अचेल महिनावारी हुँदा पनि सल्यानमा छात्राहरू नियमित विद्यालय आउन थालेका छन्। विद्यालयमा छात्रा विश्राम कक्षको निर्माण भएपछि छात्राहरू नियमित विद्यालय आउन थालेका हुन्।
जिल्लाको कपुरकोट गाउँपालिकाले आफ्नो पालिकाभित्रका सबै माध्यमिक विद्यालयहरूमा छात्रा विश्राम कक्ष बनाएको छ।
महिनावारी हुँदा छात्राहरू विद्यालयमा अनुपस्थित हुने समस्या समाधान गर्न गाउँपालिकाले विश्राम कोठाको व्यवस्थापन सबै विद्यालयमा गरेको अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए।
उनले गाउँपालिकाभित्रका पाँच वटै माध्यामिक विद्यालयमा गाउँपालिकाले विश्राम कक्षको व्यवस्था गरेको बताए।
विशेषगरी पहिलो पटक महिनावारी हुने छात्रालाई बढी पीडा हुन सक्छ। विद्यालय समयमा महिनावारी भएमा छात्राहरूले त्यो समस्या झेल्नु नपरोस् भनेर विश्राम कक्षको निर्माण गरेको अध्यक्ष सेनले बताए।
विश्राम कक्षको व्यवस्था भएपछि अहिले महिनावारी भएको समयमा पनि छात्राहरु निधक्कसँग विद्यालय आउने गरेको कालिका माध्यमिक विद्यालय कपुरकोटकी शिक्षिका हिमा सुवेदीले जानकारी दिइन्।
‘महिनावारीको समयमा विद्यालयमा अनुपस्थित हुने समस्या हटेको छ। प्राय: सबै छात्रा अब विद्यालय आउन थालेका छन्। यसले उनीहरूको पढाइमा पनि सहयोग पुग्ने आशा गर्न सकिन्छ,’ शिक्षिका सुवेदीले भनिन्।
विश्राम कक्ष नहुँदा छात्राहरू महिनावारीको समयमा बेला विद्यालय नलाग्ने गरेको तथा आए पनि बीचमै घर फर्किने गरेको भए पनि अब विश्राम कक्षको व्यवस्था भएपछि उनीहरूले विद्यालयमै आराम गर्न पाउने हुँदा छात्रालाई सजिलो भएको सुवेदीले बताइन्।
‘पहिले महिनावारी भएपछि बीचमै विदा मागेर घर फर्किन्थे। अचेल त्यो समस्या छैन,’ सुवेदीले भनिन्।
कालिका माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्रा शान्ति पुन मगरले विश्राम कक्षको सुविधा पछि छात्राहरूलाई धेरै सजिलो भएको बताइन्।
‘महिनावारी हुँदा निकै गाह्रो हुन्थ्यो। सरहरूलाई भन्न पनि लाज लाग्थ्यो, तर अब आराम गर्ने कोठाको व्यवस्था भएपछि सजिलो भएको छ,’ मगरले भनिन्।
उनले विद्यालयमा पर्याप्त मात्रामा नि:शुल्क स्यानेटरी प्याडको पनि व्यवस्था गर्न सके छात्राहरूलाई महिनावारीको समयमा थप सजिलो हुने सुझाइन्।
विद्यालयमा विश्राम कक्ष भएपछि बिसञ्चो हुँदा र अन्य समयमा समेत आराम गर्न सजिलो भएको अर्की छात्रा पूजा वलीले बताइन्।
भवानी माविका प्रधानाध्यापक दलबहादुर खड्काले छात्राहरुका लागि एउटा छुट्टै कोठाको व्यवस्था गरेको र त्यसमा आराम गर्न बेड, स्यानेटरी प्याड, प्रयोग गरेको प्याड राख्ने भाँडा, टाउको, पेट दुखे, ज्वरो आए, चोटपटक लागेमा प्राथमिक उपचार गर्ने आवश्यक औषधीको व्यवस्था गरिएको बताए।
महिनावारीको समयमा सरसफाइमा बढी ध्यान दिन जरूरी रहेको उल्लेख गर्दै प्रधानाध्यापक खड्काले धार्मिक कुरिति र संस्कारमा मात्रै अल्झिनु गलत भएको बताए। महिनावारी हुँदा, खुलेर कुरा गर्न नसक्नु, लजाउनु, लुकाउन खोज्नु जस्ता कारणले सरसफाईमा समस्या आउने हुँदा किशोरीहरू सावधान रहनु पर्ने उनको सुझाव छ।