मदिराले मातेका चालकले चलाएको ट्याक्टर घरभित्र पस्दा एक जना बालकको ज्यान गएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ भगवती टोल निवासी १३ बर्षीय अनिल विकको ट्याक्टर घरभित्रै छिरेपछि ठक्करबाट मृत्यु भएको छ । विक स्थानीय डिभाईन टेम्पल बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्यनरत थिए ।
गम्भीर घाइते विकको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शनिबार बेलुका ८ बजेतिर मृत्यु भएको थियो । बेलका ७ बजेतिर घर भित्रै छिरेर विकलाई रा १ त २६३१ नम्वरको ट्याक्टरले ठक्कर दिएको थियो ।
दिदीभाई आँगनमा सँगै बसिरहेको भएपनि ट्रयाक्टर त्यहाँ आइपुग्नु भन्दा ठिक ३० सकेन्ड अगाडि मात्रै १६ बर्षीया दिदी भान्सामा ग्यास निभाउन गएकाले जोगिन सफल भएकी छन् ।
‘दिदी भित्र पस्ने बित्तिकै तीव्र गतिमा दक्षिण तर्फ गइरहेको ट्याक्टर कल्पनै नगर्ने गरि पश्चिम घर तर्फ छिर्यो अनि १३ बर्षीय अनिल ठाउँको ठाउँ मारिए,’ प्रत्यक्षदर्सी छिमेकीले भने ‘हामीले अहिले सम्म यस्तो डर लाग्दो घटना कहिलै देखेका थिएनौं।’
दुर्घटना लगतै भाग्न खोजेका चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १० बनगाउँ निवासी ५२ बर्षीय कामी चौधरीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
स्थानीयले शनिवार राति अबेरसम्म घटनास्थलबाट ट्याक्टर निकाल्न दिएका छैनन् ।
छोराको मृतको खबर सुने लगतै छिमेकी देश भारतमा काम गर्न गएका अनिलका बाबुले आफु नआउँदासम्म ट्याक्टर घटनास्थलबाट ननिकाल्न आग्रह गरेका छन् ।
प्रहरीसमक्ष पीडित पक्षले घटनाको निष्पक्ष छानविन गर्न र दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् ।