तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ झुमरीया निवासी मोहनलाल गैरे गहते खोलामा पक्की बाँध निर्माण भएपछि खुसी छन्।
पक्की बाँध निर्माण नहुँदासम्म स्थानीयले वन जंगलबाट स्याउला सोत्तरले बाँध बाँधेर खेतबारीमा कुलोबाट पानी लैजाने गर्दथे। स्याउला सोत्तरले बाँधेको बाँध पटक पटक भत्किन्थ्यो। खोलाले बगाउँथ्यो। पक्की बाँध निर्माण भएपछि आज त्यो झंझटबाट स्थानीय किसान मुक्त भएका छन् । अर्कोतर्फ खेतबारीमा सिंचाई लाग्ने कुलो पनि पक्की भएको छ। जाँगर हुनेले बेमौसमी तरकारी खेती गर्न पाएका छन्। बैशाख जेठमा मकै फलाउन पाएका छन्।
‘स्थानीय सरकार आएपछि जनताको पिरमर्का बुझ्ने काम भएको छ,’ गैरेले भने ‘स्थानीय खुसी छन्। जाँगर हुनेले खेतिपाती गरेर राम्रै आय आर्जन गर्न थालेका छन्।’ गैरेका अनुसार स्थानीयको आयआर्जन बढाउन स्थानीय सरकारले स्रोत साधनमा लगानी गरेपछि सर्वसाधारणको जीवनमा सकारात्मक परिवर्तन आउन थालेको छ।
सोही वडाको कटकुँईयामा गरिवी निवारण गर्दैै स्थानीयलाई आयआर्जनमा अग्रसर गराउन वडा नं. ९ ले समूह बनाइ माछा पोखरी निर्माण गरिदिएको छ। जहाँका माछा अब बेच्ने अवस्थामा छन्। स्थानीय महिला समूहमा आवद्ध दिदी बहिनीहरुलाई स्वाबलम्बी बनाउन माछा पोखरीमा लगानी गरिएको वडा अध्यक्ष घनश्याम ढकालले बताए।
स्थानीय सरकार निर्माण भएपछि उसैले तयार पारी माग गरेको योजनामा झन्डै डेढ करोड संघीय बजेटले झुमरीया थारु कुलोमा पक्की नहर बनेको छ। यो क्रमागत विकासमा परेको छ। यसपटक पनि २५ लाख जति बजेटले पक्की कुलो निर्माणको थप काम हुँदैछ।
गहते खोलाको पानीले झन्डै २२ सय हेक्टर जमिन सिंचाईको सुविधा पुगेको छ। स्थानीयलाई पक्की सिंचाई कुलो बनेपछि बाह्रै मास खेती गर्न सजिलो भएको छ। स्थानीय सरकार आएपछि भएको यो एउटा उदाहरणीय कार्यले रोजगारीका लागि विदेसिने युवा/युवती घरमै बसेर आधुनिक खेतीमा तल्लीन हुन थालेका छन्।
यो वडाको नव दुर्गा सामुदायिक वनमा ग्रिन पार्क निर्माण गर्न प्रदेश सरकारले ३० लाख बजेट विनियोजन गरिसकेको छ। ‘मास्टरप्लान’मा घोडाबाट यात्रा गराउने, स्थानीय उत्पादनका खानेकुरा मात्रै पाइने रेष्टुरेण्ट निर्माण, फूलको करिडोर, स्वीमिङपुल, भ्यूटावर लगाएतका संरचना निर्माण गर्ने कुरा समावेश छन्। नजिकै गैरी चौरमा फूटवल मैदान निर्माण गरिएको छ। वडाको बजेटमा स्थानीयको जीवन परिवर्तन गर्नेगरी थुप्रै सकारात्मक र उदाहरणीय कार्यहरु यो वडामा भएका छन्।
भौतिक संरचना निर्माण र विकाश निर्माणका सवालमा तुलसीपुरका १९ वटा वडामध्य ९ ले सबैभन्दा राम्रो प्रयास गरेको देखिएको छ। दुई वर्षको अवधिमा यो वडाले दर्जनजति बाटोहरु कालोपत्रे गरेको छ।
ग्रामीण भेगमा धमाधम सडकनाला निर्माण भइसकेका छन्। केही समयको अन्तरालमा कालोपत्रेको काम हुने वडा अध्यक्ष घनश्याम ढकालले जानकारी दिए।
वडा नं. ९ मा चालु आर्थिक वर्षमा संघीय र प्रदेश सरकारको समेत गरी कम्तिमा १३ करोड बजेट विनियोजन भएको छ। गत आर्थिक वर्षमा पनि यो वडामा साढे ६ करोडको काम भएको थियो। वडा कार्यालयले सिंचाई कुलो निर्माण, विद्यालको अवस्था सुधार, स्वास्थ्य चौकीको सुधार, सडकको स्तरोन्नतिमा बढी रकम विनियोजन गरेको छ।
तुलसीपुरको अटो भिलेजको आधा हिस्ता यही वडामा पर्छ। जहाँ पातुखोलामा तटवन्ध निर्माणमा लाखौं बजेट प्रदेश सरकारले लगाएको छ। राप्ती आयुर्वेद अस्पताल र नगरस्तरीय स्वास्थ्य वडामा भएको लगानीले स्थानीयको स्वास्थ्य उपचार प्रभावकारी बनेको छ।
तुलसीपुर वडा नं. १० अन्तर्गतको बन्गै र पढ्ढा गाउँमा रहेका प्राकृतिक तालहरुलाई वडाको बजेटले विस्तार गर्ने तथा बाँध बाँध्ने जस्ता काम गरेको छ। वडाको १० लाख बजेटले बन्गै र गोलौरी गाउँमा ‘डिप बोरिङ’ मर्मत गर्नुको साथै मोटर खरिद गरिएको छ। जसका कारण बाह्रैमास सिचाईंको प्रवन्ध गर्न संभव भएको छ।
बिग्रिएका डिपबोरिङका उपकरण खरिद गरिदिएपछि स्थानीयलाई खेतिपाती गर्न सजिलो भएको छ। तालको निर्माण र विस्तारले सुख्खा मौसममा पशुचौपायालाई पानी खुवाउन सजिलो भएको स्थानीय यामबहादुर चौधरीले बताए। ‘जनप्रतिनिधि गाउँ घरकै चिनजानका मान्छेहरु हुँदा स्थानीयले आफ्नो आवश्यकता तथा समस्या तत्कालै भन्न सक्ने अवस्था छ,’ चौधरीले भने।
स्थानीय सरकारका प्रतिनिधिले चासो दिन सके तत्कालै समस्या समाधान हुने अनुभव उनले सुनाए। ‘स्थानीय सरकार भएपछि स्थानीयलाई आफ्ना समस्या भन्न र मागहरु सम्वोधन गराउन धेरै सहज भएको छ,’ चौधरीले भने ‘पहिला यही काम (संघीयताको अभ्यास हुनुभन्दा पहिले) यति सहज थिएन। हाम्रा कुरा कसैले सुन्दैन थिए।’
वडा नं.१० का वडाध्यक्ष कुमार लामिछानेले स्थानीयसँग रातदिन सँगसँगै रहेर काम गरिरहेको बताए।
तर उनले अहिले पनि समान रुपमा विकास बजेट राज्यले वितरण नगरेको भन्दै असन्तुष्टि पोखे। १० नं।वडामा जिल्लाकै सबैभन्दा ठूलो प्राकृतिक गौरी ताल छ। यो वर्ष त्यो ताल माछा पाल्नेले ५ लाखमा ठेक्का लगेका छन्। तर यो तालमा उपमहानगरपलिका र विगतमा टरिगाउँ गाविसले समेत एक रुपैयाँ लगानी गरेको छैन। ‘हाम्रो वडा बत्तीमुनिको अँध्यारोजस्तै छ,’ वडा अध्यक्ष लामिछानेले भने ‘ पहुँच र भनसुन भएकाहरुले मात्रै बजेट पाउनु संघीयताको मर्म विपरित छ।’
यो वडाले गरेको राम्रो काम भनेको सिमित बजेटले वडाभर विजुली वत्ती विस्तार गर्नु र वडालाई टुकीरहीत बनाउनुलाई मान्न सकिन्छ।
वडा नं. १० ले गरेको अर्को सकारात्मक कार्य भनेको उपमहानगरपालिकाले दिएको बजेटमा साना स्कुले नानीहरुलाई निशुल्क खाजा कार्यक्रम लागू गर्नु हो। बजेट अभावले जनताको अपेक्षा अनुरुप विकास निर्माणको काम गर्न नसकेको अध्यक्ष लामिछानेले बताए।
तुलसीपुर वडा नम्वर ११का अध्यक्ष चित्रबहादुर वलीले पनि सर्वसाधारणको जीवन परिवर्तन गराउने र स्थानीयलाई आय आर्जनसँग जोड्दै स्वावलम्बी बनाउने कुरामा ध्यान केन्द्रित गरेको तर्क गरे।
यो वडाले स्थानीयलाई सिचाईंको सुविधा पुर्याउन सुकौरास्थित कुलोमा बाँध निर्माण गरेको छ । वर्षामा सवारी साधन संचालन गर्न कठिन हुने नवलपुर बाटोको ओरालोमा १० लाख वडाको बजेटले ढलान गरिएको छ। वेलटाकुरा गाउँमा पक्की नाला निर्माण, आधारभुत विद्यालय कटाँहाको जग्गा संरक्षणमा तारजाली लगाउनेदेखि स्थानीय हेल्थपोष्टमा प्रयोगशाला सञ्चालन गर्ने जस्ता फुटकर योजनाहरुमा लगानी गरेको छ। स्थानीय सरकार आएपछि जनताको अति आवश्यक कुराहरु निर्धारण गरी काम भएको वडा अध्यक्ष चित्रबहादुर वलीले बताए।
‘बजेटले भ्याएससम्म सर्वसाधारणको जीवन परिवर्तन गर्नेगरी काम गरिरहेका छौं,’ अध्यक्ष वलीले भने, ‘जसरी हुन्छ स्थानीय स्तरमा रोजगारी सृजना गर्ने हाम्रो प्रयास छ।’ स्थानीय सरकार हुनुको नाताले सिंचाई कुलो तथा नहर निर्माण, कलभर्ट निर्माण, विद्यालयको शैक्षिक अवस्था सुधार गर्न भौतिक पूर्वाधार निर्माणदेखि बालबालिकालाई दिवा खाजाको व्यवस्था र स्थानीयस्तरमा स्वास्थ्यको समस्यामा चासो दिइएको उनले बताए।
प्राचिन दंगिशरण थारु राजाको दरबार यही वडाको सुकौरामा पर्छ। त्यसैले यो वडा इतिहास अध्यता र पर्यटकको लागि राम्रो संभावना बोकेको क्षेत्र हो। तर राज्यले विकासमा ध्यान नदिँदा दरवारको महत्व ओझेलमा परेको अध्यक्ष वलीले गुनासो गरे। ‘चिनजान, भनसुन र आस्थाका आधारमा बजेट आउने क्रम नरोकिएमा संघीयता अप्ठेरोमा पर्न सक्छ,’ अध्यक्ष वलीले भने ‘ आवश्यकता निर्धारण गरी संघ र प्रदेशले बजेट वितरण गर्नुपर्छ।’
यही वडाको श्रीमणि आचार्य स्मृति मार्गको सडक कालोपत्रे गरिएको छ। यो वडाले २० लाख लागतमा आफ्नै प्रयोजनका लागि एउटा राम्रो सभाहल निर्माण गरेको छ। बेलटाकुरास्थित स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन गर्नु अर्को एउटा प्रसंसनीय कार्य हो।
वडाध्यक्ष चित्रबहादुर वली स्थानीय सरकारले जनताको आवश्यकक्ता परिपूर्ती गर्न, उनीहरुको जीवन परिवर्तन गर्न र उनीहरुका लागि आयआर्जनका उपायहरु खोजी गर्न लागेको बताए।
‘स्थानीय सरकारले धेरै राम्रा प्रयासहरु गरेको छ । जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पर्नेगरी काम गरेको छ । तर बजेट अभावले चाहे अनुरुप काम गर्न भने सकिएको छैन,’ अध्यक्ष वलीले भने।