनले गोरुसँगै पौडिएर राप्ती वारपार गर्नुपर्थ्यो।
ठूलो बाढी आउँदा राप्ती तर्न नसकेर नदीको ढिकमै बसेको कालीचरणले बिर्सेका छैनन्। राप्तीको बाढीले उनका गोरु बगाएर बेपत्ता पारिदिँदा भोकभोकै बस्नु परेको अनुभव उनीसँग छ।
यहाँका स्थानीयसँग हरेक बर्खामा राप्तीको बाढीले दिएको दुःख र पीडाका थुप्रै भोगाइ छन्। डुङ्गाबाट वारपार जाँदा डुंगाको ढलपल ढलपल भन्दा बढी ढलपल मायारूपीको मन हुन्थ्यो।
‘खेती किसानी गर्दा राप्ती वारपार गरिरहनु पर्दथ्यो। सधै डुङ्गा चलाउने मान्छे फेला नपर्ने। कहिले दिनभर कुरेर बस्ने,’ मायारूपीले भनिन् ‘ धेरै पटक घाँटी–घाँटीसम्मको नदी तरेकी छु।’
पुल निर्माण भएपछि भने जुनसुकै बेला पनि माइत जानआउन र अन्नपात ओसारपसार गर्न सहज भएको मायारूपीले बताइन्।
गढवा क्षेत्रबाट टाउकोमा (बरनी) कुचोको भारी बोकेर पुल हुँदै सिसहनीयातर्फ आउँदै गरेकी मायारूपीले पुल निर्माण भएपछि धेरै सजिलो भएको बताइन्। स्थानीयको लागि पुल बरदान सावित भएको उनले बताइन्।
राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाका राम पण्डित गल्ला व्यवसायी हुन। पुल बनेपछि स्थानीयलाई सरसामान ओसार पसार गर्न सहज भएको उनले बताए।
‘मानिसलाई आवातजावात गर्न र उत्पादित वस्तु ओसार पसार गर्न धेरै सजिलो हुने भयो,’ पण्डितले भने।
नेपालकै दोस्रो लामो पुल
दाङ देउखुरीको राप्ती नदीमा निर्मित यो पुल नेपालकै दोस्रो लामो पुल हो। यसको लम्बाई ८६० मिटर र चौडाइ साढे १० मिटर छ।
प्रोजेक्टका साइड इञ्चार्ज लक्ष्मण ढकालका अनुसार पुलमा(क्यारियर) गाडी गुड्ने भाग साढे ७ मिटर र फुटपाथ दुबै तर्फ डेढ–डेढ मिटरको बनाइएको छ। पुलमा १७ वटा पिलर छन्।
नेपालको सबैभन्दा लामो पुल भने बर्दिया जिल्लामा छ। कोठियाघाटस्थित कर्णाली नदीमा निर्मित गेरूवा पुलको लम्बाई १ हजार १५ मिटर छ। त्यो पुल पनि यही कम्पनीले निर्माण गरेको साइट इञ्चार्ज ढकालले बताए।
राप्तीमा निर्मित पुललाई अनक कनष्ट्रकसन कम्पनीले बक्स गटर शैलीमा निर्माण गरेको हो।
पुलको सम्झौता २०७३ साल असार मसान्तमा भएको हो। तर पुलको शिलान्यास भने त्यसको ५ महिनापछि मंसिरमा भएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए। २०७३ चैत अन्तिम निर्माणको काम सुरू भएको थियो।
२ वर्ष ८ महिनामा पुल बनेको भएको प्रोजेक्टका साइड इञ्चार्ज लक्ष्मण ढकालले जानकारी दिए। यो पुल निर्माण गरी सक्नु पर्ने समय २०७७ असार मसान्तसम्म छ। पुल बनाउन ९२ करोड रुपैयाँ खर्च भएको छ।