गत शुक्रबार सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको कार्यकक्षमा पुग्दा उनी काममा व्यस्त थिए।
जब साढे १२ बज्यो मन्त्रीले झ्याप्प काम रोके अनि भने,'मलाई त नमाज पढ्न जान ढिला भइसक्यो। अब तयार भइहाल्छु, बाँकी काम र भेटघाट अब १ घण्टापछि गरौंला।'
यति भनेर उनी हातखुट्टा धुन गए।
लगाएको जुत्ता खोले। खुट्टा धोए। फेरि जुत्ता लगाए।
नमाज पढ्दा लगाउने टोपी लगाएर गाडी चढे।
उनी सरासर त्रिचन्द्र क्याम्पस नजिकैको मस्जिदमा गए। तल्लो तलामा ठाउँ भरिएको रहेछ।
उनी दोस्रो तलामा गए अनि नमाजमा सरिक भए।
झन्डै ४० मिनेट नमाज पढेर उनी निस्किए।
त्यो अवधिमा बहालवाला मन्त्रीलाई कसैले पनि कुनै अभिवादन गर्ने र सम्मान टक्राउने गरेनन्। न त मन्त्रीले नै त्यो अपेक्षा गरेको देखियो, किनकी अल्लाहका अगाडि सबै भक्तजन।
नमाज पढेर कार्यकक्षमा पुगेका मन्त्रीलाई हाम्रो पहिलो प्रश्न थियो- नमाज पढेर आइसकेपछि कस्तो अनुभव हुन्छ?
नमाज इस्लाम धर्ममा ५ वटा पिलरमध्ये एउटा रहेको र नमाजले आत्मा, मनलाई शान्त बनाउने उनले बताए।
'नमाज पढ्दाखेरि स्ट्रेस घट्छ। हामी आफूलाई तनावबाट मुक्त भएको बोध गर्छौं,' उनले भने,'नमाज पढिसकेपछि हामीबाट भए गरेका केही त्रुटी अल्लाह (ईश्वर)ले क्षमा गरिसकेको भनेर आत्मबोध हुन्छ र एकदम हल्का र तनावमुक्त महशुस गर्छौं।'
इस्तियाक दोस्रो पटक मन्त्री भएका हुन्। उनी योभन्दा पहिला २०६८ सालमा पाँच महिना श्रममन्त्री भएका थिए।
३० वर्षकै उमेरमा पहिलो पटक मन्त्री बनेका इस्तियाक दोस्रो पटक मन्त्री बन्दा ४० वर्ष पनि पुगेका छैनन्। यी युवा मन्त्रीलाई विभिन्न काम गराउनको लागि लोभलालच देखाउनेहरू पनि उत्तिकै आउँछन् होला।
‘कसैले प्रलोभन देखाएर काम माग्न आयो भने तपाईंले नमाज पढ्दाको क्षण सम्झिनुहुन्छ?’ भनेर सोध्दा उनले भने,'रिस भनेको धर्मअनुसार हराम हो। नगर्न भनिएको काम र बन्देज गरिएको कामलाई हामी हराम भन्छौं। त्यसमा रिस पनि पर्छ। त्यसैले हामीलाई धर्मले यस्ता काम गर्न दिँदैन।'
रिस पनि हराम काममै पर्छ रे, त्यही भएर उनी आफ्नो रिसलाई तुरुन्तै नियन्त्रण गरिहाल्छन्।
'नचाहिने,अनावश्यक कुराहरू नबुझेर पनि इरिटेट गर्ने कुराहरू पनि आइराख्छ। नमाज पढ्यो भने त्यो तनावबाट आफैं मुक्त हुन्छौं,' उनले भने,'आफ्नो धर्म संस्कृतिलाई सम्झिएर तनावमुक्त बन्छौं र रिस गर्दैनौं भन्ने हुन्छ त्यसैले शान्त भएर जवाफ दिने प्रयास गर्छौं।'
पैगम्बरको समयदेखि नै मदिना र मक्का सहरको जामा मस्जिदमा मुस्लिमहरू भेला भएर नमाज गर्ने चलन रहेको इस्लाम धर्मावलम्बीहरूको विश्वास छ।
त्यतिबेला मस्जिदमै अदालतहरू हुन्थे र फैसला पनि त्यही गरिन्थ्यो। समसामयिक राजनीतिक अवस्था, देश र समाजमा के भइरहेको भनेर समेत बयान हुने र त्यसलाई खुदवा पनि भन्ने गरिएको मन्त्री इस्तियाकले बताए।
मुसलमानहरूले हरेक दिन पाँच पटक नमाज पढ्नु पर्ने हुन्छ। बिहान, दिउँसो, साँझ, बेलुका र राति।
एक पटक नमाज पढ्न पाँचदेखि बढीमा दस मिनेटसम्म समय लाग्छ।
शुक्रबार भने उनीहरू मस्जिदमा गएर जुमा गर्छन्। जुमा भनेको विशेष खालको नमाज भनेर बुझ्ने गरिन्छ।
हरेक शुक्रबार मुसलमानहरू नजिकको मस्जिदमा गएर प्रार्थना गर्छन्। त्यही धार्मिक आस्थालाई मन्त्री इस्तियाकले पनि निरन्तरता दिएका छन्। उनी सम्भव भएसम्म हरेक शुक्रबार मस्जिद पुग्छन्।
'कुनै कारणले भ्याइएन भने मलाई पछुतो लाग्छ। हामीले छुटाउन हुँदैन। हामी यो संसारमा जन्मिएका छौं र मरेर जान्छौं। यो संसार भनेको अल्पकालीन र छोटो समयका लागि मात्रै हो,'आफ्नो धार्मिक आस्थाबारे सुनाउँदै उनले भने, 'अल्लाहले हिसाब गरेर राम्रो काम र कर्तव्य गर्नु भनेर पृथ्वीमा पठाएको हो,आफ्नो प्रार्थनाका लागि पठाएको हो। हामीले उहाँले दिएको जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने मान्यता हो।'
तीन वटा शुक्रबारसम्म लगातार नमाज नपढ्नुलाई इस्लाम धर्ममा ठूलो भूल मानिन्छ ।
मन्त्री इस्तियाक आफूलाई अध्यात्मवादी भन्न रुचाउँछन्।
संसार नै नास्तिकले नभई आस्तिकले टिकेको उनको विश्वास छ। धर्म जुनसुकै होस्,तर मान्नुपर्ने उनको सुझाव छ।
'नमाज त वैज्ञानिक पनि छ। किनकी पाँच पटकसम्म मुख हात धोएर सफा भयौं भने त्यो विज्ञान र धर्म दुबैका लागि राम्रो हो,' उनले भने,'यो पृथ्वी: हावा, पानी, जल, मानिस सबै अल्लाहले इन्सानका लागि बनाएका हो। जति आधुनिक भए पनि अध्यात्म मान्नुपर्छ भन्ने मेरो मान्यता हो।'
मन्त्री इस्तियाक ०६३\०६४ सालको मधेस आन्दोलनबाट उदाएका नेता हुन्।
२६ वर्षमै उनी पहिलो संविधानसभाको निर्वाचनमा नेपालगञ्जबाट निर्वाचित भएका थिए।
दोस्रो संविधानसभामा उनी पराजित भए। यसपटक पनि उनी नेपालगञ्जबाटै निर्वाचित भएका हुन्।
उनी उपेन्द्र यादव र बाबुराम भट्टराईले नेतृत्व गरेको समाजवादी पार्टीका सचिवसमेत हुन्।
नेपालका नेताहरूको उमेरलाई आधार मान्ने हो भने उनका लागि राजनीति गर्ने समय अझै लामो छ। तर उनी राजनीतिलाई क्षणिक ठान्छन्।
'राजनीति कति दिन, मन्त्री कति दिन, यो सबै क्षणिक हो। म १५/१६ वर्षको उमेरदेखि राजनीतिमा आएँ। २६/२७ वर्षकै उमेरमा सांसद भए,' उनले भने,'म ४० को नजिक पुगेको छु। अब अरु १५ पन्ध्र वर्ष राजनीतिमा रहिएला। त्यसपछिका अवधि त अल्लाह भरोसा नै हुन्छ। तसर्थ हामीले क्षणिक लाभका लागि त्यो अध्यात्मलाई बिर्सिनु हुँदैन।'
जुनसुकै धर्म मान्ने व्यक्तिले आफ्नो धर्म र क्षेत्र मान्नुपर्छ भन्ने उनको मान्यता रहेको छ।
इस्लाम धर्म मान्नेहरूले आफ्नो आम्दानीबाट बचेको रकमको साढे दुई प्रतिशत गरिबलाई दान गर्नुपर्छ।
उनले भने यो पैसा गरिब परिवारका छोरीहरूको बिहेमा खर्च गर्ने गरेका छन्।
हरेक वर्ष उनले यो धार्मिक नियमलाई पालना गर्छन्।
'सबैले गर्लान्/ नगर्लान् तर म र मेरो परिवारले गरेको छ। खास गरेर त्यो रकम गरिब केटीको बिहेमा खर्च गरेका छौं,' उनले भने,'दायाँ हातबाट दिएको बायाँलाई थाहा नहोस् भन्ने परम्परा छ। यति ढुक्क हुनुस् कि मैले अझै तीन प्रतिशत खर्च गर्छु होला तर कम गर्दिनँ। मेरो कमाइको पाँच प्रतिशतसम्म पनि खर्च हुन सक्छ।'
उनी आफ्नो धर्मप्रति पूर्ण प्रतिवद्ध छन्।
जति आफ्नो धर्ममा प्रतिवद्ध छन् त्यति नै अरू धर्मलाई सम्मान पनि गर्छन्।
उनले निर्वाचन जितेको ठाउँ धार्मिक हिसाबले सम्भवत: नेपालकै संवेदनशील ठाँउ हो।
नेपालगञ्जमा विगतमा बेलाबखत हिन्दु-मुस्लिम द्वन्द्व पनि भएको छ। त्यसैले इस्तियाकको चुनावी एजेण्डामा एउटा एजेण्डा धार्मिक सद्भाव कायम राख्ने पनि रहेको थियो।
चुनाव जितेलगत्तै नेपालगञ्जमा धर्म जाति र सम्प्रदायको नाममा राजनीति गर्नेहरू सकिने उनले दाबी गरेका थिए।
'म निर्वाचित भइसकेपछि मधेस चोक भन्ने पहिलाको त्रिभुवन चोकमा भनेको थिएँ,अब धर्मका नाममा रोटी सेक्नेहरूले दोकान बन्द गरे हुन्छ भनेर,'उनले भने,'मैले निर्वाचनको प्रतिवद्धता अनुसार नै हिन्दु, मुस्लिम र अन्य धर्म मान्नेहरूका लागि सहयोग र सद्भाव राखेको छु। मैले मन्दिर, मस्जिद र गुम्बाका लागि समानुपातिक रूपमा सहयोग गरेको छु।'
नेपालगञ्जमा अव्यवस्थित रूपमा थुप्रै गाई गोरु थिए।
उनीहरूको व्यवस्थापनका लागि युवाले कान्जी हाउस स्थापना गरे। सहयोगका लागि उनले हात अगाडि बढाए। मन्त्री इस्तियाकले हाउस स्थापनाका लागि ५० हजार रुपैयाँ व्यक्तिगत सहयोग गरेका थिए।
जिल्ला समन्वय समितिमा पनि उनकै पार्टीको नेतृत्व छ।
समितिबाट ७ करोड रुपैयाँ कान्जी हाउसले पाएको थियो।
उनले कान्जी हाउसलाई सहयोग गर्न प्रमुख जिल्ला अधिकारी र पशु कार्यालयलाई पनि निर्देशन दिएका थिए।
यसका साथै, गौशाला निर्माणका लागि एक करोड विनियोजन गर्ने उनले प्रतिवद्धता जनाएका छन्।
त्यही कान्जी हाउसबाट गत भदौ १३ गते रातारात २ सय ९१ गाई, बाच्छाबाच्छी र गोरु दैलेख लैजाने भनेर बीचबाटोमा निर्मम तरिकाले मारिएको घटनाले उनलाई चिन्तित बनाएको छ।
उनले यो घटनलाई संघीयता, धर्म निरपेक्षता र गणतन्त्रमाथिको षडयन्त्र भनेका छन्।