पूर्वपश्चिम राजमार्ग अन्तगरगत दाङको देउखुरीमा बस र ट्रक आसपमा ठोक्किदा १२ जना घाइते भएका छन् ।
शनिवार विहान पौने ३ बजेतिर पुर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीमा पुर्बबाट पश्चिम तर्फ आइहेको ना १ ख ४७९३ को ट्रक र घनगडी बाट काठमान्डौं तर्फ जाँदै गरेको ना ५ ख ५१८३ नम्बरको बस एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परि ट्रकका चालक प्युठान जिल्लाको सुरमारानी गाउँपालिका वडा नं. ४ बड्डाँडा निवासी २७ बर्षीय विजय गाहा र बसका सहचालक कैलाली जिल्ला घोडाघोडी नगरपालिका १ निवासी २२ अरूण चौधरीको अवस्था गम्भीर रहेको छ ।
ट्रकका चालकको दुबै खुट्टा फ्याक्चर भएका छन् । उनको शनिवार बिहान ७ बजेपछि मात्रै उद्धार संभव भएको हो । दुर्घटना पछि गाडि भित्रै फसेका ट्रकका गाहाको फलाम काटेर मात्रै उद्धार संभव भएको जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।
‘हामीले बसका चालकलाई विहान ४ बजेतिर नै उद्धार गरेर उपचारका लागि पठाएका थियौं,’ प्रवक्ता शाहले भने ‘ तर, ट्रकका चालकलाई फलाम काटेर निकाल्नु पर्ने भएको हुँदा झण्डै ५ घन्टाजति समय लाग्यो।’
दुबै चालकलाई उद्धार गरेर उपचारको लागि बुटवल पठाइएको प्रहरीले बताएको छ ।
उक्त दुर्घटनामा परि बसमा यात्रारत यात्रु कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. १० निवासी १९ वर्षीय प्रीति चौधरी र घोडाघोडी नगरपालिका वडा नं. १ निवासी १७ बर्षीया माया कुमारी उपाध्यायको स्थानीय मेडिकलमा प्रारम्भीक उपचारपछि थप उपचारको लागि बाँकेको कोहलपुर रेफर गरिएको छ ।
दुर्घटनाका अन्य घाइतेहरु भने राप्ती सेवा पोलिक्लिनिक भालुवाङमा उपचार भइरहेको तथा अवस्था सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख गंगाबहादुर सारुले बसको लापरवाहीले उक्त दुर्घटना भएको जानकारी दिए ।
‘बस सहचालकले चलाएको पाइयो । स्टेरीङमा घाइते अवस्थामा हामीले उद्धार गर्दा सहचालक नै थिए,’ प्रहरी निरिक्षक सारुले भने ‘बस पुरै रङ साईडमा गएर ट्रक संग ठोक्किएको छ।’
सरकारले लामो दुरीमा अनिवार्य रुपमा २ वटा चालक राख्न आग्रह गर्दै आएको छ । तर गाडीधनीहरुले भने दक्ष चालक राख्नुको सट्टा सहचालक बाटै काम चलाउन खोज्दा यस्ता दुर्घटनाको जोखिम बढेको जानकारहरु बताउँछन् ।