'तपाईंकी छोरीले त आँखा देख्दो रहेनछ है, बिचरी!'जब छिमेकीले आफ्नी आमालाई यसो भनिरहेको नविनाले सुनिन्, उनको जवाफ थियो, 'के कुरा गरेको, कस्तो आँखा नदेख्ने भन्नुभएको? तपाईंहरू कसैले पनि त देख्नुहुन्न नि।'
नविना ज्ञवालीलाई त्यति बेलासम्म देख्ने र नदेख्ने भन्ने नै थाहा थिएन। उनको हुर्काइ नै यस्तरी भयो, संसारमा आँखा देख्ने मान्छे पनि हुन्छन् भन्ने उनले जानेकी थिइनन्। लाग्थ्यो, संसारका सबै मान्छे आफूजस्तै आँखा देख्दैनन्।
नवलपरासीकी नविनाको बाल्यकाल सामान्य तरिकाले बित्यो। घरमा नविना र उनीभन्दा दुई वर्ष सानो भाइबीच कुनै भेद गरिएन। यसले नविनालाई आँखा देख्ने वा नदेख्नेबीचको भेदै थाहा भएन। कहिलेकाहीँ कुनै सामान खोज्न आफूलाई असहज हुने, तर त्यही सामान भाइले सजिलै फेला पार्दा उनी अचम्म मान्थिन्।
'मैले जति खोज्दा पनि फेला पार्न नसकेको सामान दुई वर्ष कान्छो भाइले सजिलै भेट्टाउँदा ऊ कसरी त्यस्तो चलाख भयो होला भन्ने लाग्थ्यो,' उनले भनिन्।
एक दिन होइन, दुई दिन होइन। सधैं यस्तै हुन थालेपछि उनले आमालाई सोधिन्। आमा त प्रश्न सुनेर बर्बर्ती आँसु झार्दै रून थालिछन्।
नविनाले आमाका आँखाबाट खसेका आँसु देखेनन्, तर कानले सुँक्कसुँक्क सुने। रूद्रघन्टीमा अड्केको आवाज उनको मनसम्म पुग्यो। यति हुँदा पनि आमाबाट जवाफ भने पाइनन्। छोरीको सत्य कहनुभन्दा आँसुमै बगाइदिनु उनले निको मानिन्।
यही कुरा उनी भाइसँग पनि सोध्न चाहन्थिन्, तर कहिल्यै सोधिनन्।
विस्तारै नविना हुर्किंदै गइन्, घरमा उनलाई स्कुल पठाउने कुरा चल्यो। उनकी ठूलीआमा प्रतिमा ज्ञवाली जनकपुर बस्थिन्। एकदिन नवलपरासी आएका बेला उनले नविनाकी आमासँग भनिन्, 'दृष्टिविहीनहरूको छुट्टै स्कुल हुन्छ, हाम्री नविनालाई त्यहीँ लगेर पढाउनुपर्छ।'
यही सुझावअनुसार उनलाई काठमाडौंको आदर्श स्कुल भर्ना गरियो। नविना पहिलोपल्ट आमा, दिदी र भाइबाट टाढा भइन्।
यो २०५६ सालको कुरा हो। नविना ८ वर्षकी थिइन्। घरमा एक-एक इन्चको नक्सा उनको मनमा बसेको थियो। स्कुलका कोठाचोटा र चउरमैदान भने उनका लागि नौला थिए। उनले कतै मेलोमेसो नै पाउन सकिनन्। यता पनि ठोक्किन्थिन्, उता पनि। हिँडडुल गर्दा स्कुलका साथीहरूसँगै ठोक्किन थालिन्। साथीहरूले सोधे, 'तिमी पनि आँखा नदेख्ने हौ?'
त्यसपछि बल्ल उनले थाहा पाइन्, संसारमा आँखा देख्ने मान्छे पनि हुँदा रहेछन्। 'म आँखा देख्दिनँ र नचिनेको ठाउँमा एक्लै हिँड्न सक्दिनँ रहेछु भनेर पहिलोचोटि थाहा पाएको स्कुल गएपछि हो,' नविनाले भनिन्।
आफ्नो जिन्दगीको सबभन्दा ठूलो रहस्योद्घाटन भएको त्यो दिन नविनालाई धेरै रुन मन लाग्यो।
'समाजले मलाई किन बिचरा ... बिचरा भन्दै माया देखाउँदो रहेछ भन्ने पनि थाहा भयो। खासमा त्यो माया होइन, सहानुभूति रहेछ,' २८ वर्षीया नविनाले भनिन्, 'म यो घटनालाई जिन्दगीकै 'टर्निङ-प्वाइन्ट' मान्छु, मेरो वृद्धि र विकास सुरू भएको त्यसपछि नै हो।'
केही समय काठमाडौं बसेर नविना आफ्नै घर फर्किइन्। कपिलवस्तु र परासीमा गरी उनले ६ कक्षासम्म पढिन्। त्यसपछि भारतको नयाँदिल्ली गइन् र त्यहीँबाट एसएलसी पास गरिन्। त्यो स्कुलमा आँखा नदेख्ने छात्राहरूलाई मात्र पढाइ हुन्थ्यो। त्यही भएर उनलाई त्यहाँ बस्न मन लागेन।
उनलाई देख्ने र नदेख्नेबीचको दुरी कम गर्नु थियो। दृष्टिविहीनहरूकै बीचमा बसेर यो दुरी कम गर्न सम्भव छैन भन्ने निष्कर्ष निकाल्दै उनी नेपाल फर्किइन्।
'भारत बस्दा मेरो छुट्टै संसार भएजस्तो लग्यो। म त अरू सरह बाँच्न र घुलमिल हुन चाहन्थेँ,' उनले आफ्नो विगत सम्झिइन्, 'मैले त्यति बेला दिल्ली छाडेर नेपाल फर्किने निर्णय लिएँ। घरमा कसैले हुन्छ भनेका थिए, कसैले हुन्न। म भने आफ्नो निर्णयमा अडिग रहेँ।'
दिल्लीबाट फर्केर नविनाले बुटवलमा पढाइ सुरू गरिन्।
आँखा नदेख्नेहरूका बीचबाट देख्नेहरूमाझ आएपछि उनी रमाउन थालिन्। साथीहरूले उनलाई साथ दिए। नविनाले सानो काम गर्दा पनि 'वाह ... क्या खत्रा' भन्दै समर्थन गर्थे। सुरुमा त उनलाई आफू खत्रै हो कि जस्तो पनि लाग्यो। विस्तारै उनले महशुस गरिन्, 'एउटा कोठाबाट अर्को कोठामा जाँदैमा, अलिअलि बहस गर्दैमा के को खत्रा?'
हुन त साथीहरूले नविनालाई हौस्याउन प्रशंसाको पुल बाँधिदिएका थिए होलान्, तर अतिरञ्जित प्रशंसा कहिलेकाहीँ पुल होइन पाउको जञ्जीर बन्न सक्छ भन्ने उनलाई लाग्यो। त्यस्ता प्रशंसाबाट पुलकित भएँ भने आफू यही घेरामा सीमित हुन्छु भन्ने भयले पनि उनलाई खायो।
'कसैलाई सानो कुरामा प्रशंसा गर्दा कहिलेकाहीँ उसको ठूलो गन्तव्य टाढिन सक्छ। म आँखा नदेखे पनि सर्सर्ती हिँड्न सक्छु, मान्छेलाई यही कुरा खत्रा लाग्न थाल्यो भने म यसैमा अलमलिन के बेर? मलाई कम्प्युटरमा काम गर्नुछ, अझै धेरै अगाडि बढ्नुछ, अरू सबै त्यस्ता काम गर्नुछ जुन आँखा देख्नेहरू गर्न सक्छन्,' नविनाले भनिन्, 'म हिँड्न सकेकैमा अर्काको प्रशंसा सुनेर फुरूंग परेर बसेँ भने अरू ठूलो काम किन गरिरहनुपर्यो!'
मनमा यस्तो कुरा आएपछि उनले आफ्नो प्रशंसा गर्नेहरूलाई हाकाहाकी भन्न थालिन्, 'मलाई धेरै प्रोत्साहन नगर्नुस्, नचाहिँदो कुरामा प्रशंसा पनि नगर्नुस्, म तपाईंजस्तै हो।'
उनको ठाडो जवाफ कतिले रूचाए, कति रिसाए। कतिपयले चाहिँ 'हामीजस्तै भनेर हुँदैन नि' भनेर घोचपोच पनि गरे।
नविनालाई भने यो घोचपेचले घाइते बनाएन, बरू 'आँखा देख्ने र नदेख्नेबीचको दुरी कम गराउने' अठोट अझ घनीभूत भयो।
'संसार त एकै छ, मान्छे पनि एकै हुन्, कसैले देख्ने, कसैले नदेख्ने कसरी हुन्छ?' उनले भनिन्, 'जसले आँखा देख्दैन, उसँग पनि यो संसार हेर्ने केही न केही शक्ति अवश्य हुन्छ।'
बुटवलबाट प्रमाणपत्र तह पास गरेपछि उनी काठमाडौं आइन्। पद्मकन्या क्याम्पसबाट स्नातक गरिन्। लगत्तै शिक्षा सेवा आयोगबाट प्राथमिक शिक्षकमा नाम निकालिन्।
त्यही बेला उनले अमेरिकाको 'फुलब्राइट' छात्रवृत्तिबारे सुनिन्। उनीसँग समुदायमा काम गरेको अनुभव थियो। त्यसै आधारमा छात्रवृत्तिमा छानिनसक्छु भनेर उनले आवेदन गर्ने निर्णय लिइन्। उनको अंग्रेजी त्यति राम्रो थिएन। विश्व श्रेष्ठ भन्ने शिक्षकसँग उनले सहयोग मागिन्।
विश्वकै सुझावअनुसार उनले आफूलाई जस्तो अंग्रेजी आउँछ, त्यस्तै भाषामा निवेदन लेखिन्। उनले लेखेको निवेदनलाई विश्वले सामान्य सुधार गरेर पठाइदिए। उनलाई अन्तर्वार्ता निम्ति डाकियो। र, अन्तत: छात्रवृत्तिमा छानिइन्।
छनौट क्रममा अन्तर्वार्ता लिनेले भनेका थिए, 'यु आर सेलेक्टेड नट बिकज अफ योर इंग्लिस, बट बिकज अफ योर कन्फिडेन्स।' (तपाईं छानिनुको कारण तपाईंको अंग्रेजी होइन, तपाईंको आत्मविश्वास हो।)
अब नविनासँग दुइटा विकल्प थिए - नौ महिनाका लागि अमेरिका जाने वा महिनाको २२ हजार तलबमा सरकारी जागिर खाने।
धेरैले नविनालाई सरकारी जागिर खान सुझाए। परिवारकाले भने 'आफ्नो इच्छा गर' भने।
नविनाले अमेरिकाको बाटो रोजिन्।
अमेरिकामा उनलाई सबैले राजकुमारीजस्तो व्यवहार गरे। त्यसको कारण उनी दृष्टिविहीन भएर होइन। दृष्टिविहीन हुँदाहुँदै यति ठूलो छात्रवृत्ति जित्नु र अमेरिका आएर पढ्ने हिम्मत गर्नु थियो।
अमेरिका बसाइ तुलनात्मक सहज रह्यो। त्यहाँका सडक र भवन सबै दृष्टिविहीनमैत्री थिए। यहाँजस्तो जता जाँदा पनि ठोक्किँदै हिँड्नुपर्ने अवस्था थिएन। दृष्टिविहीनलाई हेर्ने आमदृष्टि पनि फरक रहेको उनले पाइन्।
उनका अनुसार यहाँ सहानुभूति देखाउने चलन छ, उता भने कामका आधारमा सम्मान गरिन्छ। यहाँ पाइला-पाइलामा 'बिचरी, आँखा देख्दिन रहिछ' भनेको सुन्नुपर्छ, त्यहाँ भने सबैले हौसला बढाउने गरेको उनको अनुभव छ।
'हामीकहाँ भौतिक पूर्वाधारहरू नै दृष्टिविहीनका लागि सजिला छैनन्। न बाटोमा हिँड्न सजिलो, न स्कुल-कलेजमा छिर्न। राज्यले नै हामीलाई पाइला-पाइलामा असहाय अनुभूति गराउँछ,' उनले भनिन्, 'अमेरिकामा त गाडी हिँड्ने र मान्छे हिँड्ने अलग्गै बाटो। हामी आँखा नदेख्नेहरूका लागि हरेक ठाउँमा छुट्टै बाटो।'
उनका अनुसार नेपालमा दृष्टिविहीनलाई पढ्न धेरै अप्ठ्यारो छ। भनेजस्तो किताब पाइँदैन, ब्रेललिपिमा परीक्षा दिन पाइँदैन। नविनाले नेपालमा सबै परीक्षा सहयोगीमार्फत् दिइन्। अमेरिकामा भने ल्यापटपबाट आफ्नो परीक्षा आफैं दिइन्।
'यहाँ त नतिजा राम्रो आयो भने अरूले लेख्दिएर पास भयो भन्छन्, लेख्नेलाई पनि मैले लेख्दिएको हो नि उसको परीक्षा भन्ने हुन्छ,' नविनाले दृष्टिविहीनहरूको साझा समस्या सुनाइन्, 'नराम्रो लेख्यो भने केही आउँदो रहेनछ भन्ने हुन्छ। आफूले चाहेजस्तो गर्नै सकिन्न।'
अमेरिका बसाइ क्रममा उनले धेरै साथी बनाइन्। तीमध्ये बिर्सनै नसक्ने एक जना छन्, जसलाई उनी 'अमेरिकन ममा' भन्छिन्।
'अमेरिकन ममाले मलाई धेरै माया गर्नुभयो, अहिले पनि हाम्रो मित्रता कायमै छ। उहाँ मलाई इन्डियन खाना खुवाउन लैजानु हुन्थ्यो। आफ्नो घरपरिवारबाट टाढा हुँदा पनि मलाई पारिवारिक माहोल दिनुभयो,' उनले भनिन्, 'मैले अमेरिकी साथीहरूकहाँ जाँदा उनीहरूलाई नेपाली खाना पनि पकाएर खुवाएँ।'
उनले अमेरिकाको इन्डियाना राज्यस्थित साउदर्न इन्डियाना विश्वविद्यालयमा अमेरिकाको इतिहास, अन्तर्राष्ट्रिय सम्बन्ध र भाषा अध्ययन गरिन्। स्थानीय रेडियोमा छ महिना 'इन्टर्नसिप' गरिन्। विभिन्न देशका प्राध्यापक तथा स्थानीयसँग रेडियोमा बहस पनि चलाइन्।
अमेरिकामा रहँदा कतिले त नविनालाई उतै लुकेर बस्नू भनेका थिए, कतिले अलि समय उतै बसेर पछि आऊ भनेर सुझाएका थिए। नविनाले भने कसैको कुरा सुनिनन्। उनलाई नेपालै आएर परिवर्तन ल्याउनु थियो। उनी यहाँ आएर दृष्टिविहीनलाई हेर्ने सोचाइ उदार बनाउने अभियान सुरू गर्न चाहन्थिन्।
अमेरिकाबाट आएपछि केही समय उनी विरक्तिइन् - सबैले 'अमेरिकाबाट आएको' भन्दै वाह ... वाह गर्ने, तर जागिर दिन वास्ता नगर्ने। यही प्रवृत्तिले केही समय उनी एक्लिएजस्तै भइन्।
यसबीच उनले रत्नराज्यलक्ष्मी क्याम्पसबाट स्नातकोत्तर गरिन्। त्यही बेला रोटरी क्लब जावलाखेलका अध्यक्ष डा. वीरेन्द्रराज पोखरेलसँग उनको भेट भयो। पोखरेलले उनलाई भारत, केरलाको कान्थारी इन्स्टिच्यूटमा गएर अध्ययन गर्न सुझाए। २०७५ वैशाखदेखि मंसिरसम्म उनले केरलामा गएर उद्यमशीलता तालिम लिइन्। त्यही सिकाइका आधारमा दृष्टिविहीनहरूलाई आत्मनिर्भर बनाउन तालिम दिने उनको योजना छ।
देख्ने र नदेख्नेबीचको दुरी कम गर्ने अभियानअन्तर्गत उनले 'सपोर्टिभ याक्सन टू अस ह्युम्यानिटी' अर्थात 'साथ' नामक संस्था स्थापना गरेकी छन्। यही संस्थाबाट सुरूमा दृष्टिविहीनका लागि खाना पकाउने लगायत अन्य घरेलु तालिम दिने उनको योजना छ। कुनै दिन पूर्ण रूपमा दृष्टिविहीनहरूले चलाएको रेस्टुरेन्टमा खाने पनि उनको धोको छ।
'हामी सर्सर्ती हिँड्दा त मान्छेहरू अचम्म पर्छन् भने हामीले सबै काम आफैं गर्न थाले के हुने हो? हामी पनि आँखा देख्नेहरूले जस्तै सबै काम गर्न सक्षम छौं भनेर प्रमाणित गर्नुछ,' उनले भनिन्, 'त्यही भएर मैले संस्थाको नाम 'साथ' राखेको।'
उनी आफूमा यति धेरै आत्मबल आउनुको श्रेय अमेरिकाको अध्ययनलाई दिन्छिन्। 'आँखा देख्दैन भन्दैमा केही गर्न सक्दैन भन्ठान्ने प्रवृत्ति अमेरिकामा पाइन्न। जब तपाईं केही गर्न सक्नुहुन्छ भन्ने अरूले विश्वास गर्छन्, तपाईंको आत्मबल दुगुना हुन्छ,' उनले भनिन्।
सुरुमा नविनालाई अंग्रेजीमा निवेदन लेख्नधरि आउँदैन थियो, अचेल नेपालीभन्दा अंग्रेजी सजिलो लाग्छ। अंग्रेजीमा लेख्न र बोल्न सहज भएकै कारण उनले विदेशी संघ-संस्थालाई आफ्ना योजनाहरू सजिलै बुझाउन पाएकी छन्।
नविनाले आँखा देख्न नसक्नाले दैनिक व्यवहारमा भोग्नुपरेका केही समस्या पनि सुनाइन्।
एकदिन कुनै अपरिचितले उनलाई बाटो काट्न सहयोग गर्यो। हिँड्दा हिँड्दै नविनाले कीर्तिपुरको गाडी आएको थाहा पाइन्। त्यो मान्छेलाई 'मलाई यहीँ छोड्दिनू' भनिन्। त्यो मान्छेले झोंक्किएर नविनाको हात बेस्सरी झट्कार्दै बीच सडकमै अलपत्र छाडेर हिँडेछ।
'देख्ने मान्छेको सहयोग पाएपछि मैले लठ्ठी फोल्ड गरेकी थिएँ,' उनले भनिन्, 'एकछिन त के गरूँ, कसो गरूँ भयो। म जानुपर्ने गाडी गइसकेको थियो। अब उसले लगेको बाटो फर्किएँ। त्यो मान्छे मलाई नै हेरेर बसेको रहेछ। म ठम्मठम्ती फर्किएको देखेर 'आँखा नदेख्ने मान्छेलाई यस्तो सबै कुरा थाहा हुन्छ, झूटो बोल्ने हो' भनेर हप्काएर गयो।'
यस्तो घटनाले उनलाई कमजोर बनाएको छैन, बरू उनी झन् बलियी भएकी छन्। उनको आत्मबल अझै बढेको छ।
'गाडीमा छुन खोज्ने त कति भयो कति, तर म शंका लाग्नासाथ प्रतिकार गरिहाल्छु,' उनले सार्वजनिक सवारीमा भएको दुर्व्यवहार सम्झिइन्, 'एक जनाले यताउता छुन खोज्यो, मैले जोडसँग धक्का दिएँ, त्यो मान्छे सिटबाटै तल खसेछ।'
सिटबाट खसेपछि त्यो मान्छेले भन्यो, 'मलाई के गर्नुभएको यस्तो?'
नविनाले जवाफ दिइन्, 'अहिलेसम्म हजुरले यतिबेर के गर्नुभएको थियो?'
यस्तो जवाफ सुनेर त्यो मान्छेलाई सरम भएछ क्यारे, तुरून्तै गाडीबाट झरेको नविनाले बताइन्।
'गाइड गर्ने बहानामा हातमा होइन, कुइनाभन्दा माथि समाउन खोज्ने त कति कति! कति त अंगालो मारेरै हिँड्न खोज्छन्, म भने कसैसँग डराउँदिनँ, प्रतिकार गरिहाल्छु।'
यस्तै प्रतिकार उनले पल-पलमा गर्नुछ। दुर्व्यवहारविरूद्ध मात्र होइन, आँखा नदेख्नेहरूले केही गर्न सक्दैन भन्ठान्ने र आँखा नदेख्नेले संसार देख्न सक्दैन भनी सोच्ने प्रवृत्तिको पनि उनले यसैगरी प्रतिकार गर्नुछ।
नविनालाई यस्तो संसार निर्माण गर्न मन छ, जहाँ सबै आँखा नदेख्नेहरूले सोचून्- संसारमा देख्ने र नदेख्ने छुट्टाछुट्टै मान्छे पनि हुन्छ्न् र?