तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ को अकमी–ड्वाँङपुर गाउँको केही माथि वन क्षेत्र हुँदै जाने बाटोमा एउटा ढुङ्गा छ।
सो ढुङ्गामाथि एउटा बसिरहेको बाघको मूर्ति छ।
आज पनि यो बाटो हिँड्नेहरू यसलाई देखेपछि एकछिन् टक्क अडिन्छन् र यसलाई हेर्छन्।
यसले उनीहरूको मनमा बाघ झैं दुरूस्तैगरी यो मूर्ति कसले कहिले र किन बनायो होला भन्ने स्वभाविक प्रश्न उब्जाउने गरेको छ।
स्थानियहरूले यसलाई 'बाघ ढुङ्गो' भन्दछन्।
विगत ६० वर्षदेखि यसले खुला आकाश मुनी घामपानीसँगै मानिसहरूको आक्रमण सह्दै आएको छ।
बनेका बखत जोकोहीलाई पनि पनि साच्चिकै बाघझैं जीवन्त भएर झुक्याउने यो मूर्ति आज आफ्नो पुरानो स्वरूपमा छैन। यसले स्थानियहरूको तोडफोड मात्र होइन, सेनाका गोली समेत खाएको छ।
फलस्वरूपः आफ्नो पुरानो स्वरूप गुमाउँदै गएको मूर्ति संरक्षणको अभावमा दिनप्रतिदिन खिइदै गइरहेको छ।
आज यो बाघ ढुङ्गोको रङ रोगन खुइलिएको छ । आँखा-दाह्रा छैनन् ।
मूर्तिभरी मानवीय आक्रमणका निशानीहरू स्पष्ट देखिन्छ।
आज विरूप्त भएर संरक्षणको पर्खाइमा रहेको यो मूर्तिलाई करिब ६० वर्ष अगाडि दुई दाजुभाइले बनाएका थिए।
कुरा वि सं २०१६ सालको हो।
तात्कालिक राजा महेन्द्र मध्य-पश्चिम नेपालको भ्रमणका क्रममा दाङको तुलसीपुर आउने भए। त्यतिखेर दाङमा मोटर चल्ने बाटाहरू थिएनन्।
महेन्द्र राजमार्ग बनिसकेको थिएन।
राजा महेन्द्रको यात्रा कि पैदल हिँडेर हुन्थ्यो कि घोडा चढेर।
तात्कालिक समयमा राजा महेन्द्र यहि बाटो हुँदै तुलसीपुर आउने भएपछि उनी सवारी हुने बाटो बनाउन स्थानियलाई श्रमदान गर्न उर्दी जारी गरियो।
त्यतिबेला प्यूठान, सल्यान, रूकुम आदि जिल्लाको कोइलावास नाका यही बाटो हुँदै जोडिन्थ्यो।
घोराही–लमही सडक खण्ड बनेकै थिएन । तुलसीपुर–सितलपुर सडक खण्डपनि थिएन ।
बाख्रेको बाटो हुँदै सिमलसोता नाका निस्कने यो बाटोको त्यतिबेला अर्को कुनै विकल्प थिएन ।
त्यसैले राजा महेन्द्र दाङको तुलसीपुर सावरी हुँदा यही बाटो तुलसीपुर आउने निश्चित भएपछि सडक खन्न श्रमदानका लागि उर्दी जारी भएको थियो ।
सो समयमा स्थानीय रामबहादुर कामी र उनका माइला भाइ शेरबहादुर कामीले राजाको सवारी हुँदा स्वागतार्थ बाटोमा पर्ने एक ढुङ्गामाथि बाघको मूर्ति बनाउने प्रस्ताव गरे।
साविक डुरुवा ९ ड्वाँङपुरका तात्कालिक वडा प्रमुख लगायत भद्र भलादमीले दाजुभाइको कुरा मनपराए र मूर्ति बनाउने अनुमति दिए।
त्यसपछि करिब डेढ हप्ता लगाएर यी दाजुभाइले ढुङ्गामा बसिरहेको बाघको मूर्ति तयार गरे।
स्थानीय जेष्ठ नागरिक ९० बर्षीय प्रेमबहादुर गिरीका अनुसार कामी दाजुभाइले डेढ हप्ता लगाएर राजाको स्वागतमा तयार गरेको सो मूर्ति त्यतिबेला दुरूस्तै ढुङ्गामाथि बसिरहेको बाघजस्तो देखिन्थ्यो।
तर राजा महेन्द्र तुलसीपुर सवारी हुँदा गोरेटो बाटो हुँदै घोडा चढेर सिधै तुलसीपुर झरे । बाघ ढुङ्गोको बाटो आएनन् ।
कामी दाजुभाइले आफ्नो मेहेनत देख्न राजालाई देखाउन पाएनन् ।
उनी नआएपनि उनको सुरक्षाको लागि खटिएको सेनाको एउटा टुकुटीचाँहि यही बाटो हुँदै आएको थियो।
यसैक्रममा 'बाघ ढुङ्गो'ले पहिलो आक्रमण झेल्यो।
गस्तीमा आएको टुकडीले ढुङ्गाको बाघलाई साँच्चिकैको बाघ ठानेर गोली चलायो।
आजपनि गोलीका डोवहरू यसमा देख्न सकिन्छ ।
सेनाको त्यो टुकडी साँझको समयमा त्यहाँ पुगेको थियो। साँझको समय भएकाले उनीहरूले झुक्किएर मूर्तिलाई गोली हानेका थिए।
‘दुरुस्तै बाघकै जस्तो रङरोगन गरिएको थियो । दार्हा पनि राखिएका थिए । आँखामा सिसाको गोली राखिएको थियो । टर्च लाईट बाल्दा रातमा आँखापनि बल्थे । त्यही भएर झुक्किएर सेनाले बाघ नै ठानेर गोली हाने,’ अर्का स्थानीय ७० बर्षीय स्थानीय ठाकुरप्रसाद चौधरीले भने ।
चौधरीका अनुसार त्यतिबेला बाघ ढुङ्गा दुरुस्तै बाघ जस्तै देखिन्थ्यो ।
यो ढुङ्गासँग सुरक्षाकर्मीहरू फेरी दोश्रोपटक पनि झुक्किए।
यो घटना भने पछिल्लो समय माओवादी द्धन्द उत्कर्षमा पुगेको समयमा भएको हो।
रातको समयमा यही बाटो गस्तिमा हिँडेको संयुक्त सुरक्षा टोलीले पनि बाघ ढुङ्गालाई साँच्चिकै बाघ ठानेर गोली हाने।
यसरी गोली खाएको बाघ ढुङ्गोको आज रङ रोगन खुइलिएको छ, आँखा र दाह्रा छैनन्, ठाउँ ठाउँमा मानविय आक्रमणका निशानीहरू छन् ।
स्थानीयले पनि यसलाई आक्रमण गरे। जंगलमा चराउन लगेका भेडा बाख्रालाई सक्कली बाघले खाइदिदां वा हराउँदाको आक्रोश उनीहरू यसैमाथि पोख्थे।
‘ढुङ्गा हान्थे, फुटाउन प्रयास गर्थे, आँखा फुटाउँथे,दाह्रा भाँचिदिन्थे र अन्य विभिन्न भागमा प्रहार गर्दै क्षति पुर्याए,’ चौधरीले भने ।
त्यतिबेला अशिक्षा र रुढीवादी परम्परा व्याप्त रहेको हुँदा त्यही ढुङ्गाको बाघले आफ्ना भेडा बाख्रा खाइदिएको विश्वास स्थानीयमा पर्दा यसले निरन्तर आक्रमण खेप्यो ।
हाल यो बाघ ढुङ्गा निर्माण गर्ने दुई दाजुभाइ मध्येका रामबहादुर कामीको २०६१ सालमा निधन भइसकेको छ भने उनका भाइ शेरबहादुर कामी अझैं जिवित छन् । उनी घोराहीमा बस्दै आएका छन् ।
राम बहादुरका छोरा बलबहादुर विश्वकर्मा पनि आफुले थाहा पाउने हुँदा आफ्ना बुवा र माइला बुवाले पुरानो नाका जाने बाटोको जंगलको बीचमा निर्माण गरेको बाघ ढुङ्गा दुरुस्तै बाघ जस्तै देखिने गरेको सम्झन्छन्।
‘पहिला दुरुस्तै बाघ जस्तै थियो, तर आज नमुना मात्रै छ । बाघले गाउँघरका बाख्रा खाँदा बाघ ढुङ्गोले खान्छ भन्दै तोडफोड गरेर बिगारे,’ विश्वकर्माले भने ।
विश्वकर्मालाई त राजा त्यो बाटो आइदिएको भए 'बाघ ढुङ्गो' निर्माण गर्ने आफ्नो बाबु र माइला बाबुको चर्चा चुलिने तथा कुनै पुरस्कार समेत पाउने सक्थेको जस्तो लाग्छ।
सम्मान नपाउन भनेरै तत्कालिन भद्र-भलादमीहरुले राजा महेन्द्रलाई अर्कै बाटो लगेको कुरा आफूले बाबुबाट सुनेको उनी बताउँछन्।
‘त्यतिबेला दलित तथा सानालाई ह्यको दृष्टिकोणले हेरिन्थ्यो । दमन गरिन्थ्यो।’
उनका बाबु र काकाको परिश्रम राजा महेन्द्रले देख्न त पाएनन् तर सोमाथिको आक्रमण भने ६० वर्षदेखि उनले देख्दै आएका छन्।
पछिल्लो समय त उनले झण्डै पूरा नामेट हुन लागेको पनि देख्न लागेका थिए तर उनले त्यसो हुन दिएनन्। तुलसीपुर उपमहनगरपालिकाले बाटो विस्तार गर्ने क्रममा बाघ ढुङ्गोलाई हटाउने प्रयास गर्यो।
६७ बर्षीय बलबहादुरले आफ्ना बाबुले निर्माण गरेको भन्दै फुटाउन दिएनन् ।
उनको बाबुको चिनो जोगियो । उनी यसलाई संरक्षण गर्न चाहन्छन्।उनले आफ्ना बाबुको चिनो बाघ ढुङ्गाको संरक्षणका लागि योजना पनि बनाएका छन्।समिति बनाएर स्थानीय वन तथा ढुङ्गाको संरक्षण गर्ने उनले बताएका छन्।
बाटोको नाम पनि 'बाघ ढुङ्गा'को नामबाट राखिनुपर्ने उनको माग छ ।