दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ६ निवासी १९ वर्षीया निशा केसी गुरुजजुर नमूना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्छिन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौरस्थित सो विद्यालयमा उनीसँगै सल्यान जिल्ला निवासी २२ वर्षीया भिमा वली पनि पढ्छिन्।
उनीहरू दुवै बहिरा विद्यार्थी हुन्। सोही कक्षा कोठामा थप ४ जना बहिरा छात्रहरू पनि अध्ययनरत छन्। यी सबैले आगामी एसइई परीक्षाको तयारी गरिरहेका छन्। उनीहरू बोल्न र सुन्न सक्ने अन्य विद्यार्थी साथीहरूसँगै एसइई परीक्षाको तयारीमा जुटेका छन्।
कक्षा कोठामै अध्ययन गर्दागर्दै उनीहरूसँग कुरा गर्न हामीले राप्ती बहिरा संघकी निर्देशक तथा दोभाषे प्रतिमा शर्माको सहयोग लियौं। तर पढाइमा सहयोग गर्न उनीहरूका लागि दोभाषे शिक्षक भने विद्यालयमा छैनन्। विद्यालयमा सांकेतिक भाषा थोरै भए पनि जान्ने शिक्षक जम्मा तीन जना मात्रै छन्।
सबैलाई एउटै कक्षा कोठामा बसेर पढाउँदा बहिरा विद्यार्थी मारमा परेका छन्। उनीहरूलाई कक्षा कोठामा शिक्षकले पढाएको बुझ्न निकै सकस हुन्छ।
बोल्न–सुन्न सीप हासिल गरेका केही विद्यार्थीले सम्भव भएसम्म पढाउँदा पढाउँदै बुझाउने कोशिस गर्छन्। तर त्यो पनि सधैं सम्भव हुँदैन। बहिरा विद्यार्थीलाई सिकाउन खोज्दा अन्य विद्यार्थीलाई असर पर्छ।
हालसम्म जसोतसो अरुकै सहारामा आफ्नो पढाइलाई निरन्तरता दिँदै आए पनि यसपटक भने एसइई परीक्षाका लागि उनीहरू चिन्तित छन्। निशा र भिमा दुबैले शिक्षकले पढाएको बुझ्दैनन्।
'परीक्षामा समेत दोभाषेको व्यवस्था नहुँदा हाम्रो भविष्य नै बर्बाद हुने चिन्ता लागेको छ,' उनीहरूले भने।
गणित, अंग्रेजी जस्ता विषय शिक्षकले पढाउँदा झनै समस्या हुने गरेको उनीहरूले बताए।
‘शिक्षकले पढाएको कुराको अर्थमात्रै बुझ्न पाए पनि धेरै सजिलो हुने थियो,’ निशाले भनिन्, ‘तर भाषाको समस्याले गर्दा शिक्षकले जति बोले पनि हामी केही बुझ्न सक्दैनौं।’
शिक्षकलाई जति पटक भन्दा पनि केही नसुने जस्तै गरी पढाउने मात्रै गर्ने गरेको निशाको गुनासो छ।
विद्यालयका गणित शिक्षक झग्गु भण्डारीले गणित, विज्ञान र अङ्ग्रेजी जस्ता विषयहरू पढाउने शिक्षकले साङ्केतिक भाषा नजाने बहिरा विद्यार्थीहरू कक्षा कोठामा बस्नु र नबस्नुको कुनै अर्थ नरहको बताए। गणितको हिसाब गर्दा कुनै चित्र बनाएपछि त्यसको अर्थ र सार बुझाउन गाह्रो हुने गरेको भण्डारीले प्रष्टाए।
उनले विद्यालयमा सबै शिक्षकलाई सांकेतिक भाषाको ज्ञान दिनुपर्ने वा बहिरा विद्यार्थीलाई छुट्टै दोभाषे शिक्षकबाट पढाउनुपर्ने आवश्यकता औंलाए।
जिल्लामा उच्च शिक्षासम्म बहिरा तथा दृष्टिविहीन विद्यार्थीले पढ्ने यो एक मात्रै विद्यालय हो।
यहाँ लगभग दुई हजार विद्यार्थी अध्यनरत छन् जसमा कक्षा छ देखि ११ सम्ममा गरी ४६ बहिरा र ३३ दृष्टिविहीन विद्यार्थी अध्यनरत छन्।
रक्षाचौरको गुरुजजुर नमुना मावि भन्दा केही तल तुलसीपुर ४ मा प्राथमिक विद्यालय श्रीगैं छ। जिल्लामा बहिरा विद्यार्थी पढाउने यो अर्को विद्यालय हो। यसै विद्यालयमा कक्षा ५ उत्तीर्ण गरेका बहिरा विद्यार्थी कक्षा ६ देखि गुरुजजुरमा पढ्न जाने गर्छन्।
श्रीगैंमा कुल ८९ जना विद्यार्थीमध्ये ७० विद्यार्थी बहिरा छन्। विद्यालयमा अधिकांश विद्यार्थी बहिरा रहेकाले बोल्न र सुन्न सक्ने विद्यार्थीलाई पनि साङ्केतिक भाषाबाटै पढाउने गरिएको शिक्षिका निर्मला शर्माले बताइन्। यसले सुन्न र बोल्न सक्ने विद्यार्थीले समेत सांकेतिक भाषाको ज्ञान हासिल गरेका छन्।
विद्यालयमा दाङ, सल्यान, रोल्पा, रुकुम, प्यूठान, बाँके, बर्दियासम्मका बहिरा बालबालिका अध्यनरत छन्।
आफ्ना तीन जना बहिरा सन्तानलाई पढाउने विद्यालय अन्त कतै नपाएपछि कर्णाली प्रदेशको रुकुम पश्चिम निवासी मनसरा वलीले ११ वर्षीय छोरा हेमन्त, १४ वर्षीय अर्का छोरा गोपाल र १६ वर्षीया छोरी बिमलालाई पढाउनकै लागि विद्यालय नजिकै कोठा भाडामा लिएर बस्दै आएकी छन्।
यस्ता धेरै अभिभावक आफ्ना सन्तानको भविष्य उज्ज्वल बनाउन आफ्ना सन्तानलाई दाङका यी दुई विद्यालयमा भर्ना गर्ने गरेका छन्। तर विद्यालयमा भाषा जान्ने तथा तालिम प्राप्त शिक्षक नहुँदा र छात्राबासको व्यवस्था नहुँदा बहिरा विद्यार्थीको भविष्य निर्माणमा चुनौती देखिएको गुरुजजुर माविकी दोभाषे शिक्षिका स्मृति योगीले बताइन्।
बहिरा विद्यार्थीलाई राज्यले महिनाको ४ हजार भत्ता दिँदै आएको छ। तर झन्डै ४ महिना यता त्यो भत्ता नपाएको उनीहरूको गुनासो छ।