भारतको हिमाञ्चल प्रदेशबाट उद्दार गरी १४ वर्षीय विशाल चौधरीलाई गृहजिल्ला दाङ ल्याइएको थियो। प्रहरीले एक सम्मेलन गरी विशाललाई आफ्नी आमा माया चौधरीको जिम्मा लगाउन खोज्यो।
मायाको हातमा थमाइदिँदै गर्दा विशालका आँखाबाट बर्रर्रर आँशु झरे, आमासँग जान खोजेनन्। विशालको प्रतिक्रियाले सहायक सिडियो, डिएसपी लगायत अधिकारकर्मीे आश्चर्यमा परे।
उनले आमासँग घर जान इन्कार गरिरहे। उता पाँच महिनापछि बेपत्ता छोरालाई आँखा अगाडि देख्दा उनकी आमा मायाको पनि आँशु थामिएको थिएन।
आफ्नो घर नजिकै रहेको मामाको घरमा पनि जान मानेनन्। विशाललाई मामाघर लैजान भनेर उनकी हजुरआमा नोरी थरुनी पनि आएकी थिइन्।
विशालले विवाहित दिदी सोनीको घरमा गएर बस्ने चाहना राखे। १७ वर्षीया सोनीको हालै दोस्रो बिहे भएकाले त्यहाँ पठाउन नमिल्ने धेरैको राय रह्यो।
त्योबाहेक कहाँ बस्छौँ ? भनेर सोधियो। ‘म फूपुको छोरीकहाँ बस्छु’ विशालले भने।
भारतको श्रमशिविरमा लगेर विशाललाई अलपत्र गर्नेको घर नजिकै पर्ने भएकाले उनलाई त्यहाँ जान नमिल्ने भनियो। तुलसीपुरका डिएसपीले सुझाए– ‘अहिले आमासँगै पठाऔं विशाललाई भारतमा लगेर बेच्नेको बारेमा अध्ययन गर्न पनि सहज हुन्छ।’
फकाएर विशाललाई उनकी आमा मायाको दोस्रो विवाह भएको घर तुलसीपुरको डुरुवा गाउँमा लगियो। अहिले बिजौरीको जग्गा भने विशालको मामाको नाममा छ।
उनका बुवा बौदली चौधरीको हत्या प्रकरणमा आमा मायाले आफ्नो हात रहेको स्वीकारेपछि उनी जेल परिन्। करिब ७ वर्ष जेल परेर उनी दुई वर्षअगाडि मात्रै मुक्त भएकी थिइन्। विशालको दिमागमा भने अहिलेसम्म त्यही विषय खेलिरहेको थियो।
किन आमासँग जाँदैनौँ ? भन्ने प्रश्न गर्दा उनले भने ‘मेरी आमाले आफ्नो केटा साथीसँग मिलेर बुवाको हत्या गरेकी हुन रे! मलाई पनि हत्या गर्न लगाउँदिनन् भन्ने के भरोसा छ र?’
सम्मेलनमा उपस्थित सबैले सम्झाई बुझाई गरेपछि विशाललाई आमाकाे जिम्मा लगाइयाे। यद्यपी विशालका आँखामा आँशु भने सुक्न पाएको थिएन।